काठमाडौं। राजस्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यु वाङलाई प्रहरीले पक्राउ गरेको हो।
पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिकसहितका व्यक्तिहरूले बिल बिजक नभएका राजस्व छली गरिएका विभिन्न कम्पनीका ल्यापटपका पार्ट्स तथा ब्याट्री, सीसी क्यामेरा लगायत बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न वाङलाई मंगलबार दिउँसो काठमाडौंको सिनामंगल पन्चमुखी चोकबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट बिल बिजकविनाको २ करोड १९ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पार्ट्स तथा ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरा लगायतका सामन बरामद गरेको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।