BIZMANDU
www.bizmandu.com

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेशनल कार्ड स्वीचमा आबद्ध, छिटै कार्डको नयाँ प्रणालीमा

२०८२ असार ३१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेशनल कार्ड स्वीचमा आबद्ध, छिटै कार्डको नयाँ प्रणालीमा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नेशनल कार्ड स्वीचमा आबद्ध, छिटै कार्डको नयाँ प्रणालीमा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक स्वदेशी कार्ड योजना नेपाल पे कार्डमा आबद्ध भएको छ। यसका लागि बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्कीम नेपाल पे कार्डको सदस्यता सम्झौता भएको हो।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै एनसीएचएलले बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड योजनामा सहभागिताका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। योसँगै बैंक वित्तीय संस्थाहरु यसमा आबद्ध भइरहेका छन्।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले कार्डमार्फत हुने भुक्तानी प्रणाली अन्तर्राष्ट्रिय कम्पनीको चलाएका छन्। त्यसको विकल्पमा एनसीएचएलले नेपाल पे कार्ड ल्याएको हो। यो सञ्चालनमा आएपछि प्रणालीमा आबद्ध नेपाली बैंक तथा वित्तीय संस्थाका कार्डवाहकले छिटोछरितो भुक्तानी पाउने छन्। साथै नेपाली वित्तीय संस्थाको डाटा नेपालकै सर्भरमा रहने छ।

यसका लागि विभिन्न वित्तीय संघसंस्था प्रणालीमा आबद्ध हुन एनसीएचएलसँग सम्झौता गरिरहेका छन्। यही क्रममा एनआइएमबी पनि अघि आएको हो। नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एनआइएमबीले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्ने एनसीएचएलले जनाएको छ।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ। उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्धन हुने अपेक्षा गरिएको एनसीएचएलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एनसीएचएलले ५४ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। एनपीएस–एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालका अग्रणी वाणिज्य बैंकहरू मध्येको एनआइएमबीले आफ्नै कार्ड स्विच पूर्वाधार सञ्चालन गर्दै आएको छ। यस पूर्वाधारमार्फत, बैंकले ३ वाणिज्य बैंक, ५ विकास बैंक, र १ वित्त कम्पनीसहितका आफ्ना सहायक सदस्य बैंकहरूलाई कार्ड स्विचिङ तथा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको छ।

एनआईएमबीको स्विच एनपीएस-एनसीएसमा जोडिएपछि ती सदस्य बैंकहरू पनि स्वतः प्रणालीमा आबद्ध हुनेछन् र नेपाल पे कार्ड जारी र त्यसमार्फत भुक्तानी कारोबार गर्न सक्षम हुनेछन्। एनआइएमबीले देशभर रहेका २७५ वटा शाखा, ६५ विस्तारित काउन्टर तथा २६५ एटीएम टर्मिनलमार्फत ग्राहकलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ।