BIZMANDU
www.bizmandu.com

गुप्ता ब्रदर्स, जसले एक दशकसम्म दक्षिण अफ्रिकामा लुट मच्चाए, अन्तत: जेलमा टुंगियो विलासी सफर

२०८२ असार २३

गुप्ता ब्रदर्स, जसले एक दशकसम्म दक्षिण अफ्रिकामा लुट मच्चाए, अन्तत: जेलमा टुंगियो विलासी सफर
गुप्ता ब्रदर्स, जसले एक दशकसम्म दक्षिण अफ्रिकामा लुट मच्चाए, अन्तत: जेलमा टुंगियो विलासी सफर

गुप्ता दाजुभाइले दक्षिण अफ्रिकामा सत्ता र सम्पत्तिको आडमा सुशासनलाई कुल्चिएका थिए, ठ्याक्कै त्यही दृश्य फरक पात्रका रुपमा नेपालमा पनि अवतरित भएको छ। आज प्रिपेड बिचौलिया समूहहरूले राजनीतिक दलका शीर्ष नेताहरूलाई हातमा लिएर राज्य प्रशासनमा आफ्नो पकड बनाएका छन्। नियामक निकायका प्रमुखका नियुक्तिदेखि शासन/प्रशासनका महत्वपूर्ण विभागका हाकिम/कर्मचारी सरुवा गर्ने तागत उनीहरु राख्छन्। 

Tata
GBIME

देशका २५ बढी व्यावसायिक घरानाको नेतृत्व गरेर शासनमा पकड जमाएको यो समूहको प्रभाव यतिसम्म छ कि सरकार बनाउने र ढाल्ने खेलमा समेत उनीहरूको हात हुन्छ भनिन्छ। इमान्दार व्यवसायीहरू, जो सानो पुँजीबाट केही गर्न चाहन्छन्, देशको कानुन मानेर पुँजी जुटाउन खोज्छन्, उनीहरूबाट कमिसन उठाइन्छ। यस्तो अवस्थामा, जहाँ नीति र नियत दुवै बिक्छन्, देशको आर्थिक र सामाजिक आधार कमजोर बन्दछ।

गुप्ता दाजुभाइले दक्षिण अफ्रिकामा बनाएको व्यापारिक साम्राज्यजस्तै यहाँ पनि बिचौलियाहरूको उन्मादले सुशासनलाई छायामा पारेको छ। गुप्ता दाजुभाइले राष्ट्रपति ज्याकब जुमासँगको निकटताको बलमा अर्बौंको साम्राज्य खडा गरे। कविवर लेखनाथ पौडेलले भनेजस्तो दिन कहाँ एकनास हुन्छ र!

‘कसैको लोकमा छैन एकैनास समुन्नति । अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति।।’ 

अन्तत: गुप्ता  दाजुभाइ दक्षिण अफ्रिकाबाट लखेटिए। नेपालमा पनि त सँधै यस्तै नहोला, बिचौलियालाई पोषण गरिरहेका नेताहरु पनि किनारा लाग्लान्। सुशासनको पक्षमा लहर चल्ला।

+++

सन् १९९३ ताकाको कुरा। भारत उत्तर प्रदेशको सहारनपुरबाट तीन दाजुभाई अजय, अतुल र राजेश उर्फ टोनी गुप्ता दक्षिण अफ्रिका हान्निए। ४० वर्ष उमेर हाराहारीका तीनै दाजुभाई भारतको उत्तरी राज्यबाट अवसर खोज्दै भर्खरै अल्पसंख्यक श्वेतहरुको शासनबाट मुक्त भएको अश्वेतको देश पुगेका थिए।

