काठमाडौं । नेपाल सरकारले टेलिग्राममाथि लगाएको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उल्लंघन भएको भन्दै विभिन्न सरोकारवाला संघसंस्थाहरुले आपत्ति जनाएका छन्।
डिजिटल राइट्स नेपाल, डिजिटल राइट्स एक्सन ग्रुप, फ्रिडम फोरम, सीएमआर नेपाल लगायत २८ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति निकाल्दै टेलिग्राम एपमा पहुँच रोक्न दिएको निर्देशनप्रति चिन्ता व्यक्त गरेको हो। अनलाइन ठगी तथा मनी लाउन्डरिङ नियन्त्रण गर्ने उद्देश्य देखाउँदै सुरक्षा निकायहरूको मागमा आधारित भएर टेलिग्राम बन्द गरिएको भन्दै यो निर्णयलाई उनीहरुले एकपक्षीय, अपारदर्शी र पर्याप्त आधार वा प्रमाणबिना गरिएको भनेका छन्।
२८ संघसंस्थाले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता गर्न माग गर्दै कुनै पनि डिजिटल प्लेटफर्मको नियमनका क्रममा संविधानका मौलिक हक र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको पूर्ण पालना हुनुपर्ने बताएको छ।
यस्तै, डिजिटल प्लेटफर्म नियमन तथा डिजिटल अधिकारसम्बन्धी वैध चासोहरूलाई सम्बोधन गर्न सबै सरोकारवाला (सरकार, नागरिक समाज, प्राविधिक विज्ञ, र प्लेटफर्म प्रतिनिधि) बीच पारदर्शी, समावेशी र उत्तरदायी संवादको प्रक्रिया सुरु गर्न पनि माग गरिएको छ।