BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डले स्वीकृत गर्‍यो १.६० अर्ब बजेट, ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा

२०८२ साउन २

पर्यटन बोर्डले स्वीकृत गर्‍यो १.६० अर्ब बजेट, ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा
पर्यटन बोर्डले स्वीकृत गर्‍यो १.६० अर्ब बजेट, ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा

काठमाडौं। नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षका लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ। बोर्डको कार्यकारी समितिको बैठकले बजेट स्वीकृत गरेको हो।

Tata
GBIME
Nepal Life

बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले अन्तर्राष्ट्रिय बजारमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित बजेट तथा कार्यक्रम बनाइएको बताए।

बोर्डले कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने बताएको छ। अन्तर्राष्ट्रिय बजारीकरणका लागि बोर्डले भारतमा कार्यालय खोल्‍ने भएको छ। दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा
पुगेको बोर्डले जनाएको छ।

भारत नेपालको प्रमुख पर्यटक स्रोत बजार हो। सन् २०२४ मा भारतबाट ४ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए। बोर्डले पर्यटक आगमन संख्या कम्तिमा १५ प्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको छ।

बोर्डका सीइओ दीपकराज जोशीले चालु आर्थिक वर्षमा कम्तिमा ५० वटा स्रोत बजारमा प्रबर्धनात्मक कार्यक्रम संचालन गर्ने बताए। उनले आगामी दशकलाई दिगो पर्यटन विकासको आधारशिला निर्माण गर्ने रणनीतिसहित बजेट बनाएको बताए।

‘यो बजेट केवल रकमको हिसाब मात्र होइन, यो नेपालको पर्यटन पुनर्जागरणको रोडम्याप हो। हामीले बजार अनुसारको रणनीति बनाएका छौं, स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रलाई दिगो रुपमा विस्तार गर्नेछौं,’ उनले भने।

बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्धनका लागि ४३ करोड ६१ लाख, जनसम्पर्क तथा प्रचार-प्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि २ करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि १८ करोड ६३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।

नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्‍चालनका लागि ११ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ। बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि ४ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ।