BIZMANDU
www.bizmandu.com

टुटेका सपनाको आर्थिक मूल्य : वित्तीय प्रणाली फेल भएरमात्रै ढल्दैन अर्थतन्त्र

२०८२ साउन ८

टुटेका सपनाको आर्थिक मूल्य : वित्तीय प्रणाली फेल भएरमात्रै ढल्दैन अर्थतन्त्र
टुटेका सपनाको आर्थिक मूल्य : वित्तीय प्रणाली फेल भएरमात्रै ढल्दैन अर्थतन्त्र

एक साँझ मेरो मोबाइलमा एउटा म्यासेज आयो। त्यो छोटो र साधारण थियो तर म्यासेजका शब्दहरूले मलाई तान्यो : ‘के तपाईं मानिसका भावनाले अर्थतन्त्रलाई कसरी प्रभावित पार्छ भन्ने बारेमा केही लेख्न सक्नुहुन्छ?’

Tata
GBIME
Nepal Life

यो म्यासेज पठाउने व्यक्ति मेरा निकट आफन्त हुनुहुन्थ्यो तर वहाँ अर्थशास्त्री भने होइन। वहाँको त्यो अनुरोधले मलाई धेरै गहिरोसँग छोयो। ती शब्द मैले पढेका धेरै शैक्षिक सिकाइहरुभन्दा पनि गहन लागे, किनभने उक्त प्रश्नले मलाई एउटा सत्यसँग आत्मसात् गरायो जुन आर्थिक विषयमा छलफलका क्रममा हामीले बेवास्ता गरिरहेका हुन्छौं।

खासमा अंकहरुले बजार चलाउँछन्, तर त्यही अंकसँग खेलिरहने मानिसलाई भने उनीहरुको मनोभाव अर्थात भावनाहरुले आकार दिन्छन्। 

जति गहिरिएर म यस म्यासेजका बारेमा सोच्न थालेँ, त्यति नै गहिरोसँग म विगतको एउटा कथातर्फ तानिँदै गएँ।

बुवा पुस्ताका एक सेल्फमेड उद्यमी, जसले वर्षौँ लगाएर आफ्नो पसिनाले सिँचेर एउटा राम्रो व्यवसाय स्थापित गरेका थिए। व्यवसायलाई आकार दिने क्रममा उनले गरेका संघर्ष। संघर्षले डोर्‍याएर प्राप्त गरेको सफलता, अनि त्यो सफलताबाट प्राप्त बचत पुँजी उनको एउटै सपनामा केन्द्रित रहे : उनले सफल रुपमा उभ्याएको व्यवसायको उत्तराधिकारी उनकै दुई छोराहरू हुनेछन्।

हाम्रो जस्तो धेरै समाजहरूमा सन्तान केवल परिवारमात्र होइनन् उनीहरू त बुवाआमाको अलिखित पेन्सन योजना, आफूले गरिआएको कार्यको निरन्तरताको स्रोत, भावनात्मक परिपूर्तिका माध्यम अनि स्वयं बुवाआमाका पहिचान समेत हुन्। त्यसैले हाम्रो सामाजिक संरचनामा ती उद्यमी बुवाको यो आकांक्षा अन्यथा पनि थिएन।

तर, उनै उद्यमी बुवाका शिक्षित, महत्त्वाकांक्षी र विचारले ग्लोबल बनिसकेका छोराहरू यहाँ बस्न चाहँदैनन्। उनीहरूले बुवालाई आफूहरू अमेरिका गएर करियर बनाउने बताउँछन्। ‘हामी उतैबाट पैसा पठाउँछौं,’ उनीहरूले बुवालाई आश्वासन दिन्छन्- ‘हामी जहाँ रहे पनि परिवारसँग जोडिएरै रहनेछौं।’

तर, छोराहरूले भनेका शब्द बुवाका लागि सन्देशमात्र थिएन, गहिरो चिन्ताको प्रतिध्वनि थियो। किनभने अब उनको त्यो व्यावसायिक विरासतले निरन्तरता नपाउने भयो। उनको भावनात्मक लगानीले कुनै उत्तराधिकार प्राप्त गर्न सकेन। त्यसको केही महिनामै उनले आफ्नो व्यवसाय बन्द गर्छन् र आध्यात्मिक मार्गमा लाग्छन्।

यो निर्णय उनले दशकौंको मेहनतले खडा गरेको व्यवसाय असफल भएर गरेका थिएनन्। तर, जुन उद्देश्यका साथ मेहनत गरेका थिए त्यो उद्देश्य नै नरहेपछि उनले व्यवसाय बन्द गरेर बाँकी जीवन धार्मिक मार्गमा लाग्ने निर्णय गरेका थिए।

यो घटना केवल एउटा परिवारको कथा मात्र होइन ‘आर्थिक नीतिकथा’ नै हो। समान किसिमका घटनाहरुको प्रभाव अब कुनै एक घरमा मात्र सीमित छैन। हामी महसुस गर्न सक्छौं यसको असर तरंगित भएर धेरै परसम्म पुगिरहेको छ।

अब यसै सन्दर्भसँग जोडिएको केही तथ्यांकलाई हेरौं :

