BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा पाउने फिल्म घरेलु बजारमा कमजोर, स्वादमा मेल खाँदैन?

२०८२ असार २८

अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा पाउने फिल्म घरेलु बजारमा कमजोर, स्वादमा मेल खाँदैन?
अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा पाउने फिल्म घरेलु बजारमा कमजोर, स्वादमा मेल खाँदैन?


काठमाडौं। पछिल्लो समय नेपाली फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन्। गत वर्ष सन् २०२४ मा बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली फिल्म ‘शाम्बाला’ को राम्रै चर्चा भयो। यद्यपि उक्त फिल्म नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्नेमा पर्न सकेन।

Tata
GBIME
Nepal Life

यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ चलचित्रको नामावली सार्वजनिक गर्‍यो। जहाँ कलात्मक रुपमा निर्माण गरिएका र अन्तर्राष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने कुनै पनि परेनन्। अर्थात् घरेलु बजारमा महोत्सवमा पुग्ने फिल्म सफल हुन सकेका छैनन्।

नेपाली दर्शकले घरेलु बजारमा ती चलचित्रलाई किन साथ दिइरहेका छैनन्? फिल्म निर्देशक सुवर्ण थापा दर्शकमा स्थापित भएको भाष्यलाई कारक मान्छन्। ‘अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने फिल्म बुझ्न कठिन हुन्छ, यो हाम्रो लागिभन्दा पनि विदेशीका लागि बनाइएको हो भन्ने भाष्य दर्शकमा स्थापित हुनु गलत हो। फिल्म सबैका लागि निर्माण गर्छौं, विदेशी फिल्म बुझ्ने दर्शकले स्वदेशी नबुझ्ने त हुँदैन होला,’ उनले भने, ‘हाम्रो निर्माण शैली नियमितभन्दा फरक हुनसक्छ तर हामीले सबै दर्शकका लागि बनाएका हुन्छौं।’

चलचित्र विकास बोर्डले घरेलु बजारमा व्यापार गर्नेसँगै अन्तर्राष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने, नेपाली परिवेशलाई प्रस्तुत गर्ने र नेपाली कला, संस्कृतिको प्रवर्धन गरिरहेका कलात्मक फिल्मलाई पनि प्रोत्साहन गर्नुपर्ने विचार उनको छ। ‘घरेलु बजारमा व्यापार गरेका कुनै फिल्मले अन्तर्राष्ट्रिय महोत्सवमा पुगेर नेपाललाई प्रतिनिधित्व गरेनन्। हामीले देशको परिवेश र संस्कृतिलाई लिएर विदेशी सिनेकर्मीसम्म पुर्‍याएका छौं,’ उनले भने, ‘अहिले कलात्मक रुपमा अन्य धेरै देशका भन्दा नेपाली फिल्म अब्बल बन्ने गरेका छन्। यसलाई राज्य र घरेलु दर्शकबाट प्रोत्साहन चाहिएको छ।’

उनले निर्देशन गरेका ‘सुनगाभा’ र ‘राधा’ अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका थिए। निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले चलचित्रको व्यापार र कलात्मक पक्ष भिन्न रहेको बताए। फिल्मको समीक्षा र व्यापारलाई तुलना गर्न नहुने उनको धारणा छ। ‘नेपालमा मात्र नभई भारत र हलिउडकै कलात्मक वा महोत्सवमा अब्बल साबित भएका फिल्महरू बक्सअफिसमा कम्जोर देखिएका छन्। हाम्रोभन्दा बजार ठूला भएकाले उनीहरुको व्यापार बढी भएजस्तो लागेको हो तर सर्वाधिक कमाउनेको सूचीमा ती फिल्म हुँदैनन्,’ उनले भने, ‘यस्तै, राम्रा फिल्मको सूचीमा बक्सअफिसमा सफल फिल्म पर्दैनन्। तर, ती कलात्मक वा महोत्सव केन्द्रित देखिएका फिल्मलाई राज्यले प्रोत्साहन गर्नुपर्छ र विस्तारै ती घरेलु बजारमा पनि अब्बल साबित हुन्छन्।’

