काठमाडौं। ब्याजदर बढ्ने अपेक्षासहित सरकारी ट्रेजरी लगायत अल्पकालीन उपकरणमा लगानी गरिरहेका ठूला संस्थागत निक्षेपकर्ताले लगानी रणनीति फेर्न थालेका छन्। ठूला संस्थागत निक्षेपकर्ताले रणनीति फेर्दा बैंकिङ प्रणालीमा महिना दिनमै पौने तीन खर्ब निक्षेप थपिन पुगेको छ।
ब्याजदर घटेपछि ट्रेजरी बिल्स लगायत अल्पकालीन उपकरणमा लगानी गरिरहेका संस्थागत निक्षेपकर्ता आम्दानी थप प्रभावित हुने देखिएपछि फेरि मुद्दती निक्षेपतिरै फर्किन थालेका हुन्।
अल्पकालीन उपकरणमा लगानी गर्दा आम्दानी संकुचन हुने निष्कर्षमा बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष ट्रेजरी बिल्स छोडेर मुद्दतीमा ब्याक भएका छन्।
बैंकिङ प्रणालीमा निरन्तर बढेको तरलताका कारण ब्याजदर बढ्ने छाँटकाँट नदेखिएकाले मुद्दतीमा नै लगानी गर्न थालेको संस्थागत निक्षेपकर्ताहरु बताउँछन्। अल्पकालीन उपकरणमा लगानी गर्नुको औचित्य नदखिएको उनीहरुको भनाइ छ।
कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदी ब्याजदर घटिरहेका बेला ट्रेजरी बिल्स लगायत उपकरणमा लगानी गर्दा आम्दानी झनै प्रभावित हुने देखिएपछि मुद्दती निक्षेपमै केन्द्रित भएको बताउँछन्।
‘लामो समयदेखि घट्दै आएको ब्याजदरका कारण हाम्रो आम्दानी निकै संकुचित हुन पुगेको छ,’ सुवेदीले भने, ‘आम्दानी प्रभावित भएकैले हामीले मुद्दतीको ब्याजदर बढ्ने विश्वासमा अल्पकालीन उपकरणमा लगानी गरिरहेका थियौं। तर, अहिलेको अवस्था हेर्दा मुद्दतीको ब्याजदर बढ्ने देखिंदैन। त्यसैले मुद्दतीमा भन्दा कम ब्याज पाउने उपकरणमा लगानी गर्नुको औचित्य देखेनौं।’
ठूला संस्थागत लगानीकर्ताले छोटो अवधिको उपकरणमा गरेको लगानी परिपक्व भएपछि धमाधम मुद्दतीमा राख्न थालेका छन्। त्यही कारण बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप उच्च दरले बढेको छ। गत असारमा मात्रै वाणिज्य बैंकहरुमा २ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
गत आर्थिक वर्ष वाणिज्य बैंकहरुमा निक्षेप साढे १३ प्रतिशतले बढेकामा ४.७५ प्रतिशत असारमा थपिएको हो। असार मसान्तमा आइपुग्दा वाणिज्य बैंकहरुमा कूल निक्षेप ६५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ।
ठूला संस्थागत निक्षेपकर्ताले मुद्दतीमा लगानी गर्ने क्रम बढेकाले असारमा तरलता उच्च दरले बढेको बैंकरहरु बताउँछन्।
‘गत आर्थिक वर्ष ब्याजदर घट्दै आएपछि संस्थागत लगानीकर्ता मुद्दतीमा लगानी कम गरेर ट्रेजरी बिल्स लगायतका इन्स्ट्रुमेन्टतर्फ आकर्षित भएका थिए,’ एक बैंकका सीइओले भने, ‘उनीहरु ब्याजदर बढेपछि मात्र मुद्दतीमा लगानी गर्ने गरी सर्ट टर्म ट्रेजरी बिल्समा गएका थिए। तर, अधिक तरलताले ब्याजदर बढ्ने देखिएन। त्यसैले उनीहरु कम ब्याजदरको अल्पकालीन उपकरण छोडेर असारमा फेरि मुद्दतीमै सिफ्ट भए। त्यही कारण निक्षेप धेरै बढेको हो।’
रेमिटेन्समा वृद्धिले पनि बैंकिङ प्रणालीमा तरलता बढाउन मद्दत गरेको बैंकरहरु बताउँछन्। गत आर्थिक वर्ष ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङले असारमा थपिएको लगानीयोग्य रकममध्ये अधिकांश बचत र १ वर्ष अवधिसम्मको मुद्दती निक्षेप भएको बताए।
‘तरलता निरन्तर बढेर ब्याजदर घटिरहेको छ। यस्तो बेलामा लामो अवधिको फण्ड लिने चाहना हुन्छ,’ खालिङले भने, ‘तर, लामो अवधिको मुद्दतीमा पैसा राख्न कोही इच्छुक देखिंदैनन्।’
एभरेष्ट बैंकले ५ वर्षभन्दा बढी अवधिको संस्थागत मुद्दतीमा ५.३४ प्रतिशत ब्याजदर तोकेको छ। तर, १ वर्षमाथि अवधिका लागि पैसा राख्नेहरु नै नरहेको खालिङले बताए।