फरक भूगोलमा कुनै नेपालीको त्यस्तो पसल, जसले एक हजार वर्षदेखि निरन्तरता पाउँछ भने त्यसले व्यापारिक कारोबारको कति बृहत्तर इतिहास बोकेको होला? नेपालभित्रै हामीसँग त्यस्तो व्यावसायिक विरासत बोकेको दोकानका कथा लिखितमा पाउन कठिन छ। त्यसमाथि हिमाल पारिको मुलुक अर्थात् भोटको सन्दर्भ। २०१८ सालमा गरिएको एउटा अध्ययनले भोटमा नेपालीको एक हजार वर्षभन्दा अघिदेखि निरन्तर चलिरहेको पसल फेला पर्नु र त्यहाँका ‘मारवाडी’का रूपमा नेवारहरूको पहिचान स्थापित हुनु नेपालीका लागि रोचक सन्दर्भ हुने नै भए।
त्यसो त उत्तरको भोटसँग नेपाल सम्बन्धका आयामहरू धेरै छन्। चीनको नियन्त्रण पूर्व, नियन्त्रणपछि र पछिल्लो अवस्थामा हामीले फरक पहिचानसहित चिन्ने प्रयासमा छौं हामी। भोटपछि तिब्बत र अहिले सी जाङ। हामीले परापूर्वदेखि जानेको भोटलाई बिचमा तिब्बतका रूपमा चिन्यौँ अहिले चीनको मेनल्यान्डले चिनाइरहेको छ – सी जाङ भन्दै। उत्तरको भोटसँग हाम्रो नाता परापूर्वकालदेखि नै व्यापार र बुद्ध धर्मले जोडिरह्यो।
सामरिक महत्त्वका हिसाबले सधैं ‘संवेदनशील’ रहँदै आएको हिमाल पारिको भूगोलमाथिका कौतुहलता कैयन छन्। तिनलाई सम्बोधन गर्दै पछिल्ला दिनमा भोटका विषय जोडिएका पुस्तक थपिँदा नयाँ पुराना सन्दर्भ एकाकार भइरहेका छन्। यस्ता सामग्रीले हाम्रो उत्तर तिरको छिमेकलाई बुझ्न सहयोग पुर्याउँछ। सुधीर शर्माको पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ले व्यापारिक, कूटनीतिक र सांस्कृतिक परिवेशलाई पस्केको छ।
यो पुस्तकले सुरुमै कारोबारको सन्दर्भ जोड्छ। भोटसँग नेपालको नातालाई यहाँका नेवारले जोडेका थिए। अहिले पनि त्यसको झल्को नेपाली सीमा कटेर ३० किलोमिटर परको केरुङ पुग्दा साक्षात्कार हुन्छ। एउटा सानो गाउँ केरुङमा एउटा गुम्बा छ। गुम्बामा रहेको मानेमा कुँदिएका तिब्बती र रञ्जना लिपिका श्लोकले अझै पनि बयान गरिरहेको हुन्छ – दुई देशको सम्बन्ध। अहिले पनि केरुङको बजारमा नेपाली कारोबारी भेटिन्छन्। नेपाली नोट निर्वाध चल्छ। र, अधिकांश पसलमा नेपाली अथवा नेपालबाट गएका उत्पादन भेटिन्छन्।

चौधरी ग्रुपको वाइवाइ चाउचाउ होस् या भारतीय बाल्ट्राका थर्मस, केरुङका पसलमा जताततै भेटिन्छन्। अझै नेपाली भाषा बुझ्ने रैथाने छन् त्यहाँ। पूरै युरोपेली सहर बिर्साउने सीमावर्ती सानो गाउँमा भन्दा कम चमकधमक थिएन ल्हासामा। हामीले ‘ल्हासा’ लेख्छौँ, शर्माले उनीहरूकै उच्चारणलाई लिएर ‘ह्लासा’ लेखेका छन् पुस्तकमा। पुस्तकले भोटको ल्हासा हुँदै बेइजिङसम्म तन्किएको संस्कृति, कूटनीति र व्यापारको ऐतिहासिक पक्ष समेट्छ। त्यसलाई समकालीन राजनीतिसम्म ल्याउँछ र नेपालप्रति चिनियाँ दृष्टिकोण बुझ्न सघाउँछ।
