काठमाडौं। कारोबार खुलेदेखि उतारचढाव देखिएको सेयर बजार अन्तिममा सामान्य अंकले ओरालो लागेको छ। नेप्से परिसूचक सोमबार २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा आएको छ। कारोबार रकम अघिल्लो दिनका तुलनामा घटेको छ।
कारोबारमा आएका विकास बैंक, फाइनान्स कम्पनी, उत्पादन तथा प्रशोधन र व्यापार समूह बढेका छन् भने अन्य घटेका छन्। घटेका समूहको चाप बजार सूचकमा परेको हो।
व्यापार सर्वाधिक ३.२४ र विकास बैंकको सूचक ३.०४ प्रतिशतले बढेको छ। ९४ कम्पनीको सेयर मूल्य बढेको छ। समता घरेलु लघुवित्त ९.९९ प्रतिशतले पोजेटिभ सर्किट स्तरमा बढेको छ। सान्भी इनर्जी ९.९२ र ट्रेड टावर ९.५३ प्रतिशतले बढेको छ।
१५६ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। विन्ध्यवासिनी हाइड्रोपावरको सेयरमूल्यमा ८.४९ प्रतिशतले गिरावट आएको छ। बजारमा १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आइतबार २६ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। सोमबार दोस्रो दिन पनि कारोबारमा शिवम् सिमेन्ट हघाडि छ। उक्त कम्पनीको सर्वाधिक ९२ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, हिमालयन डिष्टिलरी ७६ करोड ९९ लाख र ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।