काठमाडौं। ‘वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु’ भन्दै लाखौँ ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भएका ३२ वर्षीय रोहन भनिने फिन्चु लामा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन्।
लामाले लिथुआनिया र रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जनाबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ लिएर फरार भएका थिए। खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।