BIZMANDU
www.bizmandu.com

म्याग्दीका हाइड्रोलाई केन्द्रीय प्रणालीमा जोड्ने चिमखोला-राहुघाट प्रसारण लाइनको परीक्षण सुरु

२०८२ असार २६

म्याग्दीका हाइड्रोलाई केन्द्रीय प्रणालीमा जोड्ने चिमखोला-राहुघाट प्रसारण लाइनको परीक्षण सुरु
तस्बिर : रासस।


म्याग्दी। म्याग्दीको राहुघाट वेशिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको २२० केभी क्षमताको चिमखोला-राहुघाट प्रसारण लाइनको परीक्षण थालिएको छ।

GBIME
Tata

३५ मेगावाट क्षमताको चिमखोला-मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युतलाई उक्त प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा आवद्ध गराइने छ। चिमखोलादेखि गलेश्वरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डसम्म १३ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ।

नेपाल विद्युत् प्राधिकरणमार्फत रघुगङ्गा-३ अम्बाङमा निर्माणाधीन सवस्टेसन सम्पन्न नहुँदासम्मका लागि अस्थायी रुपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना-खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाउन लागिएको चिमखोला-मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रवर्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले बताए।

चिमखोला-मंगले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ। माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन्।

चिमखोलादेखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रसारण लाइनमा विद्युत् आपुर्ति गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले बताए। परीक्षणलगत्तै केन्द्रीय प्रणालीमा विद्युत् जोडिने उनले बताए। चिमखोलादेखि राहुघाटसम्म ३९ वटा टावर छन्।

४ आयोजनाले सहकार्य गरेर एउटै प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति गर्ने संरचना बनाएका छन्। एकदेखि अर्को आयोजनाको स्विचयार्डसम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेसनतर्फ सहकार्य गरेर प्रसारण लाइन बनाएका हुन्।

परीक्षण सुरु भएको प्रसारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरूलाई आग्रह गरेको छ। रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रसारण लाइन र टावर निर्माण भएको छ।

विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईवस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो। रासस