काठमाडौं। सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल र रजिष्ट्रारमा मानबहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरिएको छ।
न्याय सेवा आयोगको सोमबार बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रार र कार्कीलाई रजिष्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो। पौडेल हाल सर्वोच्चको रजिष्ट्रारको रुपमा कार्यरत छन्। सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले आइतबार अवकाश पाएका थिए।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको आयोगको बैठकले कानुन समूहबाट सहसचिव इन्दिरा दाहाल र निर्मला अधिकारीलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको छ।
यस्तै सहन्यायाधिवक्ता सूर्यराज दाहाल नायब महान्यायाधिवक्तामा बढुवाका लागि सिफारिस भएका छन्। केही दिनअघि टेकबहादुर घिमिेरले राजीनामा दिएपछि नायब महान्यायाधिवक्ताको एउटा पद रिक्त हुन पुगेको थियो।
आयोगको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि पौडेल, कार्की, इन्दिरा, अधिकारी र सूर्यराजले बढुवा गरिएको पदमा जिम्मेवारी पाउनेछन्।