उनले घरेलु बजारमा महोत्सवमा अब्बल भनिएका फिल्मको व्यापार कमजोर हुनुलाई दर्शकको स्वाद मेल नखाएको बताएका छन्। आफैं समीक्षक हुँदा कलात्मक फिल्म प्रवर्धनमा जुटेका लामाले निर्देशक भएपछि त्यस्ता कलात्मक फिल्म बनाउन सकेका छैनन्। ‘महोत्सवमा पुगेका फिल्म र नेपाली दर्शकको स्वाद एकापसमा नमिलेको हुनसक्छ। यो स्वाभाविक पनि हो, किनकि हामीले विश्व फिल्मसँग प्रतिस्पर्धा गर्ने काम गरिरहँदा त्यो सबैका लागि उपयुक्त नहुन पनि सक्छ। तर, त्यस्ता निर्माण निरन्तर हुनुपर्छ अनि मात्र हामीले घरेलु दर्शकको सङ्ख्या बढाउन सक्छौं,’ लामाले भने।

अभिनेत्री केकी अधिकारीले नेपाली फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा पुग्दा आफूलाई खुसी लाग्ने बताइन। ‘म ती फिल्मको दर्शक हुँ, म कुर्ने गर्छु। तर, म जस्ता दर्शक कम भएका हुन् कि जस्तो लाग्छ। कहिलेकाहीँ ती फिल्मको चर्चा हुँदा ती हलमा हुँदैनन्। यस्ता विभिन्न तथ्यले गर्दा महोत्सवमा अब्बल भनिएका फिल्म घरेलु बजारमा कमजोर भएका छन्,’ उनले भनिन्।

‘म फिल्ममा निर्मातासँगै अभिनेत्री पनि थिएँ। हामीले उठान गरेका विषय अन्तर्राष्ट्रिय महोत्सवमा पुग्नुपर्छ भन्ने लागेको थियो। तर, निर्माताका रुपमा मैले प्रदर्शन हुनु नै सफलता हो भन्ने ठाउँमा पुगे, संघर्ष धेरै भए। हामीले चाहेका चलचित्र महोत्सवमा पठाउन नमिल्ने रहेछ, अन्यमा पठाउन मसहित चलचित्र निर्माण समूहको निर्णय भएन,’ उनले भनिन्।

उनको फिल्म अन्तर्राष्ट्रिय महोत्सव नपुगे तापनि घरेलु बजारमा राम्रो व्यापार गर्न सफल भयो। उनको फिल्मले १० करोड रुपैयाँको व्यापार गरेको तथ्यांक चलचित्र विकास बोर्डमा छ।

घरेलु बजारमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले घरेलु बजार र अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने दुवै किसिमका फिल्म चाहिने बताए। ‘हामीले कलात्मक भन्ने ‘आर्टहाउस फिल्म’ र व्यासायिक भन्ने दुवै किसिमका बनाउनुपर्छ। किनकि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय उपस्थिति महत्त्वपूर्ण छ,’ उनले भने, ‘अहिले राज्यको प्रोत्साहन दुवैलाई चाहिएको छ।’

आफ्नो पहिलो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा गर्नुपरेको संघर्षलाई स्मरण गर्दै उनले फिल्म हल सञ्चालकले नेपाली फिल्मलाई दायित्वका रुपमा पनि बुझ्नुपर्ने बताए। ‘म अस्ट्रेलियामा फिल्म डिस्ट्रिब्युसन गर्थेँ। त्यहाँ एक हप्ताको ‘शो’ निकालिएपछि घटाइने वा हटाइने हुँदैन, यसले स्थिर बनाउनाका साथै दर्शकले आफ्नो समयअनुसार फिल्म हेर्ने सोच बनाउँछन्। तर, यहाँ ‘शो’ कतिबेला हट्छ भन्ने थाहै हुँदैन, त्यसैले यसमा स्थिरता भएमा घरेलु बजारमा हामीले चर्चा गरिरहेको दुवै फिल्मलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ,’ निर्माता पौडेलले भने।

महोत्सवलाई लक्षित गर्दै निर्मितमध्ये ‘गाउँ आएको बाटो’ ले घरेलु बजारमा ४ करोडको व्यापार गरेको थियो। ‘आर्टहाउस फिल्म’ भनिएको ती फिल्मको सूचीमा ‘गाउँ आएको बाटो’ नै अहिलेसम्म सर्वाधिक कमाउने बनेको छ।