काठमाडौं । आइतबार अपराह्न ४ बजेतिर काठमाडौंको ‘पस’ क्षेत्र मानिने लाजिम्पाटमा एकाएक बिजुली गयो। लाजिम्पाटबासीले तत्कालै नेपाल विद्युत प्राधिकरणमा खबर गरे। उनीहरुले प्राधिकरणको नोलाइट र हटलाइनमा बिजुली गएको जानकारी गराए।
तर, लाजिम्पाटको निल सरस्वती मन्दिर आसपासको क्षेत्र आइतबार राति अन्धकारमय भयो। स्थानीयले जानकारी गराउँदा पनि प्राधिकरणले समस्या समाधान गर्न पहलै गरेन।
प्राधिकरणले १७ घण्टापछि अर्थात सोमबार बिहान बल्ल कर्मचारी परिचालन गर्यो। लाजिम्पाटमा एबीसी तार जलेर बिजुली गएको थियो। प्राधिकरणका कर्मचारी लाजिम्पाट पुगेको करिब ७ घण्टापछि मात्र स्थानीयले बिजुली पाए।
काठमाडौंको केन्द्रमा तार जलेर बिजुली आपूर्ति अवरुद्ध हुँदा पनि प्राधिकरणले मर्मत गर्न किन २४ घण्टा लगायो त? प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समस्या पहिचान गर्नै समय लागेकाले ढिलाइ भएको बताए।
‘त्यहाँ एबीसी तार ड्यामेज भएको रहेछ। ठ्याक्कै कहाँनिर समस्या भएको हो भन्ने पहिचान गर्न समय लागेकाले ढिलाई भएको हो। २ बजे लाइन चार्ज भएपछि बत्ति चालु भइसकेको छ,’ उनले भने।
प्राधिकरणको नेतृत्व हितेन्द्रदेवले सम्हालेपछि सामान्य समस्या आएर बिजुली अवरुद्ध हुँदा पनि मर्मतमा ढिलासुस्ती गरिएको यो पहिलो पटक होइन। ग्राहकले आफूहरुको गुनासो सुन्नै छोडिएको बताउन थालेका छन्।
कुलमान घिसिङलाई हटाएर आफूलाई नियुक्ति गरिएपछि हितेन्द्रदेवले बिजुली अवरुद्ध हुने समस्यामा कुलमानलाई दोष दिंदै आएका छन्। उनले कुलमानले सिस्टममा सुधार गर्न नसकेकाले अहिले ट्रिपिङको समस्या धेरै देखिएको बताउने गरेका छन्।
ग्राहकको गुनासो सुन्न र त्यसबारे जनकारी दिन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेका ऊर्जामन्त्री दीपक खड्काले ठूलै काम गरेको रुपमा हटलाइन सेवा सञ्चालनमा ल्याएका थिए। तर, अहिले त्यो हटलाइनमा समेत फोन उठ्दैन। बल्ल बल्ल उठे पनि गुनासो दर्ता भएको छ भनेर फोन राख्ने गरिएको छ।

प्राधिकरणका कर्मचारीले नै विद्युत आपूर्तिमा समस्या आउँदा समस्या पत्ता लगाउनका लागि ढिलासुस्ती गर्न थालिएको बताएका छन्। प्राधिकरणका एक इन्जिनियरले तार जल्दा मर्मतमा २४ घण्टा लगाइनु लापरबाहीको पराकाष्ठा भएको बताए।
‘ग्राहकको गुनासो आउने बित्तिकै तत्काल रेस्पोन्स गरिनुपर्ने हो। तर, गुनासोलाई बेवास्ता गर्ने काम भइरहेको छ। लाजिम्पाटको हकमा मात्र होइन, अन्यत्र बिजुली जाँदा पनि कर्मचारी खटाउन नै समय लगाउने गरिएको छ। यसको मार एकातिर ग्राहकले खेप्नुपरेको छ भने अर्कातिर प्राधिकरणको विश्वसनियतामाथि प्रश्न उठाउने क्रम बढेको छ,’ ती इन्जिनियरले भने।
हितेन्द्रदेवमाथि सीमित कर्मचारीलाई मात्र विश्वास गर्ने गरेको आरोप प्राधिकरणभित्रैबाट लागिरहेको छ। आफूहरुलाई शंकाको दृष्टिले हेर्ने गरेको भन्दै प्राधिकरणका अधिकांश कर्मचारी हितेन्द्रदेवसँग असन्तुष्ट छन्।
बिजुली झ्याप झ्याप जाने समस्यामा कर्मचारीबाट आफूलाई असहयोग भएको हितेन्द्रदेवको पटक पटकको अभिव्यक्तिले पनि प्राधिकरणभित्रको माहोल बिग्रिएको छ। प्राधिकरणभित्रको प्रणालीलाई चुस्त दुरुस्त बनाउनतिर समय खर्चिनुको साटो नियुक्ति लिएको महिना दिनसम्म मन्त्रीलाई रिझाउनतिर लागेको परिणाम पनि समस्या भएको कर्मचारीहरुको भनाइ छ।
‘एमडी सरले हामीलाई कुलमान घिसिङको नजिकको भनेर शंकाको दृष्टिले हेर्नुहुन्छ। उहाँले सानो कोटरी बनाउनु भएको छ जसलाई धेरै कुराको जानकारी छैन। त्यसैले सानो समस्या हुँदा पनि धेरै समय लाग्ने अवस्था आएको हो,’ प्राधिकरणका अर्का कर्मचारीले भने, ‘ग्राहकसँग जोडिने सूचना पनि हामीलाई नदिएर लुकाउन खोजिन्छ। अनि कसरी छिटो छरितो काम हुन्छ।’
हितेन्द्रदेव गत चैत ११ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए। उनले अधिकांश विभागमा ऊर्जामन्त्री दीपक खड्काको लहलहैमा लागेर कर्मचारी सरुवा गरेका छन्। खड्काले कुलमानमाथि कर्मचारीको गुट बनाएको आरोप लगाएका थिए। ‘अन्धाधुन्ध सरुवाले पनि अहिले काममा असर परेको हो,’ ती कर्मचारीले भने।