काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेलप्रति खनिएका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सन् २००० ब्याचका एमबीबीएस विद्यार्थीले धरानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले ओली र पौडेलले अनावश्यक हस्तक्षेप गरेर स्वास्थ्य संस्थालाई कमजोर पारेको आरोप लगाए।
‘प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएका छन्,’ उनले भने, ‘स्वास्थ्य संस्थामा हस्तक्षेप अति भो।’
हस्तक्षेपकै कारण स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको कोइरालाले बताए। उनले खासगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्ति हुन नसकिरहेको अवस्थामा हहस्तक्षैप धेरै भयो भनेका हुन्।
प्रतिष्ठान तीन महिनादेखि उपकुलपतिविहीन छ। कांग्रेस र एमालेबीच भागबण्डा नमिल्दा प्रतिष्ठानमा उपकुलपतिको नियुक्ति हुन नसकेको हो।
उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति समेत हुन्। कोइरालाले स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले काम गर्न दिन सरकारलाई आग्रह गरे।