उनीहरुका बुवा शिवकुमार गुप्ताले पहिले अतुललाई दक्षिण अफ्रिका पठाएका थिए। अवसरहरुको भूमिका रुपमा विश्वमा उदाएको दक्षिण अफ्रिका ‘भविष्यमा अर्को अमेरिका बन्छ’ भन्ने विश्वास बुवा शिवकुमारलाई थियो। जब अतुल त्यहाँ पुगे, दक्षिण अफ्रिका त्यसबेला सिंगो अफ्रिकी महादेशकै ठूलो अर्थतन्त्रका रुपमा थियो। अतुलले त्यहाँ फेमिली बिजनेसका रुपमा जुत्ताको व्यापार थाले।

भारतमा उनीहरुको सानो व्यवसाय सहारा कम्प्युटर्स थियो। उनले त्यहाँ फेरि सहारा कम्प्युटर्सकै व्यापार पनि सेटअप गरे। भारतमा जस्तो व्यावसायिक बाधा अड्चन नहुँदा उनीहरु त्यहाँको व्यापारिक वातावरण र अवसरबाट पुलकित भए। भारतमा उनीहरुको सानो व्यापार थियो। सहारा ग्रुपको नामबाट उनीहरुले काम गर्थे। तर, दक्षिण अफ्रिकामा राजनीतिक परिवारमा प्रभाव फैलाउँदै उनीहरुले जमाएको कारोबार सन् २०१८ को फेब्रुअरीसम्ममा २ करोड २० लाख  डलरको वार्षिक कारोबार गर्ने कम्पनी बनिसकेको थियो। उनीहरुको कम्पनीमा करिब १० हजार मानिस काम गर्थे।

राज्य दोहन र भ्रष्टाचारका विभिन्न आरोपहरु लाग्नुअघिसम्म ग्रुपले कम्प्युटर बिजनेससँगै दक्षिण अफ्रिकाको खानी, हवाई यात्रा, ऊर्जा, प्रविधि र मिडिया क्षेत्रमा राम्रै लगानी र पकड बनाइसकेका थिए। २०१६ मा आइपुग्दा अतुल दक्षिण अफ्रिकाका सातौं धनाढ्य बनिसकेका थिए। उनीहरुको दिन दुई गुना रात चौगुना प्रगतिको कारक अरु केही थिएन तत्कालीन राष्ट्रपति ज्याकब जुमासँगको सम्बन्ध मात्र थियो। त्यही सम्बन्धलाई माध्यम बनाएर उनीहरुले अर्बौंको कमाइ मात्र गरेनन् अकुत भ्रष्टाचार र अफ्रिकी राज्य कोषको दोहन समेत गरे।

दक्षिण अफ्रिकामा उनीहरुको प्रभाव यतिसम्म थियो कि गुप्ता परिवारले आफूहरुका लागि कूटनीतिक राहदानीकै माग समेत गरेका थिए। उनीहरुको राजनीतिक निकटता र प्रभावका कारण आफूहरुले त्यो पाउनुपर्नेमा उनीहरु ढुक्क थिए।

पूर्व राष्ट्रपति जुमा, राजेश गुप्ता र अजय गुप्ता

भारतबाट व्यापारको अवसर खोज्न हिँडेका सामान्य किराना पसलेका तीन भाई छोरा दुई दशकमा दक्षिण अफ्रिकाकै धनाढ्यका रुपमा त दरिए तर अन्त्यमा भ्रष्टाचार, अनियमितता र राज्य दोहनका अनेक आरोपका बीच दक्षिण अफ्रिकाबाटै लखेटिए। उनीहरुसँग धनदौलत र दोस्तीको सम्बन्ध बनाएका तत्कालीन राष्ट्रपति ज्याकब जुमा पनि यही लाभको सम्बन्धबाट जन्मिएको अपराधमा मतियार हुँदै अन्तत: पदच्युत भइ जेलको हावा खान पुगे।  

राष्ट्रपतिसँग यसरी नजिकिए

दक्षिण अफ्रिकामा पुगेर कारोबार थालेपछि अतुल गुप्ताले सन् २००८ ताका ज्याकब जुमालाई भेटेका थिए। सहारा कम्प्युटर्सले आयोजना गरेको कार्यक्रममा अतिथि बनेर पुग्दा जुमा राष्ट्रपति बनिसकेका थिएनन्। तर, गुप्ता परिवारसँगको निकटता कालान्तरमा जुमालाई समेत निकै भारी पर्‍यो।

