काठमाडौं। जल तथा मौसम विज्ञान विभागले शनिबार, आइतबार र सोमबार देशभर अत्यधिक वर्षा हुने र आइतबारदेखि मंगलबारसम्म नदीहरुमा जलस्तर उच्च भएर विन्दु पार गर्ने चेतावनी दिएपछि जलविद्युत आयोजनाहरुलाई इप्पानले सतर्क गराएको छ। सम्भावित क्षतिबाट जोगिन सम्बद्ध सबैलाई इप्पानले पूर्वतयारीका साथै सूचना आदान प्रदान गर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता अनुसार विभागले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) लाई पूर्वतयारीका लागि अनुरोधसमेत गरेको अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाद्वारा हस्ताक्षरमा शनिबार जारी विज्ञप्तिमा छ।
‘विभागका अनुसार साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ। पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ। कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
मुलुकका अधिकांश आयोजना नदिको बहावमा आधारित भएकाले खोलानदिमै बनाइएका छन्। जलस्तर बढ्दा पूर्ण क्षमतामा उत्पादन लिन सकिने भए पनि खोलानालाको जलस्तर अत्यधिक हुँदा क्षतिको जोखिम उच्च रहन्छ।
‘पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ। ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटिय क्षेत्रमा बाढी आउनसक्ने सम्भावना उच्च रहेको विभागले जनाएको छ,’ इप्पानले भनेको छ।
इप्पानका अनुसार यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ, जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ। पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा साउन ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको विभागले जानकारी दिएको छ। यद्यपि, मौसमको अवस्था केही अनिश्चित भएकाले पूर्वतयारीका प्रारम्भिक कार्यहरू अघि बढाउनु अघि हरेक १२ घण्टामा एकपटक मौसम सम्बन्धी अपडेट लिनु अत्यन्त जरुरी रहेको पनि विभागले उल्लेख गरेको छ।
‘मौसम सम्बन्धी सूचनाहरु लिएर देशभरका सबै निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुलाई विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन हुन इप्पान सबैमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरुमा ठूलो क्षति पुर्याएको थियो। उक्त घटनाका साथै विगतका वर्षहरुमा पनि बाढी पहिरोले जलविद्युत आयोजना निर्माणमा संग्लग्न धेरै कर्मचारीहरुले ज्यान गुमाउनुका साथै आयोजनामा निकै ठूलो भौतिक क्षति भई वर्षौंसम्म विद्युत उत्पादन बन्द गर्नुपरेको सबैलाई अवगत भएको स्मरण इप्पानले गराएको छ।
‘विपद्को बेलामा सबैभन्दा पहिला मानवीय क्षति हुन नदिन जलविद्युत आयोजनाका प्रवर्द्धकहरुलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि सबै नदि करिडोरका माथिल्लो भागमा निर्माण भएका जलविद्युत आयोजनाहरुले बाढी आएको देखिसकेपछि तल्लो तटीय क्षेत्रमा निर्माण भएका आयोजनाहरुलाई समयमै बाढीको सूचना दिएर सञ्चालनमा रहेका आयोजनाहरु भए विद्युत प्राधिकरणलाई समेत सोको जानकारी गराई आयोजनाका गेटहरु बन्द गरी सुरक्षित स्थानमा जानका लागि सहकार्य गर्न हुन पनि सबै जलविद्युत प्रवर्द्धकहरुसँग आग्रह गर्दछौं।’
बाढी आएको सूचना सबैभन्दा पहिला मौसम विज्ञान विभागका गेज स्टेसनमा बस्ने कर्मचारीहरुलाई प्राप्त हुने हुँदा आयोजनाका जिम्मेवार व्यक्तिहरुले उनीहरुसँग समन्वय गरी नदी करिडोरका बासिन्दाको जिउधनको सुरक्षाको लागि समेत स्थानीय स्तरमा सूचनाको आदानप्रदान गर्न संस्थाले जलविद्युत प्रवर्द्धकहरुलाई आग्रह गरेको छ।