काठमाडौं। संसदीय दलमा विश्वासको मत गुमाएको ४ दिन हुँदा पनि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राजीनामा दिएका छैनन्।
साउन १३ गते कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेताको हैसियत गुमाएपछि आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिन निर्देशन दिए पनि बहादुरसिंहले अटेर गरेका छन्।
देउवाले बहादुरसिंहलाई बिहीबार आफ्नो निवास बुढानीलकण्ठमा डाकेर पद छाड्न निर्देशन दिएका थिए। ‘उहाँलाई हिजै राजीनामा दिनु भनेर निर्देशन आइसकेको हो। किन रोकिनुभयो थाहा छैन,’ बहादुरसिंह निकट प्रदेश सांसदले भने।
कांग्रेसमा केन्द्रको गुटको रोग प्रदेशदेखि वडासम्मै सल्किएको छ। गुटकै संरक्षणका कारण नेताहरुले सभापतिकै निर्देशन मान्न छाडेको ती सांसदले बताए।
‘संस्थापनइतरका नेता शेखर कोइरालाको आड पाएर बहादुरसिंहले मुख्यमन्त्रीबाट राजीनामा नदिनु भएको हो,’ ती सांसदले भने। संस्थापन पक्षका बहादुरसिंहलाई डा शेखर कोइराला र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पद नछाड्न दबाब दिइरहेका छन्।
कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले पनि शुक्रबार बिहान बहादुरसिंहलाई मुख्यमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए। बानियाँ र बहादुरसिंह दुवै काठमाडौंमै छन्।
आफ्ना पक्षका नेतालाई सेटलमेन्ट नगरी बहादुरसिंह राजीनामा दिने पक्षमा नरहेको उनको सचिवालयले बताएको छ। ‘केही दिन लाग्ला। आफ्ना पक्षका नेता सेटलमेन्ट त गर्नुपर्यो नि,’ बहादुरसिंहको सचिवालयका एक सदस्यले भने।
बहादुरसिंहको पक्षमा खुलेका कांग्रेसका काभ्रे सभापतिसमेत रहेका प्रदेश सांसद तीर्थ लामाले भने मुख्यमन्त्रीले शनिबारसम्म राजीनामा दिने बताए।
‘पार्टी सभापतिले हिजै राजीनामा दिन भन्नुभएको छ। कांग्रेसमा लोकतान्त्रिक पद्धति छ। अविश्वासको प्रस्तावदेखि निर्वाचन भइसकेपछि उहाँले राजीनामा दिनुहुन्छ। सायद भोलि राजीनामा दिनुहुन्छ,’ लामाले भने।
राजीनामा रोकिनु कारण गुटको साङ्लो
केन्द्रमा संस्थापनइतर भनेर डा शेखर कोइरालाको समूह चिनिन्छ। संस्थापनमा प्रकाशमान सिंह, विमलेन्द्र निधिदेखि कृष्णप्रसाद सिटौला समूहसम्म अट्दा शेखर समूहबाट अहिले महामन्त्री गगन थापाले बेग्लै गुट बनाउने प्रयास गरिरहेका छन्।
केन्द्रको यो रोग बागमतीमा नसर्ने कुरै भएन। अहिले कांग्रेसको बागमती प्रदेश संसदीय दल गुटैगुटको क्लबजस्तै देखिएको छ। बागमतीमा देउवा, प्रकाशमान, सिटौला, प्रकाशशरण महत, गगन, शेखर, बानियाँ, महालक्ष्मीदेखि मोहन बस्नेतसम्मका ९ वटा गुट देखिएको छ।
अधिकांश प्रदेश सांसद देउवा पक्षमा खुलेका छन्। उर्मिला नेपाल, सुना परियार, श्यामबहादुर खड्का र माया श्रेष्ठ महत निकट हुन्। कृष्णबहादुर तामाङ र मसिना खड्का मोहन बस्नेत निकट मानिन्छन्। अढाइ वर्षअघिको संसदीय दलको निर्वाचनमा बस्नेतको निर्देशनमा तामाङ र खड्काले बहादुरसिंहलाई सघाएकामा तामाङ यसपटक बानियाँको पक्षमा खुलेका छन्।
आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले सिटौला गुटका सांसद हुन्। बजेट मनपरी विनियोजन गरेको भन्दै काफ्लेसँग उनी निकट नेताहरु नै रुष्ट छन्।
बजेट विवादलाई नै बानियाँले बहादुरसिंविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्ने मुख्य हतियार बनाएका हुन्।
प्रकाशमानको पक्षमा यसअघि ८ जना प्रदेश सांसद रहेकामा उनीहरु अहिले दुईतिर बाँडिएका छन्। कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठलगायत नेताहरु बानियाँतिर उभिँदा हरिप्रभा खड्गी, रामकृष्ण चित्रकार बहादुरसिंहको पक्षमा उभिएका छन्।
लक्ष्मीदेवी श्रेष्ठ र समिता खड्गी सहमहामन्त्री महालक्ष्मीले भने अनुसार बहादुरसिंहको पक्षमा खुलेका छन्।
प्रदेश सांसद प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, सुरचचन्द्र लामिछाने, श्रीराम लामिछानेलगायत महामन्त्री गगनको पक्षमा खुलेका छन्।
यसअघि प्रदेश सांसद उत्तम जोशी, रमेशकुमार महत, रामकुमार पहाडी र गीता गुरुङ मात्र शेखरको पक्षमा रहेकामा यसपटक त्यो संख्या बढेको छ। बागमती प्रदेश सभामा कांग्रेससँग ३७ सांसद रहेकामा आफ्नो पक्षमा १३ जना पुग्ने दाबी शेखर पक्षको छ।
२०७९ पुस १३ गते बानियाँलाई हराउँदै बहादुरसिंह संसदीय दलको नेता निर्वाचित भएका थिए। लामाले २१ मत ल्याउँदा बानियाँले १६ मतमा चित्त बुझाएका थिए। दुवैजना संस्थापन पक्षका नेता भए पनि बहादुरसिंहलाई शेखर पक्षले समेत सघाएको थियो। यसपालि बानियाँले बहादुरसिंहसँग अढाइ वर्षअघिको हारको बदला लिएका छन्। यसक्रममा बानियाँले १४ मत ल्याएका थिए।