काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई तत्काल कुनै जिम्मेवारी नदिने पक्षमा देखिएका छन्।
उनले बिहीबार पार्टीको सचिवालय बैठकमा भण्डारीलाई तत्काल कुनै जिम्मेवारी नदिने आशय व्यक्त गरेका हुन्।
पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते सार्वजनिकरुपमै आफू अब पार्टी राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेका नेता तथा कार्यकर्ता दुई कित्तामा विभाजित भएका छन्।
भण्डारीले अध्यक्ष बन्ने आफ्नो योजना रहेको बताएपछि तेस्रोपटक अध्यक्ष बन्ने चाहनामा रहेका ओली ‘सक्ड’ भएका छन्। उनले सचिवालय बैठकमा भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने कुनै तयारी नरहेको बताएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए।
नेताहरुले भने ओलीलाई भण्डारीसँग संवाद गर्न सुझाएका छन्। उनीहरुले पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएको बताइसकेपछि यो आन्तरिक मामिला भएको भन्दै अध्यक्षले संवाद गर्दा राम्रो हुने बताएका हुन्।
‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किन्छु भनेर आएपछि यो पार्टीको मामिला हो,’ बैठकपछि पार्टी सचिव योगेश भट्टराईले भने, ‘उहाँसँग अध्यक्षको कुरा होस् भन्ने धेरैको सुझाव छ।’
त्यसपछि ओलीले भण्डारीबारे आजको बैठकबाट निर्णय गर्न नसकिने बताएका थिए।