BIZMANDU
www.bizmandu.com

चिया मन पराउने नेपाल, बिस्तारै बिस्तारै हुँदैछ कफीतर्फ आकर्षित

२०८२ साउन १०

चिया मन पराउने नेपाल, बिस्तारै बिस्तारै हुँदैछ कफीतर्फ आकर्षित
चिया मन पराउने नेपाल, बिस्तारै बिस्तारै हुँदैछ कफीतर्फ आकर्षित

काठमाडौं। नेपालमा चियाजसरी कफी सधैं सजिलै सबैतिर बिक्री हुने भइसकेको छैन। यो हिमाली देश ठूलो चिया उत्पादक त हुँदै हो, चियाको ठूलो उपभोक्ता पनि हो। बिहान मानिसहरू एकअर्कालाई अभिवादन गर्दा ‘के छ हालखबर, कस्तो छौ?’ भन्दा ‘चिया खाइयो?’ पनि भन्न छुटाउँदैनन्।

Tata
GBIME
Nepal Life

चिया प्रायः गुलियो, दूध हालिएको तातो, गिलासमा दिइन्छ। यो नेपालको संस्कृतिको त्यति नै हिस्सा हो जति भात। यो घर, बैठक र सामाजिक जमघटहरूमा सधैं उपस्थित रहन्छ। तर, सहर र गाउँका कुनाकाप्चामा ट्रेन्डी कफी पसलहरू खुल्दै जाँदा बढ्दो संख्यामा नेपालीहरू कफीतर्फ आकर्षित हुँदै गएका छन्।

नेपालीले ९० को दशकमा चाख्न थाले कफी
राजधानी काठमाडौंमा रहेको एउटा क्याफे अग्रणी मानिन्छ। गगन प्रधानले हिमालयन जाभा एउटा गल्लीमा सानो क्याफेबाट सुरु गरे, र अहिले यो देशभर ८४ शाखासहित चेनमा परिणत भएको छ। प्रधानको अनुमानमा देशभर करिब ७ हजार क्याफे छन्, यद्यपि हालसम्म अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै स्टारबक्स नेपाल भित्रिएको छैन।

प्रधान भन्छन्, ‘देशभर धेरै चिया पसलहरू छन्, तर तिनीहरूको सेटअप अझै पुरानो शैलीकै छ। जब कफी शपको कुरा आउँछ, लगानीकर्ता र हाम्रोजस्ता मानिसहरू मेसिन मात्र होइन, बत्ती, सेटअप, फर्निचर, लोकेसन सबै कुरामा गम्भीर हुन्छौं।’

उनका अनुसार चिया पसलहरूले प्रायः कालो चिया वा दूध चिया मात्र बेच्ने गर्छन्, तर सामान्य कफी मेनुमा १०-१५ तातो पेय र १०-१५ चिसो पेय हुन्छ।

प्रधान भन्छन्, ‘क्याफे व्यवसाय आकर्षक छ किनभने सुरुवाती लगानी कम हुन्छ। सफा र सरल भएकाले एकल व्यक्ति वा परिवारले चलाउन सक्ने, र ग्राहकहरूले कफीका लागि बढी तिर्न तयार हुने।’

पूर्वी नेपालको चिया उत्पादनका लागि प्रसिद्ध पहाडी क्षेत्रका चिया बगानहरूसँगै अहिले कफीका बगानहरू पनि फैलिन थालेका छन्।

कफी महँगो छ, तर यो जीवनशैली हो
नेपाल क्षेत्रीय प्रवृत्तिको हिस्सा हो। एसियाका परम्परागत चिया खाने देशहरूमा बढ्दो मध्यम वर्गका मानिसहरूले नयाँ स्वाद र अन्तर्राष्ट्रिय ट्रेन्ड अंगाल्दै कफीको खपत बढाएका छन्।

नेपालमा कफी प्रिमियम पेय हो : हिमालयन जाभामा यसको मूल्य करिब २ अमेरिकी डलर पर्छ, जुन रकमले काठमाडौंको स्थानीय क्याफेमा एउटा खाना वा पाँच कप चिया किन्न सकिन्छ। यद्यपि, क्याफेहरू अफिस कर्मचारीहरू र पढ्ने ठाउँ खोज्ने विद्यार्थीहरूले भरिभराउ हुन्छन्।

सामाजिक कार्यकर्ता र कफी पसलका नियमित आगन्तुक दीप सिंह भण्डारी भन्छन्, ‘मलाई लाग्छ नेपालमा कफी पिउने विचार सुरुमा जीवनस्तर उकास्ने सोचबाट आएको थियो, तर एकपटक स्वाद चाखेपछि धेरै मानिसहरूलाई मन पर्‍यो र निरन्तर पिउन थाले।’

काठमाडौंको वसन्तपुर क्षेत्रमा रहेको एउटा चिया पसल । तस्वीर : निरन्जन श्रेष्ठ/एपी

नेपालमा कफी उत्पादन पनि सुरु हुँदैछ
नेपालमा उपभोग हुने अधिकांश कफी आयातित हो, तर देशको पूर्वी चिया उत्पादनका लागि प्रसिद्ध क्षेत्रमा कफी बगानहरू फस्टाउँदै छन्।

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०७८/७९ मा करिब ४०० टन कफी उत्पादन भएको थियो। सोही वर्ष २६,००० टन चिया उत्पादन भएकोमा कफीको मात्रा निकै कम भए पनि बोर्डले द्रुत वृद्धि हुने अनुमान गरेको छ।

प्रधान भन्छन्, ‘नेपालका तन्नेरीदेखि वृद्धसम्म सबैलाई कफी मन पर्छ र कफी पिउनेहरूको संख्या दिनहुँ बढ्दै गएको छ। यो ट्रेन्ड अझै बढ्दै जानेछ।’ (विनाज गुरुवाचार्य/एपी)