मनाङ। हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन संख्या बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य ६ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ।
उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्यांकअनुसार तीमध्ये सार्क राष्ट्रका २ हजार ५ सय ५४ र अन्य राष्ट्रका ३५ हजार १ सय ७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। आव २०८१/८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेका छन्।
सबैभन्दा बढी इजरायलका ४ हजार ३५८ जनाले मनाङ भ्रमण गरेका भुजेलले बताए। फ्रान्सका २ हजार ६१६ र जर्मनीका २ हजार ८४२ जनाले भ्रमण गरेका छन्। गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको देखिएको छ।
आव २०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटक मनाङ आएका थिए। उक्त वर्ष फ्रान्सेली बढी आएको तथ्यांकमा छ। ‘यहाँ पर्यटकको आगमन बढ्ने क्रममा छ। पर्यटक आउँदा यहाँको आर्थिक स्तरमा सकारात्मक असर छ,’ प्रमुख भुजेलले भने।
विश्वको १०औं स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण सर्किट मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दो छ। उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका बढी आउने गरेका छन्। अमेरिकी, चिनियाँ, रसियन, भारतीय पर्यटक आउने क्रम बढ्दो छ।’
नेपालका हिमाली जिल्लामध्ये हिमालपारिका मनाङ र मुस्ताङको भूगोल केही फरक छ। त्यसैले पदयात्रा रुचाउनेहरु यी जिल्ला पुग्छन्। आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले बताए।
‘तीन/चार दिन लगातार बिदा परेको बेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौं। नेपालीको पनि घुम्ने बानी बढेको छ। मनाङ आन्तरिक पर्यटकको रोजाइमा छ,’ उनले भने। एक्यापले आन्तरिक पर्यटकको भने अभिलेख राख्ने गरेको छैन।
मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन्। आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ-९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए।
लामो बिदा परेका बेला आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उनले सुनाए। कोभिड महामारी र २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आवागमनमा वृद्धि भएको छ। हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ।
अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेंसीसहर-७ मनाङे चौताराबाट यात्रा सुरु हुन्छ। अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ। काठमाडौंदेखि बेंसीसहरसम्म गाडीमा आउने पर्यटक त्यसपछि भने हिँड्न रुचाउँछन्। पछिल्लो समय सडक सहजताले गाडी चामे, खाङ्सारसम्म पुग्ने गरेको छ। त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन्। रासस