सन् १९९६ मा नेपाल-भारत वाणिज्य सन्धि हुँदै थियो। यसक्रममा व्यावसायिक वृत्तबाट निकै दौडधुप गरिरहेका प्रभाकर शमशेर राणालाई त्यसबेला आफू संस्थापक अध्यक्ष रहेको नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की)का लागि कार्यकारी व्यवस्थापकको खाँचो उत्तिकै थियो।
दुई देशबीच हुन गैरहेको महत्वपूर्ण सन्धिको पूर्वसन्ध्यामा निक्कीको भूमिका महत्त्वपूर्ण हुने नै भयो। त्यसमाथि निक्कीको व्यवस्थापकीय काम सम्हाल्ने ‘चित्तबुझ्दो’ मानिस नभेट्नुले प्रभाकर शमशेर दबाबमा थिए।
निक्कीले सो पदका लागि आवेदन पनि खुलाएको थियो। तर, दरखास्त दिएका करिब ९० जनामध्ये कसैसँग पनि प्रभाकर शमशेरले चित्त बुझाइरहेका थिएनन्। खै के-के मिलिरहेको थिएन कुन्नि ! नौ महिनाको खोजीमा पनि निक्कीका लागि उनले उपयुक्त पात्र भेटिरहेका थिएनन्।
सन् १९९६ को मे महिनामा भने निक्कीको कार्यकारी व्यवस्थापकका रुपमा नियुक्त भए केशवमान सिंह। उनी पहिलो भेटमै निक्कीका तत्कालीन अध्यक्ष प्रभाकर शमशेर राणाको रोजाइमा परेका थिए।
निक्कीमा प्रवेश गर्नु अघि ११ वर्ष नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको वित्त व्यवस्थापन सम्हालेका केशवमान प्रभाकर शमशेरलाई भेट्न सोल्टी होटल पुगे। त्यहाँ उनीसँग प्रभाकर शमशेरले केही छोटा प्रश्नहरु सोधे। अनि दोस्रो दिनदेखि उनले नेपाल उद्योग वाणिज्य महासंघको भवनभित्र रहेको एउटा कोठाबाट निक्कीको प्रशासन सम्हाले।
आज २९ वर्षपछि निक्कीको नारायणचौरस्थित कार्यालयमा बसेर उनी नियुक्तिको पहिलो दिन सम्झिरहेछन्। ‘शून्यबाट सुरु गरेको हुँ मैले यो संस्था। कार्यालयका नाममा केही थान रजिस्ट्रेसन र मेम्बरसीप फर्मबाहेक मसँग एउटा कलममात्र थियो। तीन-चार दिन प्रभाकर राणासँग बसेर सबै कुराहरु म्यानेज गरेँ। म एकजनाबाट विस्तारै समूह बन्यो। सन्तान जसरी नै हुर्काएको हुँ। सन्तान जस्तै माया लाग्छ निक्कीको,’ उनी केहीबेर भावुक बने।

३० वर्ष पुरानो निक्कीमा उनले सुरुवातदेखि हालसम्मका सबै अध्यक्षहरुसँग काम गरिसकेका छन्। संस्थापक अध्यक्ष प्रभाकर शमशेर राणापछिका अध्यक्षहरु रुक्म शमशेर राणा, अरुणकुमार चौधरी, संजीव केशव, शशीराज पाण्डे, शौर्य राणा, सिर्जना राणा र हाल सुनिल केसीको कार्यकालमा पनि उनै हुन् जो निक्कीको सम्पूर्ण व्यवस्थापन सम्हालिरहेका छन्। यतिका वर्षसम्म एउटै संस्थाको व्यवस्थापकीय नेतृत्व लिएर काम गरिरहेका केशवलाई सबैले उनका दुई खुबीका कारण नै आँखा चिम्लेर विश्वास गर्छन्। कामप्रति इमान्दारिता अनि उनको नैतिक मूल्यका कारण उनी सबैको विश्वासयोग्य बन्न सकेका हुन्।
खण्डहर उद्योग बन्यो थेसिस
