काठमाडौं। जलवायू परिवर्तनसँगै पर्याप्त आकाशे पानी नपरेर धान बाली सुकिरहँदा कोदो खेती किसानका लागि अवसर बनेको छ। सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाहरुमा समेत खडेरी पर्दा यसको विकल्पका रुपमा कोदोलाई हेर्न थालिएको हो।
धेरै पानी नचाहिने र जलवायु परिवर्तनले समेत असर नपर्ने बाली भएकोले कृषि विज्ञहरूले समेत कोदोलाई उपयुक्त विकल्पको रुपमा सुझाएका छन्।
कृषि मन्त्रालयका अनुसार कोदोखेती सबै प्रदेशमा सम्भव भएपनि हाल करिब ५० भन्दा बढी जिल्लामा हुँदै आएको छ। करिब ४ वर्षयता नेपालमा कोदोको बजार विस्तार हुँदै गएको तथ्यांकले देखाउँछ।
स्वास्थ्यका लागि फलदायी अन्न भएकोले सहरबजारमा यसको खोजी र माग बढ्दै गएको छ। उत्पादन उल्लेख्य रुपमा नबढे पनि आयात बढिरहँदा कोदोको माग अनुसारको आपूर्तिमा सुधार देखिँदै गएको छ।
पानी नपर्ने र खडेरी परेका जमिनमा कोदोखेती उपयुक्त विकल्पमा रहेको वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशीले बताए।
‘यस्ता क्षेत्रमा वैकल्पिक बाली लगाउन सकिन्छ। यो तुरुन्त खेती गर्न सकिन्छ भन्ने त होइन। तर पहिलेदेखिनै बिउको तयारी गरिएको अवस्थामा खडेरी पर्दा वा सुक्खा क्षेत्रमा कोदो बाली लगाउन सकिन्छ,’ उनले भने।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कोदो बालीका लागि सरकारले अलि बढी प्राथमिकता दिनुपर्ने बताए।
‘अहिले खडेरी पर्दाका लागि मात्र भनेर कोदोलाई विकल्पका रुपमा हेरेर हुँदैन,’ उनले भने, ‘जलवायु परिवर्तन भइरहेको र यसको असर अन्नबालीमा पर्ने देखिएपछि भविष्यका लागि मुख्य बालीकै रुपमा पनि कोदो उत्पादन गर्न सकिने गरी पूर्वतयारी हुनुपर्छ। सिँचाइको कारण अन्य बाली भएन भने कोदो उत्पादन हुन सक्छ भनेर सोच्नुपर्छ।’
तराईमा खडेरी पर्दा कोदो लगाउन सकिन्छ भनिरहँदा रोप्नका लागि तयारी बिउ किसानसँग नभएको उनको भनाइ छ।
‘उम्रिन एक महिना लाग्छ। अब बीउ राखेर कहिले लगाउने? उनले प्रश्न गरे।
उनी भन्छन्-‘हामीकहाँ कृषि क्षेत्रका लागि सरकारको पूर्वतयारी हुने गरेको छैन।’
अब कोदोको उत्पादन बढाउनु पर्ने दबाब नै रहेको उनले बताए। बजारमा माग बढ्दै जानु र आयात पनि बढ्दै गएको अवस्थामा उत्पादन बढाउनुतर्फ सोच्नुपर्ने उनको भनाई छ।
रैथाने बाली कोदोले नै आगामी दिनका लागि खाद्य सुरक्षामा ठूलो सहयोग पुर्याउने उनको भनाइ छ।
कोदोखेतीको उत्पादन बढाउनु पर्ने चुनौती देखिएको कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ पनि बताउँछन्। धान, मकै, गहुँभन्दा कोदो जलवायु परिवर्तनले खासै असर नगर्ने बाली भएको उनको भनाइ छ।
रैथाने बाली भएकोले यसलाई संरक्षणसँगै उत्पादन बढाउँदै लग्दा आगामी दिनमा खडेरीका कारण बाली हराउँदै जाने डर नहुने उनले बताए।
‘अहिले कोदोको व्यावसायिक खेती हुन सकेको छैन। बजारमा यसको खपत धेरै बढाउन सके उत्पादन पनि बढ्छ। हामीले कोदो खपत हुने बजार विस्तार गरी उत्पादन वृद्धि गराउन सक्छौं। पहिले कोदोको महत्त्वबारे सबै क्षेत्रमा जनचेतना फैलाउनु पर्छ,’ उनले भने।
कृषि, पशुपन्छी तथा विकास मन्त्रालयका अनुसार हाल देशभर २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदोखेती हुँदै आएको छ। जसमा करिब ३ लाख ७३१ मेट्रिक टन कोदो उत्पादन हुन्छ। यद्यपि, मन्त्रालयको यो तथ्यांकभन्दा बढी कोदो उत्पादन हुने गरेको विज्ञहरुकै भनाई छ।
देशको कतिपय क्षेत्रमा उत्पादन भएको कोदो बजारसम्म नआइनपुगेकोले यकिन गर्न नसकिएको उनीहरु बताउँछन्।
खपत बढाउन के गर्नुपर्छ?
मन्त्रालयका सहसचिव श्रेष्ठ कोदोको उत्पादन बढाउनका लागि ग्रामीण भेगका युवाहरुलाई खेतीतर्फ आकर्षित गरी स्थानीय स्तरमै रोजगारीको अवसर दिनुपर्ने बताउँछन्। युवाहरु खेतीतर्फ आकर्षित भए उत्पादन बढ्ने मात्र नभई स्थानीय उत्पादन त्यहि खपत हुने उनको भनाई छ।
मन्त्रालय अन्तर्गत विसं २०७७/७८ देखि प्रदेशस्तरमा कोदोको परिकारहरु बनाउने तालिम सुरु भएको उनले जानकारी दिए।
हालसम्म १०० भन्दा बढीले कोदोको परिकार बनाउने तालिम लिइसकेका छन्। उनका अनुसार कोदोका बिभिन्न २५ किसिमका परिकारहरु बनाउने तालिम यस अवधिमा दिइन्छ।
तालिम लिएका धेरै जसोले आफ्नै उद्यम सुरु गरेको उनले बताए।
स्कुल, होटल, होमस्टेहरुमा कोदोका परिकारहरु बढाउन सके यसको खपत बढ्न सक्छ। खाजाका रुपमा स्कुलहरुमा कोदोका परिकारहरु प्रयोग गर्न सकिन्छ।
पालिकाले गाउँमा महिलाहरुलाई समुह बनाएर कोदो खेतीका लागि प्रोत्साहन र सहयोग गर्न सके पनि उत्पादन बढ्ने उनको राय छ।
दिर्घकालीन रुपमा कोदो खेतीलाई रोजगारी र उद्यमशिलतासँग जोडेमा यसको उत्पादन बढ्नेबारे जनचेतना अझै बढाउन आवश्यक रहेको उनले बताए।
कोदोको उत्पादन र विभिन्न परिकारहरुको उत्पादन साथै ढुवानीका लागि आवश्यक मेसिन खरिद, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणका लागि मन्त्रालयले सहयोग गर्ने व्यवस्था रहेको उनले जानकारी दिए।
खडेरीले आक्रान्त किसानहरुलाई कोदो खेतीको विकल्प दिन सके उनीहरुको आर्थिक पक्ष सबल हुने त छँदैछ रैथाने बालीको संरक्षण भई स्वस्थ जीवनशैली अंगिकार गर्न पनि मद्दत पुग्ने निश्चित छ।