इन्टेल कर्पोरेसनले हजारौँ कर्मचारी हटाउने र खर्च घटाउने निर्णय गरेको छ। नयाँ सीइओले संघर्षरत चिप निर्माता कम्पनीलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेका छन्। जसअन्तर्गत उक्त निर्णय आएको हो। यो कम्पनीले सिलिकन भ्यालीको प्रारम्भमा महत्त्वपूर्ण भूमिका खेलेको भए पनि हाल एनभिडिया कर्पोरेसन र एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) जस्ता प्रतिस्पर्धीहरूसँग पछि परेको छ।
गत बिहीबार कर्मचारीहरूलाई पठाइएको एक सूचनामा सीइओ लिप-बु ट्यानले भनेका छन् कि इन्टेलले सहायक कम्पनीहरू बाहेक वर्षको अन्त्यसम्ममा ७५ हजार मुख्य कर्मचारीहरू राख्ने योजना बनाएको छ। यो संख्या गत वर्षको अन्त्यमा रहेका ९९ हजार ५ सय मुख्य कर्मचारीहरूभन्दा कम हो। कम्पनीले यसअघि नै १५ प्रतिशत जनशक्ति कटौतीको घोषणा गरिसकेको थियो।
‘म जान्दछु पछिल्ला केही महिना सजिलो रहेनन्। हामी संगठनलाई सरल र प्रभावकारी बनाउन, दक्षता बढाउन र प्रत्येक तहमा जवाफदेहिता सुनिश्चित गर्न कठिन तर आवश्यक निर्णयहरू गरिरहेका छौं,’ ट्यानले लेखेका छन्।
त्यसका साथै, इन्टेलले जर्मनी र पोल्यान्डमा योजना बनाइएको केही परियोजनाहरू बन्द गर्नेछ र कोस्टारिकामा रहेका असेंब्ली तथा परीक्षण कार्यहरूलाई भियतनाम र मलेसिया जस्ता ठूला स्थानहरूमा स्थानान्तरण गर्ने भएको छ। कोस्टारिका भने कम्पनीको प्रमुख इन्जिनियरिङ टोलीहरू र कर्पोरेट कार्यहरूको केन्द्रको रूपमा रहनेछ।
अमेरिकामा कम्पनीले ओहायो राज्यमा निर्माणाधीन अर्धचालक (सेमीकन्डक्टर) कारखानाको निर्माण कार्य केही ढिला गर्ने बताएको छ।
१९६८ मा स्थापना भएको इन्टेलले व्यक्तिगत कम्प्युटर क्रान्तिको सुरुवातमा ठूलो योगदान दिएको थियो, तर एप्पलको सन् २००७ को आइफोनले ल्याएको मोबाइल कम्प्युटिङको प्रवृत्तिलाई समयमै चिन्न नसक्दा पछि परेको हो। अहिले भने, कृत्रिम बुद्धिमत्ता (एआइ) को बढ्दो मागले कम्पनीको समस्यालाई झन् गहिरो बनाएको छ – जहाँ पहिले सानो ठानिने प्रतिस्पर्धी एनभिडियाले बनाएका चिपहरू आज प्रविधिको सबैभन्दा महत्वपूर्ण उपकरण बनेका छन्।
सान्ता क्लारा क्यालिफोर्नियामा आधारित इन्टेलको बजार पुँजी (मार्केट क्याप) बिहीबारको बजार बन्द हुँदा ९८.७१ अर्ब डलर थियो, जबकि एनभिडियाको पुँजी ४.२४ ट्रिलियन डलर पुगेको छ।
ट्यानका अनुसार कम्पनी अब आफ्नो मुख्य उत्पादन पोर्टफोलियो र एआइ सम्बन्धी सेवाहरूमा केन्द्रित हुँदैछ, ताकि ग्राहकहरूलाई अझ राम्रो सेवा दिन सकियोस्।
‘अब खाली चेकहरू रहने छैनन्,’ ट्यानले लेखेका छन्, ‘प्रत्येक लगानीले आर्थिक लाभ उन्मुख हुनैपर्छ।’
दोस्रो त्रैमासमा इन्टेलले २.९ अर्ब डलर घाटा बेहोरेको छ, जसअनुसार प्रति सेयर घाटा ६७ सेन्ट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको १.६ अर्ब डलर घाटा (प्रति सेयर ३८ सेन्ट) भन्दा झनै खराब हो। एकपटकका खर्चहरू हटाएर हेर्दा कम्पनीले १० सेन्ट प्रति सेयर घाटा देखाएको छ। (एपी)