मुस्ताङ। उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब ३ घण्टा भीषण बाढी आएको थियो।
बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा १ पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को १ गरी २ वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ।
यसैगरी, बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र ३ वटा काठेपुल बगाएको कार्यालयले उल्लेख गरेको छ। उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा संचालनमा रहेको १ होटल र लोमन्थाङ-४ स्थित अन्दाजी ४ सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका २ वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।
उनका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति भएको छैन।
बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली खटिएको उनले उल्लेख गरे।
त्यहाँ खटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ। अहिले त्यस क्षेत्रमा बाढीको बाहव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सर्तकता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ। रासस