काठमाडौं। ‘घूस डिल’को अडियो बाहिरिएपछि चौतर्फी आलोचित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरे।
राजीनामा दिनुअघि उनी प्रधानमन्त्री केपी शर्मालाई भेट्न बालुवाटार पुगेका थिए। तर, बालुवाटारमा ओलीसँगको भेट गुप्ताका लागि विर्सनलायक रह्यो।
गुप्ता ओलीकै बोलावटमा बालुवाटार पुगेका थिए। तर, ओलीले बालुवाटारमा गुप्तासँग दोहोरो संवाद गर्नै चाहेनन्। गुप्ताले नमस्कार गर्दा ओलीले फर्काएनन्। सचिवालयका सदस्यलाई ‘उहाँलाई ए फोर पेपर दिनुस्’ भने।
‘प्रधानमन्त्रीज्यूले गुप्तासँग दोहोरो संवाद गर्नै चाहनु भएन। पेपर दिनुस् भन्नासाथ मन्त्रीज्यू नर्भस् हुनुभयो। उहाँले आफू दोषी छैन भनेर प्रधानमन्त्रीज्यूलाई मनाउन खोज्नुभयो। तर, प्रधानमन्त्रीज्यूले सुन्नै चाहनुभएन। त्यसपछि उहाँको अनुहार बिग्रियो,’ स्रोतले भन्यो।
गुप्ताले त्यसपछि ओलीको सचिवालयका सदस्यले दिएको कागजमा राजीनामा लेखे। तर, ओलीले आफैं बुझेनन्। त्यसपछि गुप्ता ओलीको सचिवालयका सदस्यलाई राजीनामा बुझाएर बालुवाटारबाट निस्किए।
ओलीसँगको भेट सुखद हुने बुझाइमा गुप्ता बालुवाटार पुगेका थिए। त्यहाँबाट फर्केपछि राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयक प्रस्तुत गर्ने तयारीमा थिए। राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा निजामती विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका थियो।
तर, अडियो टेपका कारण चौतर्फी आलोचित गुप्तालाई ओलीले जोगाउन सक्ने अवस्था थिएन। विपक्षी दल मात्र होइन, एमालेकै सांसद्ले संसद् बैठकबाट गुप्तालाई बर्खास्त गर्न माग गरेका थिए।
मंगलबार गुप्तालाई सचिवालयका सदस्यमाझ ‘रातोपिरो’ हुने व्यवहार गरेका ओली तिनै हुन् जसले सोमबारको मन्त्रिपरिषद् बैठकमा विवादित गुप्तालाई सहभागी हुन दिएका थिए।

‘घूस डिल’को अडियो सार्वजनिक भएको केही दिन बितिसक्दा पनि ओलीले यसलाई गम्भीरतापूर्वक लिएको देखिएको थिएन। यस विषयमा सार्वजनिक मञ्चबाट उनले अभिव्यक्ति दिएका थिएनन्।
त्यसो त गुप्ताले राजीनामा दिए पनि ओलीले यो प्रकरणमा छानबिन हुन्छ भनेर मुख खोलेका छैनन्।
‘घूस डिल’को अडियोमा गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि पोलेका छन्। बिचौलियाले आफू अनुकूलको कर्मचारीलाई मालपोत कार्यालय कास्कीमा सरुवाका लागि आग्रह गर्दा गुप्ताले ‘बलरामले पैसा खाइसक्यो, मान्दैन’ भनेका छन्।
यति गम्भीर आरोपमा छानबिन अगाडि बढाइएको छैन। ओलीले मौनता साँधेका कारण अधिकारी झण्डा हल्लाएरै हिंडिरहेका छन्। यस विषयमा प्रश्न गर्ने सांसदलाई अधिकारीले घूस खाएको प्रमाण देखाउन चुनौती दिएका छन्।