लाभका लागि राज्यकोषको दुरुपयोग, भ्रष्टाचार र अनियमिताका मामिलामा जुमा र गुप्ता परिवारको साँठगाँठ यतिसम्म भयो कि यो समूह पछि गएर ‘जुप्ता’ टोलीका रुपमा बदनाम हुन पुग्यो। दुई परिवारले मिलेर सरकारी ठेक्कापट्टाको मिलेमतो, अकुत भ्रष्टाचार र राज्य दोहनका कारण राष्ट्रपति जुमाको पदमात्रै खोसिएन दक्षिण अफ्रिकाबाट गुप्ता ब्रदर्सको नामनिसानै मेटिने गरि पलायन हुन बाध्य भए।

गुप्ता परिवारले दक्षिण अफ्रिकामा व्यापारिक साम्राज्य फैलाउन जुमाकी श्रीमती र सन्तानहरुलाई पनि प्रयोग गरे। राष्ट्रपति जुमाकी श्रीमतीहरुमध्ये एक बोङ्गी गेमा जुमा गुप्ता कम्पनीको कन्ट्रोलिङ सेयर रहेको खानी कम्पनी जेआइसी माइनिङ सर्भिसेसमा संचार अधिकृतका रुपमा काम गर्थिन्। पछि गुप्ता परिवारमाथि उनलाई भव्य बंगला खरिदका लागि ३.८ मिलियन र्याण्ड भुक्तान गरिदिएको आरोप लाग्यो।

यसैगरी राष्ट्रपति जुमाकी छोरी डुडुजिले जुमा सहारा कम्प्युटर्सकी निर्देशक बनाइएकी थिइन्। बुवा जुमा अफ्रिकन नेसनल कंग्रेस एएनसीका अध्यक्ष भएपछि छोरी डुडुजिले गुप्ताको कम्पनीमा काम गर्न थालेकी थिइन्। ६ महिना काम गरेपछि उनी त्यहाँबाट बाहिरिइन्।

यस्तै जुमाका छोरा डुडुजाने जुमा गुप्ताहरुकै स्वामित्वमा रहेका केही कम्पनीहरुमा निर्देशक बने। तर, सन् २०१६ सम्म आइपुग्दा नागरिक स्तरमै राष्ट्रपति जुमामाथि यति धेरै दबाब पर्‍यो कि छोराले ती कम्पनीहरुको निर्देशक पदबाट राजीनामा गर्न बाध्य भए।

गुप्ता दाजुभाइसँग जुमाका छोरा डुडुजाने जुमा। तस्विर : गल्लो इमेजेस्

त्यसताका दक्षिण अफ्रिकामा गुप्ता परिवार यति धनी थियो कि उनीहरुको विलासी जीवन र तडकभडक उत्कर्षमा थियो। उनीहरुको जोहान्सबर्गस्थित साक्सोनवोल्डमा रहेको सहारा स्टेट रुखैरुखले घेरिएको थियो, जहाँ कम्तीमा चार ठूला बंगलाहरु स्पष्टै देखिन्थे। सन् २०१८ मा सहारा स्टेटको मूल्य करिब ३ करोड ४० लाख डलर अनुमान गरिएको थियो, जुन कम्प्लेक्सभित्र हेलिप्याडदेखि बडीगार्डहरुको ठूलो जमात र सुरक्षाकर्मी हरदम तैनाथ रहन्थे।

गुप्ता परिवारले राष्ट्रपति जुमालाई प्रभावमा राख्दै व्यवसायलाई लाभ हुने गरि निर्णय गराउँदै गए। सरकारी ठेक्का लिने र आफू अनुकूल सरकारी निर्णय गराउन धनराशीको प्रलोभन दिनेसम्मका काम उनीहरुका लागि सामान्य थियो। उनीहरुले केपटाउनस्थित पूर्व बेलायती प्रधानमन्त्री मार्कग्रेट थ्याचरका छोरा मार्क थ्याचरको घर पनि किनेका थिए।

