काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त आवश्यक रहेको बताएका छन्।
उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा वैकल्पिक विकास वित्तको आवश्यकता देखेरै सरकारले विधेयक ल्याएको बताए।
उनले वैकल्पिक विकास कोष सडक र सुरुङ मार्ग निर्माण, विद्युत उत्पादन, प्रसारण तथा वितरणलाइन लगायत पूर्वाधारका ठूला आयोजनामा परिचालन गर्ने बताए। औद्योगिक र शहरी विकास पूर्वाधार निर्माण, डाटा सेन्टर स्थापना तथा सञ्चालन, केबुलकार, पोडवेमा पनि त्यस्तो कोष परिचालन गरिने उनको भनाइ छ।
अर्थमन्त्री पौडेलले उच्च प्रतिफल दिने ठूला आयोजनामा स्वदेशी तथा विदेशी लगानी हुँदा पूर्वाधार निर्माणमा स्रोतको कठिनाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनाको वित्तीय अन्तर पूर्ति गर्ने उद्देश्यले सरकारले संसद्मा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक पेस गरेको हो।