काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने उदयपुरको त्रियुगा नगरपालिका-९ घर भएकी ३५ वर्षीया विमला दनुवार र काठमाडौंकै नागार्जुन नगरपालिका-१ बस्ने कास्कीको पोखरा महानगरपालिका-२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेको प्रहरीले जनाएको छ।
दनुवारले चार जनाबाट ८ लाख रुपैयाँ र मगरले २ जनाबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार दुवै जनालाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।