केशवको पुर्ख्यौली थलो काठमाडौंको भोटेबहाल हो। उनका माइला बाजे दरबारका काजी थिए। सिंह परिवारहरुको भोटेबहालमा एकै टोलमा बसोबास थियो। केशवका बुवा भने कामका सिलसिलामा विराटनगर पुग्दा उनी २०१६ सालमा उतै जन्मिए। विराटनगरमा जन्मिए पनि उनलाई पूर्वको खासै सम्झना छैन। सानैमा फेरि उनी भोटेबहाल नै फिर्ता भएर ठूलो संयुक्त परिवारमा उनी हुर्किएका हुन्।
सम्पन्न परिवार भएपनि तत्कालीन परिस्थितिमा सिंह खलकको संघर्ष बेग्लै थियो। अलिअलि व्यापार व्यवसाय थियो तर त्यति सफल भएनन् केशवका बुवा। दुई बहिनी र एक भाईका दाजु केशव नेपाल आदर्श माध्यामिक विद्यालय पढ्न थाले। सानैदेखि केशव हरदम पढाइमा मात्र घोत्लिइरहेका हुन्थे। सरस्वती क्याम्पसबाट कलेज थालेका उनले शंकरदेवबाट एमबीए सके।
कलेजमा उनको नोट चर्चित थियो। क्लासमा पढाएको मात्र होइन चार-पाँचवटा किताब खोजेर-पढेर उनले हरेक विषयमा नोट तयार पार्थे। उनको नोट पालैपालो पढ्न साथीहरुको ‘क्यू’ नै लाग्थ्यो। उनमा पढाइको चस्का यस्तो थियो कि दुनियाँदारी सबै बिर्सेर उनी दिनको १८ घण्टा पढाइमा घोत्लिन्थे।
‘लेख्दालेख्दै कलमले च्यापेर चोरी औंलामा सधैं घाउ हुन्थ्यो। किताब खोज्न नोट बनाउन र पढ्नका लागि कहिले ब्रिटिस काउन्सिल कहिले युनिभर्सिटी लाइब्रेरी कहाँ मात्र पुगिन। म दिनरात नभनी लेखपढ गरिरहन्थें,’ उनले बेलिविस्तार लगाए।
प्रभाकर शमशेरले पत्याएर निक्की छिरेका केशवले जीवनका २९ वर्ष यही बिताइसकेका छन्।

हुन पनि जुन काममा लाग्यो त्यसमा असाध्यै समर्पित हुने बानी उनलाई त्यही समयदेखि लागेको थियो जुन आजपर्यन्त छ।
उनले मास्टर्स गरेपछि मात्र घरको जिम्मेवारी उठाएका हुन्। पहिलो दुई वर्ष उनले कलेज पढाए। त्यसपछि उनले गाडी र अन्य उपकरणहरु आयात गर्ने कम्पनीमा जागिर खाए। नेपाल ओरियन्ट म्याग्नेसाइट उनको दोस्रो कार्यालय थियो, जहाँ उनले लगातार ११ वर्ष काम गरे।
नेपालमा विश्वस्तरीय म्याग्नेसाइट बनाउने भन्दै २०३५ सालमा खुलेको उद्योगमा नेपाल सरकार र भारतको उडिसास्थित एक कम्पनीको लगानी थियो। वैदेशिक लगानी भएको उक्त उद्योगले सिन्धुपाल्चोक र दोलखाका ३०० स्थानीयलाई रोजगारी दिएको थियो। त्यो समयमा जर्मन, जापानी र अमेरिकी हाइब्रिड टेक्नोलोजीमा आधारित उक्त उद्योगको फाइनान्स डिपार्टमेन्टमा काम गरे केशवले।
शतप्रतिशत ‘भ्यालू एडिसन’ हुने र शतप्रतिशत निर्यात गरि देशले निकै लाभ लिन सक्ने उद्योगका रुपमा आशा जगाएको परियोजना केशवले देख्दादेख्दै खण्डहर बन्यो। व्यावसायिक उत्पादन नै हुन नपाई धरासायी भएको नेपाल ओरियन्ट प्रालि २०४७ सालमा उनको मास्टर्सको थेसिस समेत बन्यो। २०४१ सालमै मास्टर्स सके पनि उनले थेसिस भने २०४७ सालमा मात्र लेखेका थिए। चरम बेथिति र स्वार्थको द्वन्द्वमा परेर उत्पादन नै हुन नसकी बन्द भएको आफैंले काम गरिरहेको उद्योगलाई उनले थेसिसको विषय बनाए।