देशै कब्जा गर्न लागेको आरोप

गुप्ता परिवारले राष्ट्रपति जुमासँगको सम्बन्धका कारण दक्षिण अफ्रिकाको राजनीतिमा निकै ठूलो प्रभाव राखेको देखिन्छ। उनीहरुमाथि आलोचना तबदेखि सुरु भयो जब व्यावसायिक लाभका लागि दक्षिण अफ्रिकामाथि नै नियन्त्रण गर्न लागेको आरोप उनीहरुमाथि लाग्यो।

उनीहरु विरुद्ध माहोल त्यसबेलादेखि बन्दै गयो जतिबेला सन् २०१६ को मार्च महिनामा त्यहाँका अर्थ राज्यमन्त्री म्याकेबिसी जोनासले गुप्ता परिवारले आफ्नो लाभको काम गरिदिन प्रलोभन दिएको सार्वजनिक रुपमै खुलासा गरिदिए। उनले आफूलाई सन् २०१५ मै गुप्ता परिवारका एक सदस्यले भने अनुसार काम गरिदिए आर्थिक लाभका साथै अर्थमन्त्री बनाइदिने अफर गरेको बताएका थिए।

तर, त्यसअघिको अर्को मिल्दोजुल्दो घटनालाई अस्वीकार गरेजसरी नै त्यसपटक पनि गुप्ता परिवारले प्रलोभन दिएको कुरालाई अस्वीकार गरेको थियो।

गुप्ता जोडिएको अर्को एक हाइ प्रोफाइल घटनामा पूर्व अर्थमन्त्री प्रवीन गोर्धनले खुलेरै उनीहरुले ४९० मिलियन डलरको शंकास्पद कारोबारमा संलग्न भएको खुलासा गरेका थिए। समयक्रमसँगै उनीहरुले आफू अनुकूल मन्त्रीहरुको नियुक्ति तथा आफ्नो व्यापार अनुकूल नीतिहरु बनाउन रकमको प्रलोभन दिने धेरै घटनाहरु सार्वजनिक हुन थाले।

सामान्य व्यापारबाट दुई दशकमा अर्बपति स्टाटससम्म पुगेका गुप्ता परिवारको त्यसबेला दक्षिण अफ्रिकामा आफ्नै कोइला र युरेनियमका खानीहरु संचालित थिए। उनीहरुले नै लगानी गरेको राष्ट्रिय दैनिक पत्रिका र टेलिभिजन स्टेसन उनीहरुले राष्ट्रपति जुमाको स्तुति गाउनका लागि प्रयोग गरिरहेका थिए।

जुमाकी श्रीमती र छोरीलाई पनि उसैगरी आफ्नो कारोबारमा संलग्न गराएर गुप्ता ब्रर्डसले लिनुपर्ने लाभको लागि प्रलोभन र निकटताको कुनै कसर बाँकी राखेका थिएनन्।

गुप्ता ब्रदर्स र जुमाविरुद्धको प्रदर्शन । तस्विर : डान भिभिर/ गेट्टी इमेजेस

दक्षिण अफ्रिकामा उनीहरुको प्रभाव यतिसम्म थियो कि गुप्ता परिवारले आफूहरुका लागि कूटनीतिक राहदानीकै माग समेत गरेका थिए। उनीहरुको राजनीतिक निकटता र प्रभावका कारण आफूहरुले त्यो पाउनुपर्नेमा उनीहरु ढुक्क थिए। नियमित रुपमा राष्ट्रपति जुमासँग बिजनेस ट्रिपमा जानुपर्ने भएकाले उनीहरुले कूटनीतिक राहदानी मागेका थिए। दक्षिण अफ्रिकाकै प्रवर्धन का लागि यो आवश्यक भएको उनीहरुको दलिल थियो। तर, उनीहरुले कूटनीतिक राहदानी भने पाउन सकेनन्।

उनीहरुले राष्ट्रपतिको पार्टीलाई राम्रै आर्थिक सहयोग गरेको भनिए पनि यति नै रकम भनेर खुल्न भने सकेन। तथापि जुमाको परिवारले गुप्ता परिवारबाट हदैसम्म लाभ लिएको बताइन्छ।

विलासी विवाहले कन्ट्रोभर्सी

सन् २०१३ मा गुप्ता परिवारमा एक विवाहले असाध्यै ठूलो चर्चा पायो। तीन दाजुभाईकी एकमात्र भान्जीको विवाहमा दक्षिण अफ्रिकामा यति ठूलो सरकारी साधन स्रोतको दुरुपयोग भयो कि यसले विपक्षीमात्र होइन जो कसैलाई असन्तुष्ट बनायो।  

विवाहका पाहुना आएको चार्टर्ड विमान सेनाको ब्यारेकमा अवतरण गराइयो। सामान्यतया राष्ट्रपति वा उच्च पदस्थ व्यक्तिका लागि मात्र प्रवेश दिइने संवेदनशील ब्यारेकको एयरबेस प्रयोग गर्न दिएपछि भने निकै ठूलो हंगामा भयो। शक्तिको दुरुपयोग भएको भन्दै सरकारमा रहेको अफ्रिकन नेसनल कंग्रेससँग विपक्षी डेमोक्रयाट अलायन्सले जवाफ माग्यो।

घटनालाई लिएर अतुल गुप्ताले ‘दक्षिण अफ्रिकी माटोमा हाम्री छोरीका लागि स्मरणयोग्य विवाह समारोह बनाउनका लागि…’ भनेर लेखिएको पत्रमा सेनाको एयरफोर्स उपयोग भएकोमा माफी मागे। भारतबाट गएका २०० पाहुना सेनाको एयरबेसमा ल्याण्ड गराइ प्रहरीको एस्कर्टमा लग्जरी गाडीहरुमा राखेर दक्षिण अफ्राकाको उत्तरपश्चिमी प्रान्तमा रहेको सन सिटी होलिडे रिसोर्टमा लगिएको थियो।  

त्यसबखत उनीहरुमा त्यस्तो शक्ति र उन्माद थियो जसले गुप्ता परिवारलाई चार्टर्ड एयरबस ए३३० सैनिक एयरबेसमा ल्याण्ड गर्न सक्नेसम्मको पहुँच दियो। यो घटनापछि भने दक्षिण अफ्रिकामा विपक्षी र आम जनताले सशंकित हुँदै गुप्ता-जुमा सम्बन्धमाथि प्रश्न उठाउन थाले।   

राष्ट्रपतिमाथि भ्रष्टाचारका ७८६ मुद्दा

गुप्ता-ज्याकोब जुमासँगको सम्बन्ध सन् २००७ देखि नै मजबुत भएको हो, जतिबेला जुमा एएनसीका अध्यक्ष चुनिए।

दक्षिण अफ्रिकामा त्यसबेलाको नयाँ कानुन अनुसार कुनै पनि सरकारी ठेक्काहरु पाउन कम्पनीहरुको बोर्डमा अश्वेत निर्देशक हुनैपर्ने अनिवार्यता थियो। सरकारी ठेक्काहरुमा भाग लिने प्रयोजनकै लागि गुप्ता परिवारले डुडुजाने जुमालाई आफ्ना कम्पनीमा निर्देशक बनाए। त्यसबेला उनीसँग न व्यावसायिक अनुभव थियो न परिपक्वता, तैपनि भावी राष्ट्रपतिका छोरा डुडुजानेलाई उनीहरुले भविष्यमा लाभ लिनकै लागि निर्देशक बनाएका थिए।

उनलाई दुबईमा फ्ल्याट किनिदिनेदेखि भव्य विवाह समारोह तथा महंगा उपहारहरुका लागि पनि गुप्ता परिवारले कुनै कसर बाँकी राखेन। जुमाकी श्रीमती र छोरीलाई पनि उसैगरी आफ्नो कारोबारमा संलग्न गराएर उनीहरुले लिनुपर्ने लाभको लागि प्रलोभन र निकटताको कुनै कसर बाँकी राखेका थिएनन्।

जब सन् २००९ मा राष्ट्रपतिमा जुमा चुनिए गुप्ता परिवारले राष्ट्रपतिसँगको निकटताकै राम्रो लाभ लिन थाल्यो।

विस्तारै विस्तारै उनीहरुको समूहले भ्रष्टाचार अनियमितता र राज्य दोहनका यति धेरै कसुर गरे की सन् २०१६ मा आइपुग्दा तत्कालीन राष्ट्रपति जुमाविरुद्ध ७८६ वटा भ्रष्टाचारका मुद्दाहरु दायर भएको थियो।

उनीमाथि सैन्य हतियार सम्झौता गर्दा पनि अर्बौंको भ्रष्टाचार गरेको आरोप लाग्यो। यस्तै निजी घर किन्न सरकारी रकमको प्रयोग गरेको ठहर पनि अदालतले गर्‍यो।  

सन् २०१७ मा राष्ट्रपतिले गुप्ता परिवारबाट लाभ लिएको बारे छानबिन गर्नका लागि उच्चस्तरीय समिति नै गठन भयो।आफूहरुमाथि लागेको आरोपको प्रतिकारमा गुप्ता परिवारले आफूहरु जातिवाद र जेनोफोबिया (विदेशी मन नपराउने प्रवृत्ति) को सिकार भएको दाबी गरिरहे।

तर, सन् २०१७ मा करिब १ लाख यस्ता इमेलहरु लिक भए जसबाट के पुष्टि भयो भने गुप्ता ब्रदर्सले ज्याकब जुमासँग निकट रहेर असाध्यै ठूलो राज्यदोहन गरि लाभ लिएका थिए। यी दुई पक्ष मिलेर अर्बौं रकम अपचलन गरेका थिए भने सरकारी नीतिहरु नै यी दाजुभाईले राष्ट्रपतिसँग मिलेर तय गर्थे।

सार्वजनिक भएका ती इमेलहरुकै कारण जनस्तरबाट राष्ट्रपति र गुप्ता ब्रदर्समाथि व्यापक विरोध सुरु भयो। अवस्था निकै खराब भएपछि विपक्षी पार्टीले ज्याकब जुमाविरुद्ध अविश्वासको प्रस्ताव लग्यो, यसकै कारण उनले राष्ट्रपति पदबाट राजीनामा दिन बाध्य भए।

जुमाले राजीनामा दिए लगत्तै गुप्ता ब्रदर्स दुबई पलायन भए। उनीहरु गएपछि सरकारले दक्षिण अफ्रिकामा रहेको उनीहरुको सम्पत्ति जफत गर्‍यो, अनि थाल्यो कानुनी लडाइ।

सन् २०२१ मा इन्टरपोलले जारी गरेको रेडकर्नर नोटिसमा उनीहरुले दक्षिण अफ्रिकामा भ्रष्टाचारको ठूलो नेटवर्क चलाएको आरोप लगाइएको छ।

जतिबेला गुप्ता परिवारमाथि एकपछि अर्को भ्रष्टाचार र अनियमितताका घटनाहरु सार्वजनिक हुँदै गए, उनीहरुले आफ्नो छवि सुधार्ने जिम्मा एक पीआर कम्पनी बेल पोटिंगरलाई दिए। तर, कम्पनीले जसरी क्याम्पेन चलायो त्यो गुप्ताहरुकै लागि घातक बन्यो। मार्गेट थ्याचरका सल्लाहकार लर्ड बेलले स्थापना गरेको फर्म बेल पोटिंगरले फेक ट्वीट पेजहरु क्रियट गर्दै ह्यासट्याग ‘ह्वाइट मोनोपोली क्यापिटल’ क्याम्पेन चलायो। तर यस क्याम्पेनले गुप्ता परिवारले गरेको भ्रष्टाचारका घटनाहरुलाई ढाकछोप गर्न सकेन।

उनीहरुको छवि उजिल्याउनका लागि गुप्ताको फर्म ओकबे इन्भेष्टमेन्टबाट मासिक १ लाख पाउण्ड बुझ्ने उक्त पीआर फर्मको दक्षिण अफ्रिकी शाखा नै निलम्बनमा पर्‍यो।

आफूहरुमाथि लागेको आरोपको प्रतिकारमा गुप्ता परिवारले आफूहरु जातिवाद र जेनोफोबिया (विदेशी मन नपराउने प्रवृत्ति) को सिकार भएको दाबी गरिरहे।

सम्पत्ति बेचे वा त्यागेर भागे!

सन् २०१८ मा जब तत्कालीन राष्ट्रपति जुमा सत्ताच्युत भए उनीहरु पनि दक्षिण अफ्रिकाबाट पलायन भए। सन् २०१६ को अगस्टमै गुप्ता परिवारले भावी दिनमा आइपर्ने संकटको आकलन गरिसकेको हुनुपर्छ। उनीहरुले दक्षिण अफ्रिकामा रहेको आफ्नो व्यवसायको सबै सेयर हिस्सा बेच्ने जानकारी आफ्ना वकिलमार्फत दिइसकेका थिए। उनीहरुले ‘यो नै अब  हाम्रो व्यापार, देश र साझेदारहरुको हितमा हुनेछ’ भनेका थिए।

सन् २०१७ मा अजय गुप्ताले आफ्ना वकिललाई भनेका थिए, ‘यतिबेला मेरो कुनै सेयर छैन कुनै सम्पत्ति छैन चलअचल सम्पत्ति छैन। सम्पत्तिका नाममा एउटा कार छ र जम्मा एउटा कोठा छ, जहाँ मेरो बुवा सुत्ने गर्नुहुन्थ्यो।’  

दक्षिण अफ्राकाको सिटी प्रेस अखबारले तत्कालीन उपरक्षामन्त्री केबी मापाट्सोको भनाई उद्त गर्दै लेखेको थियो,’जोहान्सबर्ग स्टक एक्सचेन्जमा गुप्ता परिवारको सम्पत्ति १ प्रतिशतभन्दा पनि तल देखिएको छ। उनीहरुले देशबाहिर नाफा लगेका छैनन्। यतै लगानी गरे।’

तर, विपक्षीहरुले भने उनीहरु अर्बौं रकम लिएर भागेको आरोप लगाएको छ। दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघसँग गुप्ता ब्रदर्सलाई दक्षिण अफ्रिका फिर्तीको लागि पहल गरिदिन अपिल समेत गरेको थियो।

यी तीन दाजुभाईमध्ये भ्रष्टाचार र अनियमितताका योजना बनाउने मास्टरमाइन्ड भने जेठा अजयलाई मानिन्छ। गुप्ता परिवारमाथि रेड कर्नर नोटिस नै जारी भएको थियो भने अमेरिका र बेलायतले तीनै दाजुभाइलाई कालोसूचीमा राखेको थियो।

सन् २०२२ मा राजेश र अतुललाई दुबईबाट गिरफ्तार गरियो। तर, दक्षिण अफ्रिकालाई सुपुर्दगी गरिएन। यस्तै, सन् २०२४ को मेमा गुप्ता ब्रदर्समध्येका जेठा अजयलाई देहरादुनबाट गिरफ्तार गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।   राजनीतिक प्रभावमा हुने भ्रष्टाचारको कुख्यात उदाहरण बनेका गुप्ता ब्रदर्स अन्तत: दक्षिण अफ्रिकाको व्यापारिक र राजनीतिक इतिहासमा सधैंका लागि कालो धब्बाका रुपमा रहन पुगे।