BIZMANDU
www.bizmandu.com

नियमन आयोगले पहिलोपटक ल्यायो वार्षिक कार्यक्रम, पीपीएको ढाँचा पुनरवलोकन गरिने

२०८२ असार २९

नियमन आयोगले पहिलोपटक ल्यायो वार्षिक कार्यक्रम, पीपीएको ढाँचा पुनरवलोकन गरिने
नियमन आयोगले पहिलोपटक ल्यायो वार्षिक कार्यक्रम, पीपीएको ढाँचा पुनरवलोकन गरिने

काठमाडौं। विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले ऊर्जा विकास मार्गचित्रको मार्गदर्शनअनुसार वार्षिक योजना तथा कार्यक्रम ल्याएको हो।

Tata
GBIME
Nepal Life

योगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा नियामकीय उपकरण तर्जुमा गर्ने गरी वार्षिक योजना बनाएको बताए।

आयोगको आइतबार बसेको २७९औं बैठकले स्वीकृत गरेपछि वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

‘सर्वसुलभ, भरपर्दो तथा सुरक्षित विद्युत सेवा हरेक विद्युत उपभोक्ताको अधिकार भन्ने मूल नारा अनुरूप वार्षिक योजना तथा कार्यक्रम तयार पारिएको छ,’ धितालले भने।

आयोगले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो संरचना विस्तारलाई प्राथमिकतामा राखेको छ। आयोगले उपभोक्ताको गुनासो सुनुवाई संयन्त्र विकास गर्ने भएको छ। यस्तै विद्युत उपभोक्ता मञ्च गठनलाई पनि आयोगले आफ्नो वार्षिक कार्यक्रममा राखेको छ।

आयोगले जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए)मा समयानुकूल संसोधनसम्बन्धी उपयुक्त रणनीति तय गर्ने तथा जलविद्युत आयोजनाको उत्पादन लागत निर्धारण सम्बन्धमा अध्ययन गर्ने योजना बनाएको छ। पीपीएको विषयवस्तु तथा ढाँचामा पुनरवलोकन गर्ने आयोगको योजना छ।

विद्युत् आयोजनाको प्राविधिक तथा वित्तीय प्रगति यकिन र मूल्यांकन गर्न स्वतन्त्र तेस्रो पक्ष वा परामर्शदातामार्फत मूल्यांकन गर्नेसम्बन्धी व्यवस्था मिलाउने आयोगको योजनामा उल्लेख छ।

यस्तो मूल्यांकनले आयोजना निर्माणको वास्तविक प्रगति यकिन गर्न सहज हुने आयोगको बुझाइ छ।

विद्युत प्रणालीलाई भरपर्दो बनाउन जलाशययुक्त, पम्प स्टोरेजजस्ता ऊर्जा भण्डारणयुक्त प्रविधिका लागि पारदर्शी र उपभोक्तामैत्री महसुल दर निर्धारण गर्ने आयोगको योजना छ।