जति पनि अध्यक्षहरु आए गए उनीहरु सबैले उनलाई त्यही किसिमको सम्मान गरे किनभने काम गर्नु त्यो पनि पूर्ण इमानदार भएर त्यो नै केशवको विशेषता हो।
संयोग पनि कस्तो बन्यो भने उनको थेसिसको भाइभा लिन आए तत्कालीन उद्योगमन्त्री प्रोफेसर डा. राम राजवाहक। भाइभाको कुरा हुँदै गर्दा राजवाहक त्यसबेला उद्योगमन्त्री नियुक्त भएका थिए। बहालवाला मन्त्रीले त्यसबेला भाइभा लिन आएपछि त्यो बेला चर्चाको विषय पनि बनेको थियो।
‘त्यो उद्योग चलेको भए त के हुन्थ्यो हुन्थ्यो। निर्यातको हिसाबले नेपालको नम्बर १ हुन्थ्यो। तर टेक्नोलोजी फेल भयो भनेर बन्द भयो। ३०० जना स्टाफ पे रोलमा थियो सुरुवातमै। दोलखा र सिन्धुपाल्चोकको अवस्था अहिले कायापलट हुन्थ्यो होला। अहिले त त्यहाँ स्क्रयाप मात्र बाँकी छ,’ उनले भने।
स्टाफ क्वाटर भनेर बनाइएका कोलोनीहरु हेर्दाहेर्दै खण्डहर बनेको सम्झिएर उनी दु:खी हुन्छन्।
ओरियण्ड म्याग्नेसाइट छोडेर होटल सोल्टी ‘ज्वाइन’ गरेका उनकै सहकर्मीले केशवलाई निक्कीको व्यवस्थापन सम्हाल्न उपयुक्त पात्रका रुपमा ‘रेकमेन्ड’ गरेका रहेछन् प्रभाकर शमशेरलाई। प्रभाकर शमशेरले पत्याएर निक्की छिरेका केशवले जीवनका २९ वर्ष यही बिताइसकेका छन्।
भारतमै छ व्यापार निर्भरता तर..
जति पनि अध्यक्षहरु आए गए उनीहरु सबैले उनलाई त्यही किसिमको सम्मान गरे किनभने काम गर्नु त्यो पनि पूर्ण इमानदार भएर त्यो नै केशवको विशेषता हो।
निक्कीको सुरुवात र केशवको आगमन निकै ‘ह्यासल’को समयमा भयो। सन् १९९६ को सन्धि हुँदै थियो। उनी त्यहाँ गएको ४ महिनामात्र भएको थियो। सन्धि भएको समयमा एफएनसीसीआईसँग मिलेर प्रभाकर शमसेर धेरै नै खटेको उनी सम्झन्छन्।
‘सीआईआई र एफएनसीसीआईले कोल्याबरेसनमा काम गर्थे। निक्की स्थापना भएपछि सुरुवातदेखि कै जर्नी एक्साइटिङ भयो। त्यो बेलादेखि निक्कीले एफएनसीसीआई र सीआईआईसँग मिलेर काम गर्यो। त्यो समयको काम हर्कुलस टास्क जस्तै भयो। ऐतिहासिक सन्धि भयो सबैतिरबाट स्वागत भयो। भटाभट उद्योग खुल्न थाले। त्यही बेला हो नेपालमा त्यो स्पिरिटमा वैदेशिक लगानी आएको। अहिले त्यति स्पिरिटमा आउन सकेकै छैन। १९९६ देखि २००२ सम्ममा भएको निर्यातबाट नेपाल निकै उत्साहित पनि थियो,’ उनले पुराना दिन सम्झिए।
भारतमै छ व्यापार निर्भरता। चीनतर्फ पनि हिमाल नभएर मैदान भएको भए यता र उता आधा-आधा व्यापार हुन्थ्यो होला।

सन् १९९६ को वाणिज्य सन्धिपछि नेपालको भारतसँगको व्यापार वृद्धि भएर ५० प्रतिशत भएको थियो। त्यसपछि दुई तिहाइसम्म पुग्यो। सन् २००२ मा सन्धि नवीकरणमा केही दफाहरु संशोधन भएपछि भने नेपालको निर्यात दर खस्कन पुगेको थियो। तर, त्यो बेला भएको निर्यातमध्ये सन्धिको नवीकरण हुँदा केही आइटममा कोटा लाग्न पुग्यो। तेस्रो मुलुकबाट ल्याएर नेपाली भनेर निर्यात भयो भनेर एक्रेलिक यार्न, कपर प्रोडक्ट र वनस्पति घ्यू मा कोटा लाग्यो। त्यसबेला निक्कीले कोटा लागेका सामाग्रीहरुको निर्यातलाई च्यानलाइज गर्न धेरै नै पहल गरेको केशवले बताए।
