काठमाडौं। सुरक्षा निकायले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)मा पछिल्लो समय टेलिग्रामको प्रयोग हुने गरेको निष्कर्ष निकालेको छ।
प्रहरी महानिरीक्षक दीपक थापाले देशलाई ग्रे-लिस्टबाट बाहिर निकाल्ने विषयमा भएको उच्चस्तरीय छलफलमा सम्पत्ति शुद्धीकरणमा टेलिग्रामको प्रयोग हुने गरेको भन्दै तत्काल बन्द गर्नुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत निकायका अधिकारीहरुसँगको छलफलमा टेलिग्रामबाट भएका केही सम्पत्ति शुद्धीकरणका घटना समेत जानकारी गराएका छन्।
‘उहाँले पटक पटक गृह, अर्थ र सञ्चार मन्त्रालयलाई समेत यसको जानकारी गराउनु भएको हो। टेलिग्राम बन्द गर्नुपर्छ भन्दै पटक पटक पत्राचार समेत गरिएको छ,’ प्रहरीका एक उच्च अधिकृतले सुनाए।
प्रहरीले नै टेलिग्रामबाट सम्पत्ति शुद्धीकरण हुने गरेको बताएपछि यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरी टेलिग्राम बन्द गराउन भनेको छ।
‘हामीलाई प्रधानमन्त्री कार्यालयबाट पत्र आएको छ। यस विषयमा आइतबारसम्म केही निर्णय होला,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने।
टेलिग्राम डाटा संकलनका लागि सुरक्षित मानिदैंन। प्रहरी र सरकारले खोजेको समयमा कम्पनीले जानकारी समेत उपलब्ध गराउने गरेको छैन। चीनले यसलाई प्रतिबन्ध लगाइसकेको छ।