काठमाडौं। लगातार उकालो लागेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा आएको छ।
कारोबारमा आएका विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, ट्रेडिङ र म्युचुअल फण्ड बाहेकका सूचकले बजार घटाएका हुन्। कारोबार खुलेको केही समयमा ३००० को विन्दु पुगेको बजार उतारचढावका बीच ओरालो लागेर बन्द भएको हो।
बजार इन्ट्राडेमा चार वर्षयताकै उच्च विन्दु ३०१३ अंकमा पुगेको थियो। २०७८ भदौमा ३१९८ अंकको सेयर बजारले रेकर्ड कायम गरेकामा त्यसपछि उचाइ लिन सकेको छैन। बजार गत वर्ष साउन मसान्तमा ३००० अंकमा पुगेको थियो।
साताको पहिलो दिन सेयरमूल्य घटेका १८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ।
६३ कम्पनीको सेयरमूल्य बढेको छ। समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।
बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजारमा आइतबार भएको कारोबार पछिल्लो एक वर्षयताकै धेरै हो। यसअघि गत वर्ष भदौ २ गते २८ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
पोहोर साउन मसान्तको २९ अर्ब ९५ करोड कारोबारको रेकर्ड भने बजारले तोड्न सकेको छैन। आइतबार शिवम् सिमेन्टको सर्वाधिक १ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, ङादी ग्रुप पावरको ८८ करोड ९० लाख र नेपाल रिइन्स्योरेन्सको ८५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।