पुरानो समय उनले यसरी सम्झिए, ‘३-३ महिनाको लागि दिन्थ्यो कोटा। हामीले यसबारेमा वर्क आउट गर्यौं। वाणिज्य मन्त्रालय, वाणिज्य विभाग, भन्सार, उद्योग विभाग, एफएनसीसिआई भारतीय दूतावास सबैसँग समन्वय गर्यौं। टुंगोमा पुर्याउन र आखिरमा मन्त्रिस्तरीय सहमति हुने अवस्था बनाउनसम्म निक्कीको प्रमुख भूमिका थियो। फेयरली काम गर्नेहरुलाई हामीले रेकमेन्ड गरेका थियौं। कोटाहरुको पनि क्राइटेरिया बनाएर उनीहरुले हामीलाई पठाउने र हामीले त्यही अनुसार उद्योगलाई र वाणिज्य विभागलाई रेकमेन्ड गर्ने काम गर्यौं। कसैलाई पक्षपात नगरी फेयरली काम गर्ने निक्कीको नीति थियो । अहिले पनि त्यही नै नीति छ।’
नेपालको वैदेशिक व्यापारको ६४ प्रतिशतभन्दा बढी भारतसँगै हुन्छ। नेपाल-भारत व्यापारलाई करिब ३ दशक निकटबाट नियालेका केशव दुई देशबीच सबैभन्दा धेरै ब्यापार हुनुलाई स्वाभाविक मान्छन्। खुला सीमा, भाषा, पारिवारिक सम्बन्ध, साँस्कृतिक सम्बन्ध, पहिलेदेखि नै भिसा नलिइ आवतजावत स्वतः सम्पर्क बढ्ने नै भयो।
‘भारतमै छ व्यापार निर्भरता। चीनतर्फ पनि हिमाल नभएर मैदान भएको भए यता र उता आधा-आधा व्यापार हुन्थ्यो होला। चीनतर्फ भाषा मिल्दैन, संस्कृति मिल्दैन, भारतसँगै मिल्छ भने भारततर्फ ठूलो व्यापार हुनु स्वाभाविक हो। तेस्रो देशमा निर्यात बढाउन प्रयास भएपनि सफल भएको छैन। खै त भारतबाहेकका देशहरुतर्फ निर्यात बढेको,’- उनी प्रश्न गर्छन्।
तर उनी अब व्यापार विविधीकरण गर्नुपर्छ भन्छन्।

उनले ३० वर्षको नेपाल भारत साझेदारीबारे किताब लेखेर पूरा गरिसकेका छन्। चाँडै नै प्रकाशन हुन लागेको किताबलाई उनले आफ्नै जीवनको दस्तावेज समेत हो भने।

‘नेपालको हाइड्रोपावरको अथाह सम्भावना छ। १० हजार मेगावाट भनेको त सांकेतिक मात्र हो। उद्योगधन्दा चलाएर भन्दा पनि बिजुली बेचेरै हो हामीले व्यापार घाटा कम गर्ने। पूर्ण क्षमतामा बिजुली उत्पादनका लागि लगानी पनि ठूलो लाग्छ। त्यसका लागि वैदेशिक लगानी ल्याउन पर्छ। हिमालपट्टिबाट चीनतिर थोरै जाला तर हामीले धेरै बिजुली बेच्ने त भारतमै हो। तेस्रो मुलुकमा बेच्ने पनि भारतकै बाटो भएर हो। यही क्षेत्रको विकासबाटै भारतसँगको व्यापार घाटा कम गर्न सकिन्छ,’ यो केशवको बुझाइ हो।
तीन दशक, मिसन एउटै
नेपाल र भारतबीचको व्यापार प्रवर्धनमा निक्कीले सधैं उत्प्रेरकको भूमिकामा सफल रही काम गरिरहेको उनी बताउँछन्। केशवले स्थापनाकालदेखि नै निक्कीले गरिरहेको कामलाई किताबका रुपमा सुरक्षित राख्न लागेका छन्।
उनले ३० वर्षको नेपाल भारत साझेदारीबारे किताब लेखेर पूरा गरिसकेका छन्। चाँडै नै प्रकाशन हुन लागेको किताबलाई उनले आफ्नै जीवनको दस्तावेज समेत हो भने।
