काठमाडौं। नेपाल विद्युत प्राधिकरणको चितवनस्थित चनौली वितरण केन्द्रले विद्युत आपूर्ति व्यवस्थापनका लागि भन्दै निकालेको तालिकाले सिंहदरबारमा भुइँचालो गएको छ।
चनौली वितरण केन्द्रले शनिबार स्थान र समय तोकेर विद्युत आपूर्ति बन्द हुने तालिका निकालेपछि त्यसले प्राधिकरणको केन्द्रीय कार्यालयदेखि सिंहदरबारमा हल्लाखल्ला मच्चिएको हो।
केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले ‘भरतपुर १३२/३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको छ। यसको समाधानका लागि अघिल्लो आवमा नै बसेनी सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा छ। तर, अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकोले सिँचाई ग्राहकहरुको लोड बढ्न गई विद्युतको माग ४५० एम्पिएरसम्म पुगेको छ। जसका कारण केही दिनदेखि लोड व्यवस्थापनमा समस्या आइरहेको हुँदा मिति २०८२/०४/११ गते निम्न बमोजिमका फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ’ भनी सूचना निकाले।
सूचनामा नारायणी-माडी फिडरमा बिहान ६ बजेदेखि ९ र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म, मेघौली-विजयनगर-शुक्रनगर फिडरमा बिहान ९ बजेदेखि अपराह्न १२ साँझ ६ बजेदेखि राति ९ बजेसम्म तथा जगतपुर-रामपुर फिडरमा अपराह्न १२ बजेदेखि ३ र राति ९ बजेदेखि १२ बजेसम्म विद्युत आपूर्ति ठप्प हुने भनिएको थियो।

प्राधिकरणले देश लोडसेडिङमुक्त भएपछि यसरी माग धान्न नसकेर विद्युत आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएको सूचना निकालेको थिएन। त्यसैले केन्द्रको सूचना सामाजिक संजाल र केही मिडियामा ‘प्राधिकरणले लोडसेडिङ सुरु गर्यो’ भनेर भाइरल बन्न पुग्यो। त्यसपछि यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेत झसङ्ग हुन पुग्यो।
प्रधानमन्त्री कार्यालयबाट प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई फोन गयो। शाक्य भर्खरै भारत भ्रमणबाट फर्किएका थिए। हितेन्द्रदेवसँग प्रधानमन्त्री कार्यालयका अधिकारीले सोधे- प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको हो?
हितेन्द्रदेव झसङ्ग भए। उनले होइन भने। त्यसपछि उनलाई सामाजिक सञ्जालमा भाइरल भएको सूचनाबारे ती अधिकारीले अवगत गराए। गलत सन्देश प्रवाह भएको भन्दै त्यसलाई तत्काल चिर्न हितेन्द्रदेवलाई प्रधामन्त्री कार्यालयका अधिकारीले निर्देशन दिए।

त्यसपछि चनौली वितरण केन्द्रको सूचनाबारे हितेन्द्रदेवले प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई सोधे। उनले ‘आफूलाई यसबारेमा कुनै जानकारी छैन’ भने।
दीर्घायुकुमारसँग कुरा गरेपछि हितेन्द्रदेवले चनौली वितरण केन्द्रका प्रमुख राजकुमारलाई फोन गरे। राजकुमारले सूचना निकाल्नुपर्ने बाध्यता आइपर्नाको कारणबारे जानकारी गराए।
‘लोड बढेका कारण विद्युत् ट्रिपिङको समस्या बढ्यो। जसले गर्दा ग्राहकले विद्युत् आउने र जाने समयको टुंगो नभएको भन्दै तालिका नै सार्वजनिक गर्न दबाब दिए। उनीहरूले विद्युत् आउने जाने ठेगान नहुँदा रोपाइँ गर्न समस्या भयो भनेपछि माग धान्न नसक्दा विद्युत् आपूर्ति बन्द हुने समय नै तोकेर सूचना निकालेको हुँ,’ राजकुमारले हितेन्द्रदेवलाई भने।
त्यसपछि हितेन्द्रदेव राजकुमारसँग रिसाए। उनले माग धान्न नसक्ने कारण देखाएर विद्युत् आपूर्ति बन्द गर्ने सूचनाले लोडसेडिङको सन्देश गएको र यस विषयमा आफूलाई प्रधानमन्त्री कार्यालयबाट सोधी खोजी भएको भन्दै आइन्दा त्यस्तो नगर्न भने।
हितेन्द्रदेवसँग कुरा भएपछि चनौली वितरण केन्द्रका प्रमुख राजकुमारले सूचना हटाए। हामीले पटक-पटक प्रयास गर्दा पनि राजकुमार हाम्रो सम्पर्कमा आएनन्।
उनले निकालेको सूचनालाई लिएर ऊर्जामन्त्री दीपक खड्कासमेत हितेन्द्रदेवसँग थप चिढिन पुगेका छन्। खड्काले आइतबार हितेन्द्रदेवलाई मन्त्रालय बोलाएका थिए। उनीसँग उपकार्यकारी निर्देशक दीर्घायुकुमार पनि मन्त्रालय पुगेका थिए।

हितेन्द्रदेवले चितवनमा विद्युतको माग बढ्दा देखिएको लोड व्यवस्थाको समस्या समाधान गर्नका लागि आइतबार अपराह्न उपकार्यकारी निर्देशक दीर्घायुकुमारलाई चितवन पठाएका छन्।
‘म अहिले बाटोमा छु। ट्रान्सफर्मर फेरेर लोड व्यवस्थापन गर्ने काम हुन्छ। त्यसका लागि २/३ दिन लाग्न सक्छ,’ उनले भने, ‘चनौली वितरण केन्द्रमा ३०० एम्पिएरको क्षमता छ। तर, त्यहाँ अहिले विद्युतको माग करिब ४५० एम्पियर पुगेको छ। त्यसको समाधानका लागि हामीले नजिकै रहेको हर्दी सवस्टेसनबाट २०० एम्पियर बिजुली आपूर्ति गर्दैछौं। विद्युत् आपूर्तिका लागि अहिले धमाधम काम भइरहेको छ। त्यो सम्पन्न गर्न हामीलाई २ दिन लाग्छ।’
प्राधिकरणले प्रेस विज्ञप्ति निकालेर लोडसेडिङ नेपालका लागि इतिहास भइसकेको भन्दै ग्राहकलाई अन्योलमा नपर्न आग्रह गरेको छ। यस्तै, मधेशका लागि गर्मीले मागको लोड बढेर धान्न गाह्रो परेको जनाउँदै प्राधिकरणले किसानलाई राति ९ देखि बिहान ९ बजेसम्म मात्रै पानी तान्ने विद्युतीय उपकरण चलाउन आग्रह गरेको छ।