काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवाको मितेरी पुल बगाउँदा चीनसँग नेपालको सम्पर्क टुकेको छ। आज बिहान सवा ३ बजे आएको बाढीले चीन नेपाल सीमा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको अनुमान गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भन्सार यार्डमा रहेको अधिकांश गाडी र अन्य मालवस्तु बगाएको बताएका छन्। केही मानिसको उद्धार गरिएको र त्यहाँ थप उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको उनले बताए।
‘के कति जनधनको क्षति भयो भन्ने यकिन भएको छैन। यार्डमा रहेको सामान सबै बगाएको छ,’ उनले भने।
रसुवा नाकाका प्रमुख भन्सार अधिकुत तुलसी भट्टराईका अनुसार यार्डमा ठूलो क्षति भएको छ। केही गाडी बगाएको र मानवीय क्षति समेत हुन सक्ने अनुमान छ।