काठमाडौं। अन्न भण्डार मानिने मधेशमा नै सिंचाईको आवश्यक सुविधा नहुँदा असार तेस्रो साता सकिंदासम्म धान रोपाइँ ४१.९ प्रतिशतमा सीमित भएको छ।
कृषि विभागका अनुसार मधेशमा अहिलेसम्म जम्मा १३.६ प्रतिशत रोपाइँ भएको छ। प्रदेशगतरुपमा रोपाइँ सबैभन्दा कम भएको मधेशमा नै हो।
विभागका महानिर्देशक प्रकाश सन्जेलले पानी नपरेकाले मधेशमा कम रोपाइँ भएको बताए।
‘गत वर्ष असार २२ सम्म मधेशमा २५.५ प्रतिशत रोपाइँ भएको थियो। यसपालि पानि कम परेका कारण १४ प्रतिशत पनि रोपाइँ हुन सकेको छैन,’ उनले भने, ‘सिंचाई सुविधा विस्तार हुन नसकेका कारण किसानले आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ।’
कोशीमा पनि रोपाइँ धेरै भएको छैन। विभागका अनुसार सुदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ भएको छ। यस्तै कर्णालीमा ७१.७, गण्डकीमा ५५.६, लुम्बिनीमा ५१.१ र बागमतीमा ५१.०९ प्रतिशत रोपाइँ भएको छ।
हालसम्म करिब ५ लाख ८० हजार ८८६ क्षेत्रफलमा रोपाइँ भएको छ।