काठमाडौं। नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा गएराति आएको बाढीले २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
बाढीले १११ मेगावाटको रसुवागढी, २१.१ मेगावाटको चिलिमे, ६० मेगावाटको त्रिशुली-३ ए, २१ मेगावाटको त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो।
यसबाहेक निजी क्षेत्रका आयोजनाको १० मेगावाट बराबर उत्पादन बन्द हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
रसुवागढी जलविद्युत आयोजनाको बाँध पूर्णरुपमा क्षतिग्रस्त भएको छ। नेपाल र चीनलाई जोड्ने टिमुरेस्थित पुल बगाउँदा आयोजनाको बाँध पूर्णरुपमा क्षतिग्रस्त हुन पुगेको हो। पुलभन्दा आयोजनाको बाँध २०० मिटर तल पर्छ।
आयोजनाका केही गाडी पनि बाढीले बगाएको छ। कर्मचारीसँग सम्पर्क टुटेका कारण क्षतिको विवरण यकिन हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
‘आयोजनाको बाँधको गेटको स्ट्रक्चर नै बगाएको छ। आयोजनाका सामान र उपकरण पनि बगाएको छ,’ शाक्यले भने, ‘अहिलेसम्म के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन। त्यहाँका कर्मचारीसँग सम्पर्क टुटेका कारण आकलन गर्न सक्ने अवस्था छैन।’
बाढीका कारण प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजना गरी २४० मेगावाट विद्युत उत्पादन ठप्प भएकामा सबैभन्दा ठूला रसुवागढी र त्रिशुली ३ ए कहिलेबाट सञ्चालन आउँछन् भन्ने टुंगो छैन।
‘रसुवागढी र त्रिशुली-३ ए आयोजनाको उत्पादन अनिश्चितकालका लागि बन्द भएको अवस्था हो। किनभने यी आयोजनामा अरुमा भन्दा धेरै क्षति पुगेको छ,’ शाक्यले भने, ‘त्रिशुली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत आयोजनामा खासै क्षति भएको छैन। बाढी रोकिनासाथ सरसफाइ गरेर सञ्चालनमा ल्याउन सकिन्छ।’
त्रिशुली-३ ए आयोजनामा भएको क्षतिको विस्तृत विवरण पनि आएको छैन। शाक्यका अनुसार त्रिशुली-३ एको एउटा गेट बाढीले बगाएको छ। केही सिभिल स्ट्रक्चरमा समेत क्षति पुगेको छ। त्यसले गर्दा तत्काल सञ्चालन गर्न नसकिने शाक्यले बताए।
‘बाढी रोकिएपछि हामी स्थलगत अध्ययन गर्छौं। त्यसपछि मात्र आयोजना कहिलेसम्म सञ्चालनमा ल्याउन सकिन्छ भन्ने अनुमान लगाउन सकिन्छ। अहिले त क्षतिको नै पूरा विवरण आएको छैन।’
चिलिमे जलविद्युत आयोजनामा इतिहासमै पहिलोपटक टेलरसबाट बाढी पसेर टर्वाइनसम्म आइपुगेको छ। बाढी रोकिएपछि मर्मत गरेर आयोजनाबाट विद्युत् उत्पादन गरिने शाक्यले बताए।
‘चिलिमेमा त्यति धेरै क्षति पुगेको छैन। बालुवाभित्र पसेको अवस्था छ। सम्भवत २/३ दिनमै चिलिमे सञ्चालन हुन्छ,’ उनले भने।
संकटमा त्रिशुली-३ बी सवस्टेसन
शाक्यका अनुसार प्रसारण लाइनतर्फ त्रिशुली-३ बी सवस्टेसन विशेष संकट परेको छ। सवस्टेसनमा एउटा टावर वैकल्पिक प्रयोगको लागि राखिएकामा बाढीले बगाएको छ। टावर फाउन्डेसन नै बगेको हो। त्रिशुली-३ ए बाट आउने १३२ केभीएको टावर पनि बगाएको छ।
यसले गर्दा सबस्टेसन संकटमा परको शाक्यले बताए। ‘अहिले पनि कटान जारी छ। हाम्रा कर्मचारीले नेपाली सेनासँग मिलेर खोलाको कटान रोक्न काम गरिरहेका छन्,’ उनले भने।