• नेपालले आर्थिक वर्ष २०२३/२४ मा ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स आय प्राप्त गर्‍यो, जुन देशको कुल ग्राहस्थ उत्पादनको करिब २४.५ प्रतिशत हो। (नेपाल राष्ट्र बैंक, २०२४) 

• सोही वर्ष, सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमइ)हरुको दर्तामा ५.४ प्रतिशतले कमी आएको थियो। (उद्योग मन्त्रालय, २०२४) 

• १३ लाख हेक्टरभन्दा बढी कृषियोग्य जमिन हाल बाँझो अवस्थामा छ, यस तथ्यले २०२० पछिको ११ प्रतिशत वृद्धिलाई दर्शाउँछ। (एफएओ र केन्द्रीय तथ्यांक विभाग, २०२३)

यो विरोधाभासलाई एकपटक मनन गरौं! एकातिर मौद्रिक प्रवाह बढिरहँदा उद्यमशीलतातर्फको सहभागिता, खेतीपाती र घरेलु उद्यमहरू भने घटिरहेका छन्। किन त?

किनभने अंकहरूमा तर्कसंगत देखिने कतिपय कुराहरुले भावनात्मक वास्तविकतालाई भने ढाकिदिन्छ। नेपालमा मात्र होइन धेरै जसो उदाउँदा अर्थतन्त्रहरुमा हामी भावनात्मक आर्थिक निष्क्रियताका यस्ता घटनाहरु बढिरहेको देख्न सक्छौं।

विशेषगरी, पुराना पुस्ताका उद्यमीहरू र साना किसानहरू पुँजीको अभावका कारण नभई यस्तै विविध प्रकारका ‘भावनात्मक सम्झौताको अवसान’का कारण आफ्नो श्रम तथा कर्मबाट पछि हटिरहेका छन्।

भावनात्मक अर्थतन्त्रलाई कहिल्यै मात्रात्मक रूपमा नापिंदैन। तर, यसको प्रभाव विश्वभर बढ्दै गएको देखिन्छ। हामी प्रायः बिर्सन्छौं कि कुनै पनि व्यवसाय निर्माण, विस्तार, वा हस्तान्तरण गर्ने निर्णयहरू त्यसको ब्यालेन्ससिटमा मात्र आधारित भएर लिइँदैन। यस्ता निर्णयहरू कुनै बैठक कोठामा, टेलिफोन कलहरूमा वा कुनै सन्नाटामा पनि आधारित हुन्छन्, जसमा मैले माथि उल्लेख गरेझैं पुस्तागत दरारका धेरै घटनाहरु लुकेका हुन सक्छन्।

उदाहरणका लागि, जापानमा ६० वर्ष भन्दा माथिका ६५ प्रतिशत व्यवसायीहरूको उत्तराधिकारी छैनन् (टेइकोकु डेटा बैंक, २०२३)। सन् २०२० देखि २०२३ सम्मको तथ्यांकअनुसार ४५ हजारभन्दा बढी साना व्यवसायहरू टाट पल्टिएर नभइ नयाँ पुस्ताले व्यवसायको उत्तराधिकारी बन्न नचाहेकाले बन्द भए। यस्तै, किसिमका व्यावसायिक उत्तराधिकार संकट इटालीका पारिवारिक व्यवसायहरू र जर्मनीको प्रख्यात मिटेलस्ट्याण्डमा पनि देखियो। व्यवसाय संचालनमा नाफा भइरहेकै अवस्थामा पनि ‘भावनात्मक भिन्नता’ का कारण सफल व्यवसायहरू पनि धमाधम बन्द गर्ने निर्णयलाई मलजल गरिरहेको छ।

व्यवहारिक अर्थशास्त्रले यसलाई थप पुष्टि गर्छ। प्रोस्पेक्ट थ्योरी (काह्नेम्यान र ट्भर्स्की, १९७९) अनुसार मानिसहरू लाभ लिनुमा भन्दा हानि बेहोर्न बढी डराउँछन्।

यो ‘हानि’अन्तर्गत विरासतको हानि, उद्देश्यको हानि, यस्तै परिवारभित्र अपेक्षा गरिने भावनात्मक आवश्यकताको हानि पर्दछन्, जुन कुनै पनि निरन्तर आयको लाभभन्दा बढी महत्त्वपूर्ण हुन सक्छ। जब भावनात्मक प्रतिफल हराउँछ, मानिसहरू आर्थिक जीवनबाट अलग हुन्छन्। सतही रुपमा हेर्दा यी कुराहरु तर्कहीन देखिन्छ,  तर यो वास्तवमै निकै गहिरो र मानवीय हुन्छ।

अर्थतन्त्रमा ‘भावनात्मक संवेदनशीलता’लाई कसरी सम्बोधन गर्न सकिन्छ?

