काठमाडौं । चिनियाँ गाडी चांगनको डीपलको किफायती एसयुभी एस०५ नेपाल भित्रिएको छ।
चांगन डीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले चौथो मोडलका रुपमा चांगन डीपल एस०५ नेपाल भित्र्याएको हो। यसलाई नाडा अटो शोमा शोकेस गरिनेछ।
यो गाडी कम्पनीले डीपलको अहिले नेपालमा उपलब्धभन्दा कम मूल्यमा ल्याएको हो। केही दिन अगाडि मात्रै कम्पनीले यसको अधिकतम खुद्रा मुल्य सावर्जनिक गरेको थियो।
डिपल एस०५ का ३ वटा भेरियन्ट नेपाल ल्याइएको छ। डिपल एस०५ लाइटको मूल्य ६२ लाख ९९ हजार, एस०५ प्लसको मूल्य ६५ लाख ९९ हजार र एस०५ म्याक्सको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यसमा ९९ किलोवाट क्षमताको मोटर छ। कम्पनीका अनुसार यो मूल्य गाडी बिक्री गर्ने समयमा थपघट हुन सक्नेछ।

चांगन डिपल एस ०५ एक कम्प्याक्ट एसयूभी हो। यसको डिजाइन आधुनिक र आकर्षक छ। यसमा स्लिम हेडलाइट, आकर्षक फ्रन्ट ग्रिल र बोल्ड लाइन छन् जसले गाडीलाई स्पोर्टी लुक्स दिएको छ।
डीपलले पनि विभिन्न मोडलका इभीहरू नेपालमा ल्याउने र बिक्री गरिरहेको छ। कम्पनीको पहिलो मोडल डिपल एस०७ बजारमा राम्रो पकड बनाउन सफल ब्रान्ड हो। कम्पनीले अहिले ३ वटा मोडल नेपाली बजारमा बिक्री गरिरहेको रहेको छ।
गाडीको भित्री भाग पनि आधुनिक र सुविधाजनक छ। यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायत धेरै फिचर छन्। गाडीमा डिपल फोरके इन्टेलिजेन्ट क्यामेरा राखिएको छ जसमा ६४ जीबी स्टोरेज छ।
यस्तै १४ वटा स्पिकर भएको साउन्ड सिस्टम र पानोरमिक रुफ छ। गाडीमा सिंगल सेन्ट्रल १५.४ इन्चको २.५ के कन्ट्रोल स्क्रिन सेटअप छ। यसमा डी आकारको स्टेरिङ ह्वील छ। तर इन्स्ट्रुमेन्ट डिस्प्ले छैन। चालकका लागि भने हेड-अप- डिस्प्ले छ। यस्तै अटो पार्किङ सुविधा पनि गाडीमा उपलब्ध छ।
लामो दूरीको यात्राको लागि उपयुक्त हुने गरी चांगन डिपल एस ०५ मा ठूलो ब्याट्री राखिएको छ। ५६.१२ किलोवाट आवर(युनिट) क्षमताको लिथियम आयोन फोसफेट ब्याट्रीले एक पटकको फुल चार्जमा ५१० किलोमिटर रेन्ज प्रदान गर्छ। गाडीमा १७५ किलोवाटको मोटर पावर छ जसले ३२० एनएम टर्क उत्पादन गर्न सक्छ।