२०१५ सालसम्म नेवा: व्यापारीको जगजगी थियो ल्हास्सामा। नेपालबाट खाद्यान्नदेखि विदेशी ब्रान्डका सामग्री नेपालीकै पसलमा उपलब्ध हुन्थ्यो। त्यतिखेर हिमाल पारीबाट आएका व्यापारीको क्रेज लोभलाग्दो देखिन्छ। राहुल साङ्कृत्यायनलाई उद्धृत गर्दै शर्मा लेख्छन्, ‘ह्लास्साका मारवाडी भनेका नेपाली हुन्; उनीहरूको एउटै कोठीमा लाखौंका सामान हुन्छन्।’ साङ्कृत्यायनले १९८६ देखि तिब्बतको अवलोकनपछि यस्तो निष्कर्ष निकालेका थिए। शर्मा तिनै सन्दर्भ जोड्दै लेख्छन्, ‘चीन सरकारले २०१८ सालमा गरेको एउटा सर्वेक्षणका क्रममा असामान्य तथ्य फेला परेको थियो।
ह्लास्साको एउटा नेपाली पसल त हजार वर्षभन्दा पहिले खोलिएको र त्यो सर्वेक्षणताका समेत यथावत् चलिरहेको रहेछ। त्यसबाहेक तीन वटा नेपाली पसल ५०० देखि हजार वर्ष पुराना, चार वटा २०० देखि ५०० वर्ष पहिलेका र ४१ पसल विसं १९०८ देखि २००८ का बिचमा खोलिएको पाइएको थियो।’ यसकै असर हो ल्हासामा सम्भ्रान्त वर्गको पहिचान ‘नेपाली’लाई मिल्थ्यो। शर्माले काठमाडौंका तीन सहरको भव्यतालाई तिब्बतसँगको व्यापार नै आधार मानेका छन्।
भोटसँगको कारोबारले यहाँको समृद्धिलाई जगमग बनाएको थियो। त्यसो त आधुनिक इतिहासको कालखण्डमा तिब्बतबाट कच्चा सुन ल्याउने परम्परा शाहकालसम्मै पाइन्छ। १४ सय वर्षअघि राजा नरेन्द्र देवका पालामा सुरु भएको भोट व्यापारलाई शर्माले इतिहासको अवशेषका रूपमा अर्थ्याइएका छन्।

तिब्बतसँगको व्यापारिक कारोबारका कारण कतिपय विषयमा नेपाल बाँकी विश्वभन्दा निकै अगाडि देखिन्छ। जस्तो कि १२ औँ शताब्दीमा युरोपमा कागज उत्पादन हुन थाल्यो, जुन नेपालमा त्यहाँ ५ सय वर्ष अर्थात् सातौँ शताब्दीमा नै हुन्थ्यो। यस्ता तथ्यहरूलाई शर्माले विभिन्न दस्ताबेजबाट एकीकृत गरेर व्याख्या गरेका छन्। व्यावसायिक सम्बन्धका अलावा यहाँका शासकले तिब्बत र चीनसँग कायम गरेका सम्बन्ध होस् या भोटसँग मिलेर भारतसँगको युद्धका सन्दर्भ, रोचक लाग्छन्। ‘हाम्रो साथमा चीन छ’ भन्ने देखाएर मुलुकमाथि बेलायती प्रभाव कम गर्न चिनिया बादशाहको पत्रलाई सलामी दिने काठमाडौंको कूटनीति उदाहरणीय लाग्छ।
