वासिङ्टन। एआईको प्रयोगले विभिन्न क्षेत्रका मानिसहरुलाई सूचनाप्रविधि निर्भर काम गर्न जति सजिलो बनाएको छ, त्यति नै जोखिम पनि बढाएको छ। अब कसैको पनि आवाजको नक्कल गर्न सक्ने प्रविधि आइसकेको छ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत सेम एल्टम्यानले कृत्रिम बुद्धिमत्ता(एआई)का उपकरणहरूले कसैको आवाज नक्कल गरेर सुरक्षा जाँच छल्ने र पैसा सार्ने क्षमताका कारण वित्तीय क्षेत्रमा ‘गम्भीर धोखाधडीको समस्या’ आउने चेतावनी दिएका छन्।
एल्टम्यानले मंगलबार वासिङ्टनमा आयोजित अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को सम्मेलनमा एआईको दुरुपयोगप्रति बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सतर्कता अपनाउनुपर्ने भन्दै ध्यानाकर्षण गरे।
‘मलाई सबैभन्दा डर लाग्ने कुरा के हो भने अझै पनि केही वित्तीय संस्थाहरूले आवाजलाई प्रमाणीकरणको रूपमा स्वीकार गरिरहेका छन् भन्ने सुन्न पाइन्छ,’ उनले भने, ‘यो आजको समयमा अझै गरिरहनु पागलपन जस्तै हो। एआईले त्यो पूर्ण रूपमा निष्क्रिय बनाइसकेको छ।’
धनी ग्राहकहरूलाई चिन्ने माध्यमका रूपमा आवाज प्रमाणीकरण (भ्वाइसप्रिन्ट) झन्डै एक दशकअघि लोकप्रिय भएको थियो, जहाँ ग्राहकहरूलाई फोनमा एउटा विशेष वाक्यांश बोल्न भनिन्थ्यो जसको आधारमा उनीहरूको खाता पहुँच खुल्थ्यो।
तर अहिले एआई प्रविधिले मानिसहरूको आवाज (र चाँडै नै भिडियो समेत) नक्कल गर्न सक्छ, जसलाई एल्टम्यानले ‘वास्तविकता र नक्कलीबीचको भिन्नता छुट्याउन गाह्रो हुने’ बताए। अब नयाँ किसिमको प्रमाणीकरण विधि आवश्यक पर्ने उनको भनाइ छ। (एपी)