BIZMANDU
www.bizmandu.com

एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा, विद्या भण्डारीको सदस्यताबारे के निर्णय आउला ?

२०८२ साउन ५

एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा, विद्या भण्डारीको सदस्यताबारे के निर्णय आउला ?
एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा, विद्या भण्डारीको सदस्यताबारे के निर्णय आउला ?

काठमाडौं। सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

Tata
GBIME
Nepal Life

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीति, सरकारको एक वर्ष, पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन्।

बैठकमा केन्द्रीय सदस्यहरुले विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्ने छन्। उनीहरुलाई तीन मिनेटका दरले समय छुट्याइएको छ।

पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने तथा ७० वर्षको उमेर हद हटाउने प्रस्ताव साउन ३ गतेको पोलिटब्युरो बैठकबाट पारित भएको थियो। यस्तै अध्यक्ष लगायत पदमा दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पनि पोलिटब्युरो बैठकबाट केन्द्रीय कमिटीमा पुगेको छ।

मंगलबारसम्म चल्ने बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीति गर्न दिने/नदिने विषयमा निर्णय गर्ने भनिएको छ।

भण्डारीले एमाले अध्यक्ष बन्ने चाहनासहित पार्टी सदस्यता नवीकरण गरेकामा उनलाई ओलीले रोक्न चाहेका छन्। त्यही कारण उनले भण्डारीको सदस्यता नवीकरण अहिले पेण्डिङमा रहेको पोलिटब्युरो बैठकमा नै बताएका छन्।

यस विषयलाई लिएर पार्टीभित्र विवाद बढेपछि भण्डारी र ओलीले आइतबार पार्टी कार्यालयमा डेढ घण्टा वार्ता गरेका थिए।

ओलीसँग वार्ता गरेर निस्किने क्रममा भण्डारीले पार्टी सदस्यता आफूले पहिले नै नवीकरण गरिसकेको बताएकी थिइन्। यो पृष्ठभूमिमा खासगरी एमालेका कार्यकर्ताले केन्द्रीय कमिटीको बैठकलाई चासोपूर्वक लिएका छन्।