भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले जर्मनीमा छन्। उनी विदेशमा रहँदा भारतमा लोकसभाको सत्र जारी छ। विपक्षी दलहरुले प्रधानमन्त्री मोदीले संसद सत्र छलेर विदेश यात्रा जाने गरेको आरोप लगाउने गरेको छ।
मोदी जर्मनीमा रहँदा विपक्षी दलले मोदीसँग विभिन्न विषयमा जवाफ माग्न चाहेको तर उनी बाहिर गएको आरोप लगाएका छन्।
यसबीच भारतको विदेश मन्त्रालयले मोदीको विदेश यात्राको खर्चबारे जानकारी दिएको छ। तृणमूल कांग्रेसका राज्यसभा सांसदले विदेश मन्त्रालयलाई सोधेको प्रश्नको जवाफमा मन्त्रालयले विदेश यात्राको खर्चबारे जानकारी गराएको हो।
विदेश मन्त्रालयका अनुसार सन् २०२१ देखि सन् २०२४ सम्ममा मोदीको विदेश यात्रामा कूल २९५ करोड भारतीय रुपैयाँ खर्च भएको छ।
यस्तै, सन् २०२५ मा मात्रै मोदी १४ देश पुगिसकेका छन्। जसमध्ये ५ देशमा जाँदा ६७ करोड भारतीय रुपैयाँ खर्च भएको छ। यो मोदी सन् २०२५ मा फ्रान्स, अमेरिका, थाइल्यान्ड, श्रीलंका र साउदी गएको खर्च हो। हालसम्म सबै गरेर ३६२ करोड भारतीय रुपैयाँ खर्च भएको देखिन्छ। यो भनेको ५ अर्ब ७८ करोड नेपाली रुपैयाँ भन्दा बढी हो।
यसमा अन्य ९ देश र हालै गएको जर्मनी गएको खर्च जोडिएको छैन।
मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका हुन्। उनीमाथि प्रधानमन्त्री भएयता विदेशी भ्रमणमा धेरै जाने गरेको, मिडियासँग कुरा नगर्ने लगायतका आरोप लाग्दै आएको छ।