पहिलो, हामीले ‘भावनात्मक स्थिरता’लाई आर्थिक लचकपनको आधारभूत स्तम्भको रूपमा पहिचान गर्नुपर्छ। जसरी हामीले यसअघि पर्यावरणीय र डिजिटल स्थिरतालाई आर्थिक नीतिमा समावेश गर्‍यौं, त्यस्तै ‘भावनात्मक पूर्वाधार’लाई पनि सम्बोधन गर्नुपर्छ। पुस्तागत सम्बन्ध, सामाजिक विश्वास र निरन्तरतालाई आर्थिक योजनामा समावेश गर्नुपर्छ।

दोस्रो, कुनै पनि आर्थिक नीति निर्माण गर्दा कर छुट वा वित्तीय उपकरणहरू मात्र पर्याप्त हुँदैनन्। भावनात्मक पक्षबाट प्रोत्साहन र आर्थिक प्रोत्साहन दुवैलाई समन्वयात्मक रुपमा सम्बोधन गर्नुपर्छ। उदाहरणका लागि दक्षिण कोरिया र ताइवानले यदि कोही नागरिक देश फर्केर पारिवारिक उद्यममा लगानी गर्न चाहन्छ भने उनीहरूका लागि सहयोगी योजनाहरू बनाएका छन्। नेपालले पनि उद्यमशीलतामा पुस्तागत अन्तरलाई कम गर्न यस्तै किसिमका ‘लिगेसी इन्टेन्सिभ’ दिने कानुनी र नेतृत्वदायी कार्यक्रम ल्याउन सक्छ।

तेस्रो, हामीले आर्थिक स्वास्थ्य मापन गर्ने तरिकालाई पनि बदल्नुपर्छ। रेमिट्यान्स र कुल ग्राहस्थ उत्पादनमा वृद्धिको तथ्यांकले मात्र समाज कस्तो छ भनेर बताउन सक्दैन। भावनात्मक उत्प्रेरणा सर्वेक्षण, विश्वासका सूचकहरू तथा पुस्तागत संलग्नताका दर जस्ता पूरक सूचकांकहरू पनि विकास गर्नुपर्छ। भुटानको ग्रस नेसनल ह्याप्पीनेस मोडेल आफैंमा पूर्ण नभए पनि यसले कल्पनाशीलताको सुरुवाती विन्दुलाई संकेत गर्छ।

चौथो, हाम्रो शिक्षा प्रणालीले युवाहरूलाई विश्व प्रतिस्पर्धाका लागि मात्र होइन, लोकल कनेक्सनका लागि पनि तयार गर्नुपर्छ। पाठ्यक्रममा भावनात्मक साक्षरता, पारिवारिक व्यवसायमा नैतिकता, र सामाजिक जवाफदेहितालाई समावेश गर्नुपर्छ। यदि हामीले सांस्कृतिक उत्तराधिकार महत्त्वपूर्ण छ भनिरहेका छौं भने त्यसलाई भनाइमा मात्र होइन सिकाइमै लागू गर्नुपर्छ।

खासमा अब हामीले अर्थशास्त्रको भाषालाई नै सिफ्ट गरेर हेर्नुपर्ने बेला आइसकेको छ। छोराहरूप्रतिको अपेक्षाबाट निराशा हात लागेर व्यवसाय छोड्ने बुवा केवल उदाहरण होइनन्, एक संकेत हुन्।

उनको कथाले हामीलाई अंक वा संख्याले मापन गरेर भन्न नसकिने यस्तो तथ्य उजागर गर्छ – ‘अर्थतन्त्र कुनै बैंक वा वित्तीय प्रणाली फेल भएर मात्र ढल्ने होइन, संवेदना र सम्बन्धहरू टुटेर पनि क्षय हुन्छन्।’

यदि वैश्विक पुँजीवादलाई मानवीय स्वरुपमा बचाउनु छ भने यसले आर्थिक कार्यहरूका लागि मात्र नभई भावनात्मक उत्प्रेरणाका लागि पनि ठाउँ प्रशस्त गर्नुपर्छ। अन्यथा हामीले प्रभावकारी प्रणाली त निर्माण गर्न सकिएला तर त्यसमा रित्तोपन हुनेछ। वृद्धि त होला तर त्यसले सम्बन्धित प्रणालीहरूलाई एकत्रित गरेर जोड्न नसक्ने जोखिममा हामी हुनेछौं।

मलाई यो आलेखका निम्ति घच्घच्याउने म्यासेज साधारण थियो, तर त्यसको अन्तर्दृष्टि गहिरो थियो। त्यसमा लुकेको गहिरो अर्थ के हो भने ‘अर्थतन्त्रहरू मेसिनरी हुँदैनन्, यो मानवीय इच्छा र उद्देश्यमा आधारित हुन्छ।’ त्यसैले अब हामीले अर्थतन्त्रलाई भावनात्मक रुपमा पनि हेर्न सुरुवात गर्नुपर्छ।

त्यसपछि मात्र हामी वास्तवमै यस्तो आर्थिक प्रणाली निर्माण गर्न सक्छौं, जहाँ लाभ र उद्देश्य तथा तर्क र प्रेमको सहअस्तित्व सम्भव छ, जहाँ भावनात्मक पक्ष अदृश्य रहनेछैन ‘सदृश्य’ भएर आउनेछ।

(पन्त त्रिभुवन विश्वविद्यालबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा विद्यावारिधि गरिरहेकी छन्।)