‘निक्कीले अहिलेसम्म के के गर्यो। नेपाल भारत व्यापारमा ३० वर्षे अवधिमा के के भयो त्यो यो किताबले दर्शाउँछ। सबैका ऐतिहासिक दस्तावेजहरु यसमा छ। मैले यसमा मिहिन तरिकाले काम गरेको छु। यो मेरो जीवनकै दस्तावेज पनि हो,’ उनले जानकारी दिए।
कोरोना भाइरस महामारीको समयमा घरमा बस्दा उनले निक्कीको बारेमा किताब लेख्न थालेका हुन्। यसमा उनलाई छोराले पनि सघाएका छन्। बीचमा ‘ब्रेक’ लिएर उनले नेपाल भारत पर्यटन प्रवर्धन गर्नका लागि निक्कीकै प्रकाशनमा समय दिए। नेपाल र भारतका पाँचवटा धार्मिक सर्किटहरुबारेमा किताब तयार पार्न लामै समय लाग्यो। त्यसपछि उनले ट्रेकिङ सर्किटहरुका बारेमा पनि निक्कीले किताब प्रकाशनको तयारी गरिरहेको छ।

सबैले मलाई यति विश्वास गरे की अन्त अवसर आउँदा पनि म गइन।जिरोबाट यहाँसम्म ल्याएको हो भन्ने सम्झिएपछि अरु केही सोचिन्न रहेछ। शून्यबाट हुर्काएर होला संस्थाको पनि आफ्नो बच्चाको झैं माया लाग्ने रहेछ।
निक्की संस्था दर्ता गर्न बनेको तदर्थ समितिदेखि नयाँ पुस्तासम्म आउँदा सबैसँग उनले संगत गरे। भारतबाट आउने हाई प्रोफाइलहरुलाई होस्ट गर्ने लगायत छलफल र सहजीकरणको वातावरण निक्कीले तयार पार्थ्यो जसमा उनकै संलग्नता हुन्थ्यो। यति धेरै हाइप्रोफाइलसँग काम गरे पनि केशवमा त्यसको दम्भ देखिँदैन। उनी त चुपचाप आफ्नो काम गरिरहन्छन्। जस लिने कुरामा विश्वास गर्दैनन्।
‘१९९६ को ट्रिटी, १९९९ को ट्रान्जिट ट्रिटी, पावर ट्रेड एग्रिमेन्ट, टुरिजम् एग्रिमेन्ट सबैमा निक्कीको संलग्नता छ। संकटकालमा पनि हामीले सेक्युरिटी कन्सर्नका कुरा हुन्थ्यो सबै बाइ-नेशनल चेम्बरको फोकल चैं हामी नै थियौं। सबैसँग कोअर्डिनेट गराइदिने काम मैले नै गर्थें। निक्कीले सफलता पाउनु र यो सबै सिस्टममा जानु भनेकै मेरो पनि सफलता हो। अब आउने किताबले नै भन्छ निक्कीले के गर्यो अनि मैले सँगै रहेर केमा साथ दिएँ।’-उनी आफ्नो अस्तित्व निक्कीबाट छुटाएर हेर्न सक्दैनन्।
कहिलेकाहीँ केशवलाई लाग्छ तीन दशक उनले एउटै मिसनमा कसरी काम गरे होलान्। यतिको जिम्मेवारी कसरी पूरा गरे होलान्। फेरि सम्झन्छन् विश्वास नै सबैभन्दा ठूलो कुरा हो। उनीमाथि जसजसले विश्वास गरे, निक्कीको मियोका रुपमा उनलाई राखे त्यही विश्वासले पनि उनलाई यहाँबाट बाहिरिन दिएन।
निक्कीमा जोडिएपछि एकोहोरो यसैको व्यवस्थापनमा लागिपरेका केशव भावुक बन्छन्, ‘दायाँबायाँ मैले कहिल्यै गरिन। काम भन्दा अरु कुरा सोचिन। सबैले मलाई यति विश्वास गरे की अन्त अवसर आउँदा पनि म गइन। जिरोबाट यहाँसम्म ल्याएको हो भन्ने सम्झिएपछि अरु केही सोचिन्न रहेछ। शून्यबाट हुर्काएर होला संस्थाको पनि आफ्नो बच्चाको झैं माया लाग्ने रहेछ।’