BIZMANDU
www.bizmandu.com

रसुवाको बाढीले बगाएका २९ वटा कन्टेनर र ट्रकमा रहेका सामानको क्षति बीमाले बेहोर्ला ?

२०८२ असार २५

रसुवाको बाढीले बगाएका २९ वटा कन्टेनर र ट्रकमा रहेका सामानको क्षति बीमाले बेहोर्ला ?
रसुवाको बाढीले बगाएका २९ वटा कन्टेनर र ट्रकमा रहेका सामानको क्षति बीमाले बेहोर्ला ?

काठमाडौं। ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवामा मंगलबार राति ठूलो भौतिक क्षति भयो। २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन बाढीले बगायो। यसबाहेक तीन वटा जलविद्युत आयोजना बन्द हुन पुगे।

Tata
GBIME

सम्पत्तिमा भएको यो क्षतिमा बीमा के हुन्छ? भन्ने चासो बढेको छ। खासगरी चीनतर्फको भूभागमा रहेका कन्टेनर बगाएका कारण पनि सामानको बीमालाई लिएर चासो बढेको हो।

बीमा कम्पनीहरुले नेपाल आयातका लागि कन्टेनर र ट्रकमा रहेका सामान तथा सवारीसाधनको क्षति ट्रान्जिट बीमाले कभर गर्ने बताएका छन्।

सामान आयातका लागि खोलिने बैंक ग्यारेन्टी(एलसी)मै ट्रान्जिट बीमाको प्रिमियम तिर्नुपर्ने भएका कारण बाढीले पुर्‍याएको क्षति कभर हुने बीमकहरु बताउँछन्।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिलबल्लभ पन्त आयातका लागि एलसी खोल्दा गरिएको सुरक्षणले क्षति कभर गर्ने बताए।

‘आयातकर्ताले ट्रान्जिट बीमा गरेको छ कि छैन भन्ने हो। एलसी खोल्दाको टमर्स एण्ड कन्डिसनमा क्षतिको कभर निर्भर हुन्छ,’ पन्तले भने, ‘एउटा पोर्ट टू अर्को पोर्ट र गोदामसम्म सामान आइनपुग्दाको अवस्थासम्म हुने सम्भावित क्षतिलाई ट्रान्जिट बीमाले हेर्छ।’

बीमकहरुका अनुसार एलसी खोल्दा आयातकर्ताले कस्तो प्रकारको सर्त पूरा गरेका छन् भन्नेमा क्षतिको कभरेज भर पर्छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन बगेको बताएकामा व्यापारीहरुले अहिलेसम्म क्षतिबारे मुख खोलेका छैनन्।

बाढीले पुर्‍याएको क्षतिको विवरण यकिन भइसकेको छैन। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई क्षतिको विवरण पठाउन भनेको छ। कम्पनीले क्षतिको विवरणसहित आवेदन दिन बीमितलाई भनिरहेको बताएका छन्।

प्रभु इन्स्योरेन्सका सीइओ सञ्चित बज्राचार्यले गाडी तथा सामान आयातकर्ताले एलसी खोल्दा नै ट्रान्जिट बीमा गर्नुपर्ने व्यवस्थाका कारण क्षति कभर हुने बताए।

‘सामान तथा गाडी आयातका लागि आयातकर्ताले एलसी खोल्दा नै बीमा अनिवार्य गराउनुपर्ने प्रावधान छ,’ बज्राचार्यले भने, ‘सामान आयातका क्रममा यो बीचमा केही क्षति पुगेमा ट्रान्जिट बीमाले कभर गर्छ। तर, बीमितले कहाँसम्मका लागि त्यसप्रकारको बीमा गराएको छ भन्ने मुख्य कुरा हो। बन्दरगाहसम्मका लागि मात्रै बीमा गराएको भए त्यसपछि हुने क्षतिलाई यसले कभर गर्दैन। तर, लैजानुपर्ने ठाउँसम्मकै बीमा गराएको भए पूरै क्षतिको कभर गर्छ।’

बाढीका कारण १११ मेगावाटको रसुवागढी, २१.१ मेगावाटको चिलिमे र ६० मेगावाटको त्रिशुली-३ ए मा धेरै क्षति भएको छ। रसुवागढी हाइड्रोपावरको बाँध पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

आयोजनाका केही गाडी पनि बाढीले बगाएको छ। कर्मचारीसँग सम्पर्क टुटेका कारण आयोजनामा भएको क्षतिको विवरण यकिन हुन नसकेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

‘आयोजनाको बाँधको गेटको स्ट्रक्चर नै बगाएको छ। आयोजनाका सामान र उपकरण पनि बगाएको छ,’ शाक्यले भने, ‘अहिलेसम्म के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन। त्यहाँका कर्मचारीसँग सम्पर्क टुटेका कारण आकलन गर्न सक्ने अवस्था छैन।’

शाक्यका अनुसार त्रिशुली-३ एको एउटा गेट बाढीले बगाएको छ। केही सिभिल स्ट्रक्चरमा समेत क्षति पुगेको छ। त्रिशुली-३ ए आयोजनामा भएको क्षतिको विस्तृत विवरण पनि आएको छैन।

क्षतिका कारण रसुवागढी र त्रिशुली-३ ए कहिलेबाट सञ्चालन आउँछन् भन्ने टुंगो छैन। चिलिमे जलविद्युत आयोजना भने टेलरसबाट पसेको बाढी टर्वाइनसम्म पुगेकाले बन्द भएको छ। हाइड्रोपावरको सम्पत्ति बीमा पोलिसी अन्तर्गत कभर हुने बीमकहरुले बताए।