काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका आफ्ना १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रम संचालन गरेको छ।
आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८१/८२ मा ७ वाटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गरिएको बैंकले जनाएको छ।
बैंकको कोशी प्रदेशका १९, मधेशका १६, बागमतीका ४७, गण्डकीका १४, लुम्बिनीका ३२, कर्णालीका ११ र सुदूरपश्चिम प्रदेशका ९ शाखाहरूमार्फत उक्त कार्यक्रम संचालन गरिएको हो। बैंकका अनुसार विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूह वित्तीय ज्ञान प्रदान गरिएको छ।
कार्यक्रममा उपस्थित भएकाहरूलाई वित्तीय साक्षरताको आवश्यकता र महत्त्वको बारेमा जानकारी दिइएको थियो। वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको बैंकले जानकारी दिएको छ।
‘नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ,’ बैंकले भनेको छ।
यसबाट बैंकिङ प्रणाली मजबुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।