काठमाडौं। जोशी हाइड्रोपावरले लगानीकर्ताका लागि हकप्रद सेयर जारी गरेको छ। कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर बिहीबार जारी गरेको हो।
कम्पनीको चुक्ता पुँजी अहिले ३७ करोड १४ लाख रुपैयाँ छ। चुक्ता पुँजीको ६५ प्रतिशतले हुन आउने २४ करोड १० लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गरेको हो।
सेयरधनीले १०० रुपैयाँमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार ८ गते बुकक्लोज गरेको थियो। बुक क्लोजअघि कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएपी सिंगल बी इस्यूअर रेटिङ दिएको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
गत आर्थिक वर्ष चैतसम्म हाइड्रोपावर १९ करोड १० लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ। प्रति सेयर आम्दानी ४.८० रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रति सेयर नेटवर्थ ४८.५७ रुपैयाँ छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।
हकप्रद सेयरबाट संकलित रकम कम्पनीले सञ्चालन गरिरहेको ३ मेगावाटको माथिल्लो पुवा-१ जलविद्युत आयोजना निर्माणका लागि लिएको ऋण तिर्ने जनाएको छ।
हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशीको ३.८८ प्रतिशत सेयर स्वामित्व छ। सञ्चालक कृष्ण अधिकारी ०.०२६ प्रतिशत सेयर छ। यस्तै, राधा महर्जन, सबिना बस्नेत, निर्मला दाहाल र दीपक प्रसाद कुशवाहा सञ्चालक छन्। सञ्चालकमध्ये महर्जनको सेयर छैन भने अरुको न्यून छ।