दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा साहसिक स्काइ वाक व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। गत जेठ दोस्रो सातादेखि पूर्वाधार निर्माण थालिएको स्काइवाक शनिबारदेखि पर्यटकका लागि खुला गरिएको हो।
स्काइ वाकका लागि प्रतिव्यक्ति शुल्क २५० रुपैयाँ तोकिएको छ । ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। निर्माणमा १५ लाख रुपैयाँ लगानी भएको छ।
५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ। ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ,’ अध्यक्ष चुमानले भने, ‘सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन।’
यो ठाउँ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले पूर्वाधार थप गरिएको उनले बताए। स्काइ वाकले पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
पृथ्वीराजमार्गसँगै जोडिएको यो ठाउँ पर्यटकका लागि घुमघाममा पुग्ने गन्तव्यका रुपमा विकास भएको छ। बिदा र शनिबार दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटक आउने गरेको आँबुखैरेनी-२ का वडाध्यक्ष आशबहादुर गुरुङले बताए।
ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यो ठाउँ पर्यटकको रोजाइमा परेको छ। उनले भने, ‘गाउँपालिकाले यो ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ। राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ।’
ऐनापहराबाट गाउँपालिकाले ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ। राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ। यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरनानजिक चट्टानमा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ।
तनहुँकै अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ। ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरिएको जनाएको छ। यस ठाउँलाई व्यवस्थित गर्न आयोजनाको विस्तृत प्रतिवेदनअनुसार १० करोडको बजेट आवश्यक पर्छ। प्रतिवेदनअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ। रासस