BIZMANDU
www.bizmandu.com

असार सकिन लाग्दा मधेशमा बल्ल एक तिहाइ रोपाइँ, सांसद भन्छन्- सिंचाईको व्यवस्था खोइ?

२०८२ असार २९

असार सकिन लाग्दा मधेशमा बल्ल एक तिहाइ रोपाइँ, सांसद भन्छन्- सिंचाईको व्यवस्था खोइ?
पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडा बेलबुटे क्षेत्रबाट देखिएको रोपाइँ गरिएको धानखेत र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। तस्बिर : वासुदेव पौडेल/रासस

काठमाडौं। अन्नको भण्डार मानिने मधेशमा असार महिना सकिन लाग्दा बल्ल एक तिहाइ रोपाइँ भएको छ। कृषि विभागले आइतबारसम्म मधेशमा ३३.७८ प्रतिशत रोपाइँ भएको बताएको छ।

Tata
GBIME
Nepal Life

विभागले एक साताअघि मधेशमा जम्मा १३.६ प्रतिशत रोपाइँ भएको विवरण सार्वजनिक गरेको थियो। विभागले एक सातामा रोपाइँ भएको क्षेत्र २० प्रतिशत थपिएको विवरण सार्वजनिक गरिरहँदा सांसदहरुले सिंचाईको अभावका कारण किसानले खेती गर्न नपाएको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदले सिंचाईको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद नागिना यादवले कृषिमा आत्मनिर्भर बन्ने स्टन्टबाजी गर्ने सरकारले किसानलाई रोपाइँका लागि मल र पानीको व्यवस्था गर्न नसकेको भन्दै आक्रोश पोखिन्।

‘मधेशमा खडेरी छ। असार सकिन लाग्दा पनि किसानले खती गर्न पाएका छैनन्। मल र जल दुवैको क्राइसिस छ। ६२ प्रतिशत जनता कृषिमा आधारित छन् तर वर्षेनि मलको समस्या किन हुन्छ? बोल्ने बेलामा कृषिमा आत्मनिर्भर हुने भनेर स्टन्टबाजी गर्छौं। तर, व्यवहार किन फरक? सिंचाईको व्यवस्था चाहियो,’ उनले भनिन्।

अर्का सांसद रामकृष्ण यादवले समयमा वर्षा नहुँदा किसानले रोपाइँ गर्न नपाएको बताए। ‘यतिखेर तराई मधेशको अवस्था हृदयविदारक छ। रोपाइँका लागि तयार पारेको बीउ सुकेको छ। समयमा वर्षा नहुँदा किसानले रोपाइँ गर्न पाएका छैनन्। रोपेको पनि सुकेको छ। मधेशलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतको प्याकेज ल्याइयोस्,’ उनले भने।

कृषि विभागले देशभर ५९ प्रतिशत रोपाइँ भएको बताएको छ। गत वर्ष यो समयमा करिब ६७.६ प्रतिशत रोपाइँ भएको थियो। विभागका अनुसार आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९३.१ प्रतिशत रोपाइँ भएको छ।

यस्तै कर्णालीमा ८३.२३, बागमतीमा ७६.३१, लुम्बिनीमा ७३.३१, गण्डकीमा ६६.९९, कोशीमा ४१.३२ र मधेश प्रदेशमा ३३.७८ प्रतिशत रोपाइ भएको हो।