काठमाडौं । चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा बाढी आएको छ। राति आएको बाढीले चीन र नेपालतर्फ ठूलो भौतिक क्षति पुर्याएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गर्दै नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपना आग्रह गरेको छ।
अहिले रसुवागढी क्षेत्र डुबानमा परेको छ। भन्सारमा रहेको गाडी, कन्टेनर लगायत अन्य सामाग्री पनि डुबानमा परेको छ।
स्थानीयहरुका अनुसार अहिले डुबान क्षेत्रबाट गाडी र अन्य सामानहरु बगाएको छ। जसकारण तटीय क्षेत्रमा रहेकालाई सर्तकता अपनाउन भनिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भने, ‘मितेरी पुल बगाएको भन्ने खबर छ। भन्सारमा पनि क्षति पुगेको छ। त्यहाँ राखेको गाडी अन्य सामान बगायो भन्ने छ। ठूलै क्षति भएको भन्ने छ। के कति क्षति भयो भन्ने आउन बाँकी छ। अहिले टोली गइरहेको छ।’
रसुवागढी नाकाको भन्सार यार्डमा अहिले धेरै सामान स्टकमा रहेका थिए। विशेषगरि दसैंको लागि भनेर व्यापारीहरुले ल्याएका धेरै सामान त्यहाँ थिए। नेपाली भन्सारमा मात्र नभएर चिनियाँ भन्सारमा पनि सामानहरु ल्याइएका थिए। बाढीले ती सबै सामान पनि डुबानमा परेको छ।
गएको दुई सातादेखि नै सो क्षेत्रमा ठूलो बाढी जान सक्ने पूर्वानुमान सहित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो। चिनियाँ पक्षले नै तिब्बत मुहान भइ रसुवा क्षेत्र भएर बग्ने नदीमा बहाव बढ्न सक्ने सूचना आएपछि प्रशासनले पनि सूचना निकालेको थियो।