शर्माले शासक अनुसार कूटनीतिक प्रयास र प्रभावको मूल्यांकन गरेका छन्। राणा शासकमध्ये पनि जंगबहादुर र चन्द्र शमशेरसम्म, महेन्द्रदेखि ज्ञानेन्द्रसम्म, गिरिजाप्रसाददेखि मनमोहनसम्म चिनियाँ दृष्टिकोण रोचक लाग्छ। शर्माका अनुसार चन्द्र शमशेरको पालामा आएर बेलायत र चीन दुवैसँग कूटनीतिक सम्बन्ध पुरानै अवस्थामा चलेन। तिब्बतमा रुसी प्रभाव बढेको बेलायती शंकालाई पुष्टि गर्न चन्द्रशमशेरले जस्तो भूमिका खेले। त्यसबाट तिब्बत नेपालसँग टाढियो भने अङ्ग्रेजले सिक्किम नाथुलाबाट चीनतिर पाइला चाल्न थाले। त्यसको असर चीनले तिब्बतमा नेपाली अधिकारी र व्यापारीमाथिको सुविधा क्रमशः कटौती गर्दै लग्यो।

त्यस्तै, नेपाल र तिब्बत बिचको युद्धमा गोर्खाली सेनाले गरेको लुटपाटदेखि युद्धमा चीन जोडिएको सन्दर्भले अहिले कायम नेपालको उत्तरी भेगको सीमांकन बुझ्न सघाउँछ। एकातिर बेलायतीको बढ्दो प्रभाव, अर्कातिर चीनको। ठिक त्यतिखेर नेपाल आफैं विस्तार अभियानमा। यिनै सन्दर्भमा बेत्रावतीमा चीनसँग भएको सम्झौताले नेपालको अहिलेको सीमा स्थापित गर्छ। शर्माले नेपाल-भोट-चीन युद्धमा सबैभन्दा धेरै क्षति तिब्बतमाथि परेको टिप्पणी गरेका छन्। त्यस युद्धपछि तिब्बतमाथि चीनको प्रभाव बढ्न थाल्यो। त्यही युद्धले बेलायत नेपाल पस्ने वातावरण बन्यो। बेलायतीहरूको चीनतिर नजिक हुनका लागि नेपाल प्रमुख आधार हुन सक्थ्यो। सम्पन्नता र जनसङ्ख्याका आधारमा पनि सबैभन्दा ठूलो मुलुक भएकाले त्यहाँ व्यावसायिक कारोबारका लागि बाटो खोल्ने रणनीति बेलायतीको थियो।
व्यापारसँगै नेपालको भोट नाता धर्मले जोड्यो। त्यसको केन्द्रमा रहे बौद्धमार्गी। अफगान शासक बख्तियार खिल्जीले भारतमा नरसंहारसँगै नालन्दा जस्ता शैक्षिक केन्द्र तहसनहस पारेपछि त्यहाँका ग्रन्थ जोगाउन नेपाल र तिब्बतसम्म पुगे शाक्य श्रीभद्रहरू। नालन्दाको पतनपछि काठमाडौं उपत्यकाको महत्त्व बढेको शर्माले व्याख्या गरेका छन्। बुद्ध धर्म अन्तर्गतको वज्रयान धार नेपालबाट नै विस्तार भयो। आठौं शताब्दीमा पद्म सम्भव अर्थात् गुरु रिम्पोछे नेपाल हुँदै तिब्बत पुगे। तिब्बतमा उनको प्रभाव अझैसम्म उत्तिकै देखिन्छ। त्यहाँका बोन धर्मावलम्बीलाई पद्म सम्भवले बुद्धमार्ग बनाउन सबैभन्दा बढी भूमिका खेलेको देखिन्छ।

