BIZMANDU
www.bizmandu.com

दीपेन्द्र अग्रवालको लहलहैमा पैसा डुबाउनेमा प्रहरीका उच्च अधिकृत पनि, बहिनीको खातामा १५ करोड

२०८२ साउन ७

दीपेन्द्र अग्रवालको लहलहैमा पैसा डुबाउनेमा प्रहरीका उच्च अधिकृत पनि, बहिनीको खातामा १५ करोड
दीपेन्द्र अग्रवालको लहलहैमा पैसा डुबाउनेमा प्रहरीका उच्च अधिकृत पनि, बहिनीको खातामा १५ करोड

काठमाडौं। दीपेन्द्र अग्रवालले आफूलाई सेयर बजारको ‘किङ’कै शैलीमा सामाजिक सञ्जालमा टिप्स सुनाउने गरेका थिए। उनलाई राजनीतिक साथ र प्रहरीको धाप थियो।

Tata
GBIME
Nepal Life

उनी नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा कारोबार हुने कम्पनीको सेयर माथि लाने र तल झार्ने सामर्थ्य राख्थे। त्यही सामर्थ्य देखेर सानादेखि ठूला लगानीकर्ता दीपेन्द्रको पछि लागेका थिए।

कतिसम्म भने ब्रोकर कम्पनीले समेत दीपेन्द्रलाई फोन गरेर उनले भनेको कम्पनीको सेयरमा पैसा लगानी गर्थे।

तर, सधैं एउटै रफ्तारमा केही पनि अगाडि बढ्दैन। दीपेन्द्रले पछिल्लो पटक कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा ठूलै मार खाए। राष्ट्र बैंकले कर्णाली विकास बैंक आफ्नो नियन्त्रणमा लिएपछि दीपेन्द्रसँगै ब्रोकर कम्पनीहरुको पैसा डुब्यो।

त्यसपछि दीपेन्द्रको विरुद्धमा एकपछि अर्को उजुरी पर्न थाल्यो। उजुरीका आधारमा प्रहरीले दीपेन्द्रलाई साउन ५ गते पक्राउ गर्‍यो।

प्रहरी स्रोतका अनुसार दीपेन्द्रसँग जोडिएका धेरैको ठूलै रकम डुबेको देखिएको छ। उनी प्रक्राउ परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिन आउनेको संख्या बढ्दो छ। दीपेन्द्र पक्राउसँगै प्रहरीका केही अधिकृतको समेत रकम डुबेको खुलेको परिसर स्रोतले जानकारी दियो।

‘हाम्रो संगठनका कतिपय अधिकृतले पनि दीपेन्द्र अग्रवाललाई पक्राउ गरिएको विषयमा चासो राख्नु भएको छ। उहाँहरूले आफ्नो लगानीका कारण चासो राख्नुभएको हो,’ एक प्रहरी अधिकृतले भने।

प्रहरीले ठगी र आपराधिक विश्वासघातमा जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्न म्याद लिएको छ। उनीविरुद्ध अहिले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको उजुरी छ। उजुरी दिने धनुषा घर भएका ६० वर्षीय दिनेश प्रसाद साह हुन्।

२२ नम्बर ब्रोकरविरुद्ध उजुरी हाल्दा आफैं हिरासतमा

सुरुमा दीपेन्द्र नै प्रहरीमा उजुरी दिन पुगेका थिए। उनले आफ्नो रकम ठगिएको भन्दै २२ नम्बर ब्रोकर (सिप्रवी सेक्युरिटी)विरुद्ध उजुरी दिएका थिए। त्यो उजुरी अनुसन्धानका क्रममा दीपेन्द्र नै दोषी देखिएका थिए।

त्यसपछि दिनेशले उजुरी दिए। ‘अनुसन्धान दीपेन्द्र, ब्रोकर कम्पनी र दिनेशमा केन्द्रित छ,’ परिसरका एसपी अपिल बोहराले भने।

प्रहरीको अनुसन्धानमा २२ नम्बर ब्रोकरको कैफियत खुलिसकेको छैन। सेयर किनबेच, कोल्याट्रल रकम र नाफा तीन जनामा घुमेको देखिन्छ। प्रहरीले अहिले यही कारोबारको बैंकिङ ट्रान्जेक्सनलाई केलाएर हेरिरहेको छ।

प्रहरीले हेरिरहेको बैंक खातामध्ये दिनेशबाट १८ करोड रुपैयाँ दीपेन्द्रको विभिन्न बैंक खातामा जम्मा भएको देखिएको छ। जसमध्ये ६ करोड ४५ लाख रुपैयाँ फिर्ता नआएको देखिएको हो।

‘साथै सेयर दिलाएको रकम ११ करोड ५५ लाख पनि सिप्रवीसँग फिर्ता मागिरहेको र उक्त रकम जसको नाममा सेयर गएको छ उसैले तिर्छ भनी सिप्रवीले समेत आफू उपर दाबी गर्न सक्ने अवस्था सिर्जना गरिएको भनी दिनेशले उजुरी दिएका छन्,’ परिसरका एक अधिकृतले भने।

दीपेन्द्रविरुद्ध यसअघि पनि प्रहरीमा उजुरी परेको थियो। ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले दीपेन्द्रले १६ करोड रुपैयाँ नदिएको भन्दै उजुरी दर्ता गराएको थियो।

दीपेन्द्र आफ्नो १० करोड डुब्दा उल्टै थुन्ने भन्दै प्रहरीसँग तर्क गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी थियो। तर, त्यतिखेर दुई पक्षलाई छलफल गराएर पठाइएको थियो।

दीपेन्द्रकी पत्नी र बहिनीविरुद्ध पनि पक्राउ पुर्जी

सिप्ला ठगीमा प्रहरीमा उजुरी पर्दा दीपेन्द्रले पत्नीसँग डिभोर्स भइसकेको तर्क गरेका थिए। तर, उनीहरू सँगै बस्दै आएको देखिएको छ। प्रहरीले जिल्ला अदालतबाट दीपेन्द्रकी पत्नी र बहिनीविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ। तर, उनीहरू पक्राउ परेका छैनन्।

दीपेन्द्रकी पत्नी मिता मुरारका अग्रवाल र बहिनी ज्योति अग्रवालको नाममा रहेको खातामा पनि दिनेशको खाताबाट रकम जम्मा भएको देखिएको छ। मिताको नाममा १ करोड र ज्योतिको नाममा १५ करोड जम्मा भएको देखिएको हो। प्रहरीका अनुसार बाँकी दुई करोड भने दीपेन्द्रको खातामा आएको देखिएको छ।