काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ सरकारले चाँडै टुङ्ग्याउने बताएका छन्।
उनले बिहीबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निजगढ विमानस्थल निर्माणको मोडालिटी टुंगो लगाउन मन्त्रालयले काम गरिरहेको बताए। प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो। तर, अहिलेसम्म नै अन्योल छ। यसपटक बजेट भाषणमा विमानस्थल निर्माण र सञ्चालनको मोडोलिटी टुङ्ग्याउने भनेका छौं। यो काम हामी तदारुकताका साथ अघि बढाउँछौं,’ उनले भने।
निगगढ विमानस्थललाई सरकारले एक दशकअघि राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेकामा अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन। कुन विधिबाट बनाउने र लगानी कसरी जुटाउने भन्नेमै सरकार अनिर्णित छ।
पूर्वपर्यटनसचिव शंकरप्रसाद अधिकारी नेतृत्वको समितिले बुट मोडलमा विमानस्थल बनाउन २०८१ वैशाख ९ गते बुझाएको प्रतिवेदन मन्त्रालयले दराजमा थन्क्याएको छ।

मन्त्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यात्रु अभावका कारण पूर्ण क्षमतामा चलाउन नसकेको बताए।
‘ती दुई विमानस्थल हवाई रुटभन्दा पनि यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको हो। कतिपय हवाई सेवा प्रदायक कम्पनीले यात्रु संख्या नहुँदा करोडौं घाटा भयो भनेका छन्। त्यसैले यात्रु संख्या बढाउन आवश्यक सुविधा सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भने।