धर्म र साम्यवाद विपरीत ध्रुव। तर, नेपालको सन्दर्भमा बौद्धमार्गीको कम्युनिष्ट कनेक्सन केलाएका छन् शर्माले। राहुल साङ्कृत्यायनदेखि भिक्षु अश्व घोषसम्म जोड्दै तिब्बतमा रहेका नेपाली व्यवसायीको कम्युनिस्ट कनेक्सन पुस्तकको रोचक पक्ष हो। यहाँ धर्म, व्यापार र कम्युनिजमको समागम हुन पुग्छ। २००७ सालको क्रान्तिपछिको सम्झौता विरुद्ध विद्रोह गरेका के आई सिंह र चीनले दिएको शरण होस् या नेपाल फर्किएपछि चीन विरोधी बनेका विषय, राजनीतिमा रुचि राख्नेका लागि गहकिलो सन्दर्भ भेटिन्छ। जस्तो कि के आई सिंह र गौरीभक्त प्रधानदेखि मनमोहन अधिकारीसहित औपचारिक रूपमा चीन भ्रमण गएका नेपालका कम्युनिष्टलाई चीनले क्रान्ति र हतियारका लागि साथ नदिएको विषय। तर, उनीहरूले आर्थिक सहयोग पाएको शम्भुराम श्रेष्ठलाई उद्धृत गर्दै शर्माले लेखेका छन्।
‘२०१३-१७ सालको अवधिमा नेपाली कम्युनिस्ट नेताहरूका निम्ति चीन राजनीतिक तीर्थ झैँ बनेको थियो। तर महेन्द्रले २०१७ सालमा सत्ता हत्याएपछि चाहिँ चीनले नेकपासँग घोषित सम्बन्ध राखिरहन चाहेन।…माओका निम्ति महेन्द्र प्यारो भइसकेका थिए, आफूलाई आदर्श मान्ने कम्युनिस्टहरूभन्दा।’
भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न गरेको प्रयासका आधारमा राजा महेन्द्रको भूमिकालाई शर्माले ‘नेपाली कूटनीतिका आर्किटेक्ट’ भनेका छन्। यद्यपि, महेन्द्रका ‘गाउँ फर्क’ जस्ता अभियान माओ त्सेतुङको सांस्कृतिक …को नक्कलका रूपमा अर्थ्याइएको छ। चीनबाट नेपालमा कोदारी राजमार्ग बनाउन आएका चिनियाँ सैनिकले नेपालमा माओको प्रचार कसरी गरे भन्ने विषयलाई पनि शर्माले महत्त्वका साथ उठाएका छन्।
चीनबाट नेपालमा विकाससँगै राजनीतिक विचार पनि आयो र राजा महेन्द्रले त्यसलाई रोक्नका लागि गरेका पहलकदमीका सन्दर्भ रोचक छन्। खम्पा विद्रोहीलाई नेपालमा अनदेखा गरेर अमेरिकी-भारतीय स्वार्थ अनुकूल तिब्बतमा विद्रोह गराउँदा पञ्चायती व्यवस्थालाई आड मिल्ने रणनीतिसहित महेन्द्रले यस कदम चालेको धेरै खाले स्रोतबाट पुस्तकमा स्थापित गरिएको छ।

चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेबापत प्रशंसित अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले खम्पा विद्रोहबाट प्रतिफल नपाउने आकलन गरेपछि लडाकुलाई व्यवस्थापन गर्न पुनर्वास र रोजगारीको व्यवस्था लागू गरेका थिए। त्यसैको प्रतिफल थियो – नेपालमा तिब्बती गलैँचा उत्पादन। शर्मा लेख्छन्, ‘गलैँचा उद्योग अझैसम्म नेपाली उद्यमको एउटा प्रमुख चिनारी बनेको छ, जसको सुरुआती प्रवर्द्धक न सीआइए-लगानीबाट भएको थियो भन्ने तथ्य चाहिँ थोरैको जानकारीमा मात्र होला।’
