विराटनगर। पूर्वी पहाडको भोजपुरबाट व्यवसायीले पहाडका उद्योग व्यापारको संरक्षण गर्नका लागि बाढीपहिरोका कारण ढुवानीमा हुने क्षतिमा सहुलियत दिनुपर्ने बताएका छन्।
भोजपुर उद्योग वाणिज्य संघको १४औँ साधारणसभाका सहभागीले पहाडी क्षेत्रमा हुने अर्गानिक र मौलिक उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्न सरकारले दैवीप्रकोपका घटनामा मद्दत गर्नुपर्ने कुरामा जोड दिएका हुन्।
नेउवा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले साधारणसभाको उद्घाटन गर्दै भोजपुरको खुकुरी विश्वप्रसिद्ध रहेको र यहाँ कफी, कागती र सुन्तलाको व्यावसायिक खेती पनि गर्न सकिनेबारे चर्चा गरे। उनले बर्खायाममा भोजपुर लगायतका पूर्वका पहाडी जिल्लामा ढुवानीकार्य अझै संकटग्रस्त भएको र बाढीपहिरो लगायतका दैवीप्रकोपको पनि समस्या रहेको बताए।
अध्यक्ष राउतले सरकारले बर्खायामको समयमा स्थानीय उत्पादनको ढुवानी बीमाको प्रिमियममा सहुलियत दिनुपर्ने बताए।
राउतले भने, ‘बर्खायाममा भोजपुरको खुकुरी तराईका बजारमा लिएर जाँदाजाँदै कति बेला दैवीप्रकोपको सामना गर्नुपर्छ थाहा हुँदैन। त्यसैले सरकारले कम्तीमा यस्ता सामग्रीको ढुवानी बिमामा मद्दत गर्नुपर्छ। अनि मात्र स्थानीय घरेलु उत्पादनले प्रोत्साहन पाउनेछन्।’
उनले भोजपुर लगायतका सबैजसो पूर्वी पहाडी जिल्लामा चिया, कफी, सुन्तला, कागती, ओखर, हलेदो, कोदो, फापर लगायतका बाली धेरै उत्पादन गरेर निर्यात गर्न सकिने धारणा प्रकट गरे।
‘नेपालमा व्यावसायिक कृषिको विकास गर्नुछ भने पहाडी तरकारी, फलफूल र चियाकफीको उत्पादन बढाउनु पर्छ। संसारमै यस क्षेत्रका उत्पादनको स्वाद र सुगन्ध विशेष प्रकारको छ। तराईमा धान, मकै, गहुँ मात्र फलाएर कृषिक्षेत्रको उत्थान हुन सक्दैन,’ उनको भनाइ थियो।
महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले पहाडी क्षेत्रमा रित्तिँदै गएको जनसंख्यालाई स्थिर राख्न सरकारले पहाडका अर्गानिक र मौलिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले पहाडी कोदोबाट उत्पादित मदिरा विश्वभरि नै ब्रान्डिङ र बजारीकरण गर्न सकिने उल्लेख गर्दै सरकार नतातेसम्म लगानीकर्ता उदासीन भइरहने धारणा व्यक्त गरे।
अर्का केन्द्रीय सदस्य उमेश डालमियाँले सरकारले पहाडी र उच्चपहाडी उत्पादनलाई प्रोत्साहन गरे वैदेशिक रोजगारीमा गएका धेरै युवालाई आकर्षित गर्न सकिने जिकिर गरे।
भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण मोक्तानले सरकारले पहाडका घरेलु उद्योग र कृषि उत्पादन तथा तिनको प्रशोधनका लागि अभियान नै चलाएर मद्दत नगरे यो क्षेत्र रित्तिने क्रम अझ बढ्ने बताए।