काठमाडौं। अर्थ मन्त्रालयको नेतृत्व एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्हालिरहँदा दुई सहसचिवलाई एकपछि अर्को ‘लटरी’ परेको छ।
पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि ती दुई सहसचिवलाई अवसरै अवसर प्राप्त भएको हो। अर्थ मन्त्रालयका दुई भाग्यमानी सहसचिव महेश बराल र सेवन्तक पोखरेल हुन्, जसलाई पौडेलले एकपछि अर्को अवसरको खात लगाइदिएका छन्।
बराल र पोखरेलले एकपछि अर्को अवसर पाइरहेको देख्दा मन्त्रालयका अरु सहसचिव चकित छन्। ‘अर्थमन्त्रीज्यूले कुनै राम्रो निकाय खाली हुनेवित्तिकै उहाँहरुलाई पठाइ हाल्नुहुन्छ। उहाँले राजनीतिक हिसाबकिताब हेरेर पठाएकोजस्तो लाग्दैन,’ एक सहसचिवले बिजमाण्डूसँग भने, ‘उहाँको पनि बाध्यता र परिबन्ध होलान् भन्ने हामीलाई लागेको छ।’
अर्थमन्त्रीले मंगलबार मात्र सहसचिव महेश बराललाई नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक मनोनयन गरेर पठाएका छन्। उनले केही दिनअघि अर्का सहसचिव सेबन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष बनाएका थिए।
यी दुवै सहसचिव मन्त्रालयमा अलग अलग महाशाखा प्रमुखको जिम्मेवारीका साथै अन्य निकायको पनि संचालक समितिमा छन्। यी दुई जनालाई मात्र छानीछानी ‘रणनीतिक निकाय’ मा पठाउनुको कारण व्यावसायिक स्वार्थ भएका व्यवसायीको हात रहेको अनुमान गरिएको छ।
बराल अर्थ मन्त्रालयमा वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख छन्। उनको खास जिम्मेवारी त्यहीँ हो। तर, मन्त्री पौडेलले मंगलबार बराललाई पुनर्बीमा कम्पनीको सञ्चालक बनाए। उनले मन्त्रालयमा हेरिरहेको महाशाखा र नेपाल पुनर्बीमा कम्पनीबीच गोरु बेचेको साइनो पनि छैन।

यसबाहेक बराल नेपाल आयल निगममा पनि सञ्चालक छन्। साथै राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समिति अध्यक्ष पनि बराल नै हुन्।
बीमा प्राधिकरणले नियमन गर्ने बीमा कम्पनी र पुनर्बीमा कम्पनी दुबैमा बराल हुँदा ‘स्वार्थको द्वन्द्व’ हुन्छ भन्ने सामान्य ज्ञानसमेत नराखी अर्थमन्त्री पौडेलले उनलाई अवसर दिएका छन्।
सेवन्तकको हकमा पनि त्यही हो, उनको प्राथमिक काम भनेको अर्थ मन्त्रालयभित्रको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा हेर्नु हो।
उनी नेपाल राष्ट्र बैंकको पदपूर्ति समितिका सदस्य छन्। पोखरेल निजी क्षेत्रका प्रतिनिधि समेत रहने राष्ट्र बैंकको गुनासो सुनुवाइ समितिमा पनि सदस्य छन्।

अर्थमन्त्रीले बीमा प्राधिकरणको अध्यक्ष बनाएको पोखरेल कृषि विकास बैंकमा पनि सञ्चालक छन्।
यी दुवै सहसचिवलाई एक व्यवसायीको रोजाइमा अर्थमन्त्री पौडेलले एकपछि अर्को संस्थामा मनोनित गरेर पठाएको स्रोतको दाबी छ।
स्वार्थ प्रेरित हुँदा ख्याल गरिएन मर्यादा
बराल हुन् वा पोखरेल, दुवैलाई अर्थमन्त्री पौडेलले नियामक निकायको जिम्मेवारी सँगै त्यसअन्तर्गतका कम्पनीमा समेत पठाएका छन्।
जस्तो बराल नेपाल धितोपत्र बोर्डको सञ्चालक छन्। सेबोनको नियमनमा रहने नेपाल रिइन्स्योरेन्समा बराललाई सञ्चालक बनाइएको छ। पोखरेल बीमा प्राधिकरणको अध्यक्षका साथै राष्ट्र बैंकमा दुईवटा समितिमा छन्। राष्ट्र बैंकले नियमन गर्ने कृषि विकास बैंकमा पनि पोखरेललाई पौडेलले जिम्मेवारी दिएका छन्।
‘नियामक निकायमा भएको व्यक्ति त्यसअन्तर्गतको संस्थामा जानु नै गलत हो। त्यसमाथि एउटै व्यक्तिलाई चारतिरको जिम्मेवारी दिँदा त्यसले काम चाहिं कतिखेर गर्न पाउँछ?’ एक पूर्वअर्थमन्त्रीले बिजमाण्डूसँग भने।