काठमाडौं। विद्युत विकास विभागले बिहिबार आफ्नो ३२औं वार्षिकोत्सवमा अवसरमा काठमाडौंको एउटा पाँच तारे होटलमा भव्य कार्यक्रम गर्यो।
कार्यक्रममा ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका उच्च अधिकृतदेखि ऊर्जा उद्यमीहरु ठूलो संख्यामा उपस्थित थिए। साँझको ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य पनि सहभागी थिए।
मन्त्री खड्का र सचिव आचार्य पूर्वसचिवहरुसँग गफिइरहेका बेला होटलको हल अचानक अन्कारमय भयो।
बिजुली गएपछि हलमा सानो स्वरमा कसैले भन्यो, ‘मन्त्रीज्यूलाई पनि गाह्रो छ। २ घण्टा पहिले बत्ती गएको प्रचार गलत हो, जाँदै जाँदैन भन्दै हुनुहन्थ्यो। अहिले सयौं मान्छेको बीचमा उहाँ आफैं अन्धकारको साक्षी हुनुभयो।’
हलमा बिजुली आउन ४ मिनेट लाग्यो। उज्यालो भएपछि सबै आ आफ्नै तालमा रमाउन लागे। त्यसको करिब २० मिनेटपछि फेरि झ्याप्प बत्ती गयो। यसपटक होटलले कार्यक्रममा सहभागीलाई लामो समय अन्धकारमा राखेन। ब्याकअपका कारण उज्यालो भयो।
मन्त्री खड्काले होटलमा पुग्नु ठिक २ घण्टा पहिले अपराह्न ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिजुलीका बारेमा गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेका थिए। उनले मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्षमा आफूले अहोरात्र काम गरेर बिद्युत आपूर्तिमा धेरै सुधार गरेको दाबी सुनाएका थिए।
‘उसो भए बत्ती किन झ्यापझ्याप गइरहेको छ त?’ भन्ने प्रश्नमा खड्काले ‘झ्यापझ्याप बत्ती जानुलाई लोडसेडिङ भन्नु भएन। यो ट्रिपिङ हो। ट्रान्सफर्मर पड्किंदा कहिलेकाही बिजुली जानु स्वाभाविक हो। बिजुली आपूर्तिमा कुनै समस्या छैन’ भनेका थिए।
मन्त्रीको जवाफ सुनेपछि सञ्चारकर्मीले थप प्रश्न गरे, ‘गत वर्ष त अहिलेजस्तो दिनमै ५/६ पटक बिजुली जाने समस्या थिएन न?’
यो प्रश्नमा मन्त्रीले ‘त्यो तपाइँहरुले बिर्सिएर हो। अघिल्लो वर्ष साढे ७ सय घण्टा बिजुली गएको रहेछ। मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि त्यसलाई ६ सय घण्टाभन्दा तल झारेको छ’ भनी जवाफ फर्काए।
++++
मुलुकमा हाल विद्युत उत्पादन मागभन्दा बढी छ। वर्षाले खोलामा वानीको सतह बढेका कारण सबैजसो आयोजना पूर्ण क्षमतामा चलिरहेका छन्। विद्युत जडित क्षमता ३५०० मेगावाट नाघेको छ। बाढीले क्षतिग्रस्त भएका रसुवागढी लगायत केही आयोजना बन्द रहे पनि अहिले बिजुली छेलोखेलो छ।
नेपालमा अधिकांश जलविद्युत आयोजना नदी प्रवाह (रन अफ द रिभर)मा आधारित छ। जसले गर्दा हिउँद र वर्षातको समयमा बिजुली उत्पादनको परिमाणमा फराकिलो खाडल छ। हिउँदमा खोलामा पानीको सतह घट्दा बिजुली उत्पादन एक तिहाइमा सीमित हुन्छ। जसले गर्दा त्यतिखेर आन्तरिक माग धान्न भारतबाट आयात गर्ने गरिन्छ।
वर्षामा पूर्ण क्षमतामा उत्पादन हुन्छ। उत्पादित बिजुली सबै देशभित्र खपत नहुने भएकाले भारत र बंगलादेश निर्यात गर्ने गरिएको छ।
अहिले ३२०० मेगावाट बिजुली उत्पादन भइरहेको छ। विद्युतको औसत माग १८०० देखि १९०० मेगावाट हाराहारी छ। माग पिक आवरमा २२ सय मेगावाट हाराहारी पुग्छ।
पिक आवरको मागभन्दा नै १००० मेगावाट बढी बिजुली उत्पादन भइरहँदा पनि देशैभर लाइन झ्यापझ्याप जाने समस्या हटेको छैन। गुणस्तरीय ऊर्जा आपूर्तिको वाचाबाट प्राधिकरण पछि हटेको देखिएको छ।
नेपाल विद्युत प्राधिकरणले अहिले भारत र बंगलादेशलाई ७०० मेगावाट बिजुली निर्यात गरिरहेको छ। यति हुँदा पनि दैनिक ५०० मेगावाटभन्दा बढी बिजुली खेर गइरहेको छ।
त्यसो भए झ्याप्पझ्याप्प किन बिजुली गइरहेको छ त? प्राधिकरणका अधिकारीहरु जवाफ दिँदै हैरान छन्। प्राधिकरण प्रवक्ता राजन ढकाल ट्रिपिङको समसम्यामा प्रणालीलाई दोष दिन्छन्।
‘त्रिशूली-थ्री बी सवस्टेसन बन्द हँदा करिब २६० मेगावाट बिजुली आपूर्ति बन्द भएको छ। त्यसबाहेक हावाहुरीले बेला बेला प्रसारणलाइनमा डिस्टर्ब हुने गरेको छ,’ ढकालले भने, ‘त्यसले गर्दा पनि लोड व्यवस्थापनमा केही समस्या भयो। ट्रिपिङ हुन नदिन हामीले काम गरिरहेका छौं।’

असार २४ गतेको बाढीले क्षति पुर्याउँदा त्रिशूली-३ ‘बी’ सवस्टेसन बन्द छ। यो प्रसारण लाइनबाट काठमाडौं उपत्यका करिब २६० मेगावाट बिजुली आपूर्ति हुँदै आएको थियो। विकल्पमा खिम्ती लगायत अन्य करिडोरबाट काठमाडौं उपत्यकामा बिजुली आपूर्ति गरिरहेको ढकालले बताए।
ढकालले समस्या समाधानको प्रयास भइरहेको भने पनि विद्युत आपूर्ति अनियमित हुँदा प्राधिकरणको आलोचना बढिरहेको छ। केही दिनयता काठमाडौं उपत्यकामा लाइन बारम्बार गइरहेको छ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ प्रणाली कमजोर भएका कारण बारम्बार ट्रिपिङको समस्या दोहोरिएको बताउँछन्।
‘एक त हाम्रो सिस्टम विक छ। अर्को कुरा मुसलधारे पानी पर्दा कतिपय ठाउँमा रुख ढलेर तारमा पर्ने, हावाहुरी आएर तार चुँडिने जस्ता कारण पावर सर्ट हुने लगायत कारणले बिजुली अवरुद्ध हुन्छ,’ उनले भने।