राजा वीरेन्द्रको चीनतर्फको झुकावलाई लिएर शर्माले महेन्द्रको तुलनामा कमजोर कूटनीतिज्ञका रूपमा अर्थ्याइएका छन्। पाकिस्तानबाट विभाजित भएर बंगलादेश बन्दा भारतको भूमिका र सिक्किम भारतमा विलय भएको परिस्थितिमा राजा वीरेन्द्र चीनको भरोसामा परेका थिए। भारतीय त्रासले चीनसँग नजिक पुर्याए पनि भारत र चीनबिच दौत्य सम्बन्ध सुधारिँदा साथ चीनले नेपाललाई साथ नदिएको सन्दर्भले – चीनको स्वार्थ पूर्ण कूटनीतिक सम्बन्धको चित्रण गर्छ।
शर्माले दरबार हत्याकाण्डको विषयलाई कन्सपिरेसीमै छाड्छन्। चीनसँग ज्यादै नजिकिएका राजा वीरेन्द्रको समुल नष्ट हुनेगरी भएको हत्याकाण्डप्रति चिनियाँ दृष्टिकोण पेस गरेका शर्माले – संकेत नै संकेतमा भारततिर इसारा गरेका छन्। ‘प्रयोगशाला’को प्रभाव देखिन्छ यस सन्दर्भमा आइपुग्दा।
‘भिक्षु, व्यापार र विद्रोह’ले तीन देश जोड्छ, सांस्कृतिक र राजनीतिक हिसाबले। टाइम लाइनमा सन्दर्भहरू जोडिँदा पढ्नेहरूले यस क्षेत्रकै बहु आयामिक विवरण पाउँछन्। शर्माले पुस्तकमा सन्दर्भ सामग्रीसँगै तिब्बतमा व्यापार गर्ने परिवारसँगका कुराकानीलाई पत्रकारिताकै शैलीमा जोडेका छन्। पुस्तकमा इन्डनोट, सन्दर्भ सामग्री र अनुक्रम मात्र ८५ पेज छ जसले यसलाई गहन र पुनः परीक्षण योग्य बनाएको छ।

पत्रकारितामा लामो समय सक्रिय हुने जोसुकै लेखकमा एकै खाले प्रवृत्ति देखिन्छ – उनीहरू कतै कुशल अनुसन्धानकर्ता लाग्छन् त कतै प्राज्ञिक र कतै न्युज रिपोर्टर। सुधीर शर्माको लेखनमा पनि यस प्रवृत्ति भेटिन्छ। साइटेसनलाई हेर्दा पुस्तक पूरै प्राज्ञिक लाग्छ। सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँगको कुराकानीको सन्दर्भ आउँदा अनुसन्धानकर्ता। बेलाबेलामा ‘ट्राभल लग’ पनि जोडिन्छ पुस्तकमा जहाँ शर्मा आफैं पात्रका रूपमा उभिन्छन्।
उनले चीनका पूर्व राजदूतहरूसँग गरेका प्रश्नोत्तरले अन्तर्वार्ताकै झल्को दिन्छ। शर्माले पुस्तकलाई सन्तुलित देखाउन पूरापूर मेहनत गरेको देखिन्छ। लामो समय पत्रकारितामा रहेका उनको पुस्तक लेखनमा ‘प्रयोगशाला’ पुस्तकमार्फत परीक्षण पहिले नै भइसकेको हो। साना साना तथ्यहरू मिहिन रूपमा केलाउने र त्यसलाई उनेर फरक स्वरूपमा तयार पार्ने उनको लेखकीय प्रवृत्ति यस पुस्तकमा पनि देखिन्छ।
पुस्तकले नेपालको भोट-चीन सम्बन्ध र भारतलाई आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा जोडेको छ। विश्व सन्दर्भले यी मुलुकमा पारेको असर र त्यसमा नेपालले अपनाएका रणनीति बुझ्न चाहनेका लागि शर्माको लेखन शैलीले प्रभाव पार्ने निश्चित छ।