BIZMANDU
www.bizmandu.com

निर्माण कम्पनीले भन्यो : रसुवा सुक्खा बन्दरगाह अहिलेको ठाउँमै बनाउन उपयुक्त छैन

२०८२ साउन १२

निर्माण कम्पनीले भन्यो : रसुवा सुक्खा बन्दरगाह अहिलेको ठाउँमै बनाउन उपयुक्त छैन
निर्माण कम्पनीले भन्यो : रसुवा सुक्खा बन्दरगाह अहिलेको ठाउँमै बनाउन उपयुक्त छैन

काठमाडौं । रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनीले हालको स्थानमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको जनाएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिसँग भएको छलफलका क्रममा कम्पनीले बाढीले बारम्बार क्षति पुगिरहेको भन्दै निर्माणस्थल खतरापूर्ण रहेको बताएको हो।

Tata
GBIME
Nepal Life

छलफलका क्रममा निर्माण कम्पनी तिब्बत फुली कन्सट्रक्सका प्रोजेक्ट मेनेजर याङ लीले उक्त स्थानमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य ठाउँ छनौट गर्नुपर्ने सुझाव दिएका हुन्।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने नेपाल सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयबाट सो विषयमा थप छलफल गरि अघि बढ्ने बताए।

केही साता अघि आएको बाढीले रसुवा र चीन जोड्ने मितेरी पुल बगाएको थियो भने सुक्खा बन्दरगाह निर्माण क्षेत्रमा क्षति पुर्‍याएको थियो।

टिमुरेमा निर्माणाधिन सुक्खा बन्दरगाह निर्माणस्थलमा २०८१ असोज महिनामा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको थियो। पछि फेरि निर्माण सुरु भएर ८१ प्रतिशत निर्माण कार्य पूरा भइसक्दा २०८२ असार २४ मा आएको बाढीले विगतमा निर्माण भएका संरचनाहरु करिब ५५ प्रतिशत क्षति पुगेको थियो।

आज यही विषयमा तिब्बत फुली  र नेपाल इन्टरमोडल यातायात विकास समितिका पदाधिकारीबीच छलफल भएको हो। त्यसक्रममा निर्माण कम्पनीका प्रोजेक्ट मेनेजरले सुक्खा बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदी तर्फ लगाएको रिटेन्सन पर्खाल ४०० मि. भत्किएको, २५० वटा सवारी साधन पार्किङ्गको लागि बनाएको कन्क्रिट ढलान पूर्णरुपमा क्षति भएको, २ वटा गोदाममा माटो र ढुंगा भरिएको, २ वटा लोडिङ्ग/अनलोडिङ्ग सेड क्षति भएको र व्याचिङ्ग प्लान्ट समेत गरी कूल १०० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जानकारी दिएका थिए ।

त्यसैगरी, उक्त सुक्खा बन्दरगाह निर्माण कार्यमा संलग्न कामदारहरु मध्ये १४ जना चिनियाँ र ८ जना नेपाली कामदारहरुको मृत्यु भएको जानकारी गराइएको थियो। सुक्खा बन्दरगाह परिसरमा निर्माण भएका संरचनाहरु मध्ये प्रशासनिक भवन मात्र ठिक अवस्थामा रहेको बताइएको थियो।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भई रहेको आयोजनाको लागत २ अर्ब